काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाएका थिए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाएका थिए । आसिफ सेख १ रनमा आउट भए ।
यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो । अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाएका थिए ।
विरन्दीप ९४ बलमा ४६ रन जोडे । उनले २ चौका प्रहार गरेका थिए । ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक अजार हायतले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाएका थिए । मलेसियाले १२ रन अतिरिक्तबाट पाएको थियो ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिएका हुन् । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिएका हुन् । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । गुलशन झाले १ विकेट लिएका छन् ।