काठमाडौँ । प्रधानमन्त्रीसहित ४ दलका शीर्ष नेताहरू उपनिर्वाचनको चुनावी दौडाहा छन् । बुधबार तनहुँमा नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको पक्षमा भोट मागेका उनीहरू आज बारा र चितवनको चुनावी सभालाई सम्बोधन गर्ने तय भएको छ ।
बिहान ११ बजे बाराको गढीमाई मन्दिरको प्राङ्गणमा हुने चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतले सम्बोधन गर्नेछन् ।
चुनावी सभाको तयारी पूरा भइसकेकाले गठबन्धन दलका सबै शीर्ष नेताहरूले गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई जिताउन बारा १ मा पुग्ने नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिएका छन् । वर्तमान सत्ता गठबन्धन दलहरूले तीनवटै निर्वाचन क्षेत्रमा उठाइएका गठबन्धनका उम्मेदवारलाई जिताउन विज्ञप्तिमार्फत पनि सबैलाई आह्वान गरेका छन् ।
बाराको सभालाई सम्बोधन गरेर शीर्ष नेता चितवन पुग्नेछन् । दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय भएको हो । चितवन२ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य नेता चितवन पुग्ने तय भएको छ ।
नेपाली कांग्रेस चितवनका सचिव सूर्य अर्यालका अनुसार सभामा प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको सबै तयारी पूरा भएको सचिव अर्यालले जानकारी दिएका छन ।