Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशलाई धितो राखेर तलबभत्ता लिनेहरूसँग अब जनताले के अपेक्षा राख्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ३० २०७९
  • 2.1K
    SHARES

काठमाडाैँ । एक वर्षअघि सर्वसाधारणले पसलबाट चामलको बोरा किनेर ल्याउँथे । तर, पछिल्लो समय ह्वात्तै बढेको मूल्यवृद्धिका कारण किलोकिलो किनेर उपभोग गर्न थालेका छन् । एकातिर रोजगारी छैन, अर्कोतिर आफुहरुले काम गरेको ठाउँबाट पनि उनीहरूले तलब पाइरहेका छैनन् । अघिल्लो वर्ष ६० रुपैयाँ किलोमा पाउने चामलको मूल्य बढेर ११० रुपैयाँ किलो पुगेको छ । चामल मात्र होइन, अन्य खाद्य सामग्रीको मूल्य पनि ह्वात्तै बढेको छ । हरियो तरकारी त छोइनसक्नु भएको छ ।

भान्सामा चाहिने दाल, गेडागुडी, तेल, चिनी, चियापत्ती, पिठोलगायतका खाद्यान्नको मूल्य पनि आकासिएको छ । मुलुकमा दिनप्रतिदिन बेरोजगारी बढिरहेको छ । रोजगारी भएकाहरूले पनि महिना मर्नेबित्तिकै तलब पाउँदैनन् । झन् अहिले त कतिपय कामदारले महिनौँदेखि तलब पाउन सकेका छैनन् । बिहानबेलुका हातमुख जोर्नै नसक्ने अवस्था सिर्जना भएको छ । महँगी बढेपछि अधिकांशले भात होइन, जाउलो खान थालेका छन् । गोजीमा दाम नभएपछि के गर्ने ? दुई किलो चामल आउने पैसाले एक किलो किन्न महाभारत छ । महँगी र बेरोजगारीका कारण सर्वसाधारण भोको पेटमा पटुकी कसेर हिँडेका छन् । खाद्यान्न बचाउनका लागि आधा पेट खाएर चित्त बुझाउँछन् । अहिले टन्न पेट खान पाउनेहरूमा जनप्रतिनिधि, सांसद, मन्त्री, राजनीतिक दल र सरकारी कर्मचारीहरू छन् । काम नगरीकन पनि मासिक तलबभत्ता आइहाल्छ अनि किन नखानु ? हिजो नेताहरूले हामी जनताका लागि राजनीतिमा आएको भनेका थिए ।

मुलुकमा विकासको मूल फुटाउने ठोकुवा गरेका थिए । जनतालाई भोकै र नाङ्गो हिँड्न नदिने ठूल्ठूला घोषणा गरेका थिए । मुलुकमा परिवर्तन ल्याउँछु भनेर सयौंपटक भाषण पनि दिएका थिए । खोइ त परिवर्तन ? बेरोजगारी हटाउँछु भन्ने त यिनीहरू नै थिए । तर, कहाँ हट्यो बेरोजगारी ? मुलुक बेरोजगारीको जालोमा फसेको छ । रोजगारी नहुँदा आयस्रोत छैन । बिहान बेलुका छाक टार्न जनतालाई धौ धौ परेको छ । विकासको मूल कहाँ फुट्यो ? कसैलाई थाहा छैन । आधारभूत आवश्यकताबाट जनता वञ्चित छन् । गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्थासमेत सरकारले मिलाउन सकेको छैन । विदेशी ऋण बढेको बढ्यै छ । अहिले एउटै नेपालीको टाउको ८५ हजार विदेशी ऋण पुग्न थालिसकेको छ । विदेशी ऋणमा उनीहरूले मोजमस्ती गरे । विडम्बना, ऋणको भारी भने जनताले बोकेर हिँडिरहेका छन् । यिनीहरू जनताका लागि होइनन्, भ्रष्टाचार र कमाउन आएका हुन् । देश धितो राखेर तलबभत्ता र सेवासुविधा लिनेहरूसँग के अपेक्षा राख्ने ?

दलालहरूको हातमा मुलुक चलाउने चाबी थमाउँदा यस्तो अवस्था सिर्जना भएको छ । अन्य मुलुकलाई हेरेर पनि केही सिक्न सकिन्छ । तर, यिनीहरू भ्रष्ट्राचार गर्नबाहेक केही सिक्नै चाहँदैनन् । अमेरिकाका भूपू राष्ट्रपति बाराक ओबामाले पद छोडेपछि राज्यबाट के सुविधा लिए ? उनी आफ्नो दुःखसुख गरेर गुजारा चलाइरहेका छन् । यहाँ त भूपू नि सेवासुविधा लिने, बहालवाला पनि । जनताले तिरेको कर यिनीहरूको सेवासुविधा धान्न पुग्दैन, अनि देश विकासचाहिँ कहाँबाट हुन्छ ? भूपू राष्ट्रपति रामवरण यादवले राज्यबाट पाउने सम्पूर्ण सेवासुविधा अझैपनि लिइरहेका छन् । आफ्नो घरचाहिँ भाडामा लगाएर राज्यबाट मासिक घरभाडा बुझ्ने राष्ट्रपतिमा पर्छन्, उनी । अन्य सबै खर्च उनले लिइरहेका छन् । एउटा सेवासुविधा त त्याग्न नसक्नेलाई कुन मुखले भूपू राष्ट्रपति भन्ने ? नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी पनि उनीभन्दा कमकी छैनन् । उनलाई पनि राष्ट्रभन्दा सेवासुविधा प्यारो छ । मन्त्री, सांसद, जनप्रतिनिधि, सरकारी कर्मचारी त आएकै तलबभत्ताका लागि हुन् ।

हिजो हामी सेवासुविधा लिँदैनौँ, तलबभत्ता चाहिँदैन भन्नेहरू आज सबैभन्दा बढी सेवासुविधा लिन्छन् । जनप्रतिनिधिहरू जनताका लागि होइनन्, भ्रष्ट्राचार गर्नका लागि आएका हुन् । मन्त्री र सांसदको त के कुरा गर्नु । जनताको पक्षमा बोल्नलाई पनि मासिक तलबभत्ता बुझ्छन् । अझ घर भाडालगायत अन्य खर्च लिन पनि यिनीहरू पछि हटेका छैनन् । सरकारी कर्मचारीले त जागिर खाएका हुन् । देशको अर्थतन्त्र तहसनहस होस् या देश धितो राख्न परोस्, यिनीहरूलाई तलब खुवाउनै पर्छ । भूपू भनिएकाहरूलाई पनि पेन्सन दिनैपर्यो । तलबभत्ता र सेवासुविधामै गिजोलिएको मुलुक यस्तो पाराले कहिले उँभो लाग्छ ? अरू देशका नेता मात्रै होइन, कलाकार, खेलाडीहरू पनि दानी छन् । मुलुकलाई अप्ठ्यारा परेको खण्डमा खेलाडीहरूले आफ्नो ट्रफीसमेत बेच्छन् । नेताहरूले आफूले लगाएको कोट बेचेर राष्ट्र र जनताका लागि काम गर्छन् । उनीहरूले लगाएका लुगा पूरानै किन नहोस्, किन्नलाई हानाथाप हुन्छ । किन कि उनीहरूले राम्रो काम गरेका हुन्छन् ।

कलाकारहरू आफ्नो निजी सम्पत्ति बेच्न पनि पछि पर्दैनन् । नेपालका राष्ट्रपति, प्रधानमन्त्रीले लगाएको लुगा कसले किन्ने ? सबैले भ्रष्ट्राचारी भनिहाल्छन् । देशलाई धितो राखेर तलबभत्ता खानेहरूलाई जनताले समेत नेता मान्दैनन् । जनताले हड्डी घोटेर तिरेको कर चुस्नेहरूलाई किन मान्ने ? भन्ने धारणा सर्वसाधारणमा छ । हुन पनि ठिकै हो, राम्रो काम गरेको भए पो जनताले वाहवाह गर्छन् । सबै कमाउनका लागि आएका हुन् । पदमा रहुन्जेल व्यक्तिगत सम्पत्ति छोड्छन्, पद छोडेपछि बसिबसी खान्छन् । नेताहरू जनताको सेवक हुनुपर्थ्यो । तर, उनीहरू त देश सिद्धयाउनतिर लागे । धमाधम मुलुक बन्दकी राख्दै ऋण लिँदै । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी माइक्रोबस चढ्दाखेरि लडे । पैसा उठाएर उनको उपचार गर्ने भनेर जनताबीच बहस चलेको थियो । किन कि जनताले उनलाई राम्रो र त्यागी नेता मान्थे । उनी एउटै घरको एउटै कोठामा २१ वर्ष बसेको कुरा देशभरका जनतालाई थाहा थियो । अहिले आएर केसीमाथि गरेको विश्वास बेकार भएकोजस्तो अनुभव जनतालाई भएको छ ।

किन कि यतिखेर उनी पनि सेवासुविधाको भोगी बनेका छन् । देश मीटरब्याजमा फसिसकेको कुरा उनलाई थाहा छ । विदेशीसँग ऋण लिएको पैसाले राज्यले तलबभत्ता खुवाइरहेको भन्नेबारे उनी बेखबर छैनन् । त्यस्तो पैसाले तलबभत्ता खानु भनेको आफैँमा घृणा लाग्नुपर्ने विषय हो । विडम्बना, देश धितो राखेर तलबभत्ता खानलाई समेत यिनीहरूलाई लाज लागेन, घृणित महसुस भएन । जनताको आँखाबाट यिनीहरू नङ्गिसकेका छन् । नेता भन्नसमेत जनतालाई लाज लाग्न थालिसकेको छ । सदनमा हेर्ने हो भने सबै राष्ट्रिय पोसाकमा सजिएका हुन्छन् । पुरुषहरू दौरासुरुवाल र ढाका टोपीमा आएका हुन्छन् । महिलाहरूले सारी चोलो लगाएका छन् । सदनभित्र राष्ट्रियताको ढोग गर्न खोज्ने यिनीहरूले जनतालाई कतिसम्म भुङ्ग्रोमा राख्न सकेको ? देश बेचेर तलबभत्ता खानेहरूको मुखबाट राष्ट्रियताको कुरा सुन्नसमेत जनतालाई अप्ठ्यारो महसुस भइरहेको छ । विदेशी ऋण लिएर तलबभत्ता खाने अनि सदनमा उभिएर राष्ट्रियताको नारा लगाउने । नौटङ्की गर्ने पनि हद हुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद बनेका ज्ञानेन्द्र शाहीले केही दिनअघि सदनमा भनेका थिए,‘देश बेचेर मीटरब्याजमा पैसा लिन पाइँदैन । प्रधानमन्त्रीले यसबारे सदनमा जानकारी गराउनु पर्छ ।’ देशको त्यति नै माया लाग्थ्यो भने म राज्यबाट तलबभत्ता र सेवासुविधा लिँदिन भन्न सक्नुपर्थ्यो, होइन र ? मीटरब्याजमा लिएको पैसाबाट उनले पनि मासिक तलबभत्ता बुझिरहेका छन् । सेवासुविधा लिइरहेका छन् । धमिलो पानीमा माछा मार्न खोज्ने यस्ताबाट के अपेक्षा राख्नु ? अरूमाथि हिलो छ्यापेर आफू सफासुग्घर बन्न शाहीले त्यो शब्द बोलेका हुन् भन्ने त स्पष्ट भइसकेको छ । राजनीतिक दलबाट आएका हुन् या स्वतन्त्रबाट सबैको पारा उही नै छ । कसैले पनि तलबभत्ता चाहिँदैन भनेर घोषणा गरेका छैनन् । मीटरब्याजले व्यक्तिलाई कुन अवस्थामा पुर्‍याउँछ भन्ने तराइको घटनाबाट स्पष्ट भइसकेको छ । सरकारले मीटरब्याजमा पैसा लिन थाल्यो भने मुलुकको अस्तित्व नै रहँदैन । नेपाल मजदुर किसान पार्टीबाट सांसद बनेका प्रेम सुवालले पनि मुलुकको हितमा बोल्न सकेनन् ।

उनले आफ्नो तलबभत्ता पार्टीको खातामा जाने बताए । उनले पनि राष्ट्रभन्दा ठूलो पार्टी हो भन्ने त स्पष्ट पारिदिए । दलालीले घेरिएको सदनमा कसले राष्ट्रको पक्षमा बोल्ने ? कुनै सेयर दलाली, कुनै म्यानपावर दलाली, कुनै घरजग्गा दलाली । गुण्डा र निर्माण व्यवसायीको पृष्ठभूमिबाट आउने पनि उत्तिकै छन् । यिनीहरूलाई के जनताको माया लाग्थ्यो ? राष्ट्रको त मतलब नै छैन । बजार पूरै आर्थिक मन्दी आइसकेको छ । जनता भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । सरकारमा बस्नेहरूले अझैपनि यही रंगरुप देखाउने हो भने जनताले यिनीहरूलाई यहाँबाट लखेट्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४