काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ ।
चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछाने कै कानुन व्यवसायीले स्थगित गराएका थिए ।
त्यसपछि आजका लागि सुनुवाइ पेसी तोकिएको हो । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।
सोही जाहेरीका अनुसार पक्राउ परेका लामिछाने रिहा भए पछि पछिल्लो समयमा भने किशोरीको जाहेरी विवादास्पद हुँदै गएको छ । मुख्यतः उनी नाबालिग हो कि होइन भन्ने विषयमा अहिले चर्चा परिचर्चा हुन थालेको हो ।
यसअघि कडा सर्त राखेर उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो भने सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट टुङ्ग्याउन आदेश दिए पछि जिल्ला अदालतले आज पेशी तोकेको हो ।