काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ । यो बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको स्रोतको भनाइ रहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त भएको छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली” सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना मगर सदस्य छन् ।
प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहनेछन् । हाल कानुनमन्त्री पद पनि रिक्त नै रहेको छ ।