काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार अर्थविद् डा. स्वर्णिम वाग्ले भन्छन । तनहुँ मेरा लागि नयाँ ठाउँ होइन, मेरा थुप्रै आफन्त यहीँ बसोबास गर्नु हुन्छ । म यसपटक यहीँको माटोमा आफूलाई परीक्षण गर्न आएको छु ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त भएको तनहुँ क्षेत्र नम्बर १ को सांसद चुन्न हुन लागेको उपनिर्वाचनको मनोनयन गर्ने दिन दमौलीका जमघटहरुमा उम्मेदवारकै चर्चा छ । २०७९ मंसिरकै चुनावमा नेकपा एमालेबाट पूर्व आइजीपी सर्वेन्द्र खनालको चर्चा थियो, तर एकबहादुर रानाले टिकट पाए । यसपटक खनाल आउनु तनहुँका लागि अपेक्षित नै हो ।
२०७४ सालको निर्वाचनमा तनहुँ–१ १ मा टिकट पाएर पनि हार बेहोरेका गोविन्द भट्टराईले नेपाली कांग्रेसका शीर्ष नेतृत्वले नै उचित व्यवस्थापन गर्ने वचन दिएका थिए । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि यसपटक गोविन्दले टिकट पाउने सहज अनुमान थियो ।
तनहुँका लागि अनपेक्षित उम्मेदवार हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नाता अर्थविद् डा. स्वर्णिम वाग्ले । ४ मंसिरको चुनावमा नेपाली कांग्रेसकै उम्मेदवारहरुलाई जिताउन तनहुँ आएका अर्थविद् डा.स्वर्णिम वाग्ले यसपटक आफैं उम्मेदवार बनेर आए, त्यो पनि राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”बाट । नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल भन्छन्, नेपाली कांग्रेस नै परित्याग गरेर डा. स्वर्णिम वाग्ले आफैं उम्मेदवार बन्नु हाम्रा लागि अपेक्षित होइन ।
मनोनयनका दिन दमौली बजारमा चुनावको परिणामबारे चर्चा परिचर्चा भइरहँदा डा.स्वर्णिम भने बुल्दी खोला नजिकैको एक होटलमा बसेर आफ्नै विरासतको पार्टी नेपाली कांग्रेस नजिकका मान्छे भेट्दै आफ्नो पक्षमा माहोल बनाउँदै थिए ।
व्यास–४ सिमरटारको एक होटलमा डा.स्वर्णिम आइतबारदेखि बसिरहेका छन् । रास्वपामार्फत तनहुँ–१ मा डा. स्वर्णिमलाई जोडेका श्रीराम न्यौपानेले मानिसहरुसँग सहजीकरण गरिरहेका छन् । तनहुँबाट चितवन बसाइँ सरेका श्रीरामले तनहुँ–१ मा पुरानो सम्बन्धलाई जोड्ने र डा.स्वर्णिमलाई बुझाउने काम गरिरहेका छन् ।
अघिल्लो चुनावमा गोविन्दराज जोशी समूहमा लागेर वडाध्यक्षमा उठेका चुडामणि दाहालले डा.स्वर्णिमलाई भेटेर भन्दै थिए, ‘तनहुँमा यसपटक पुराना दलले पाठ सिक्छन् । राष्ट्रपति रामचन्द्र पौडेलकै गाउँ व्यास–८ रिस्तीबाहुन पोखराका उपेन्द्रले डा.स्वर्णिमलाई नै वचन दिएका छन् । रामचन्द्र काकालाई जिताएकै हो, उहाँ राष्ट्रपति बनेपछि अब तनहुँले पनि राजनीतिक परिवर्तन खोजेको छ ।
डा.स्वर्णिमले भेट्न आउनेहरुलाई भनिरहेका छन्– यो पटक नयाँ राजनीतिक डिस्कोर्स थाल्नुपर्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मनोनयनको अघिल्लो दिनदेखि नै गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गरिरहेको छ । चितवन–२ मा पार्टी सभापति रवि लामिछानेले जित्ने पक्काजस्तै भएको निश्कर्ष निकाल्दै तनहुँकै सबै शक्ति लगाउने रास्वपाको योजना रहेको छ ।
अघिल्लो चुनावमा रास्वपाका विकास सिग्देलले तनहुँ–१ मा ६ हजार ३२ मत पाएका थिए । पाँच दलीय गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल २५ हजार ३१८ मतका साथ विजयी हुँदा नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याएका थिए । नेपाली कांग्रेसबाटै कारबाहीमा परेका स्वतन्त्र उम्मेदवार पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका थिए ।
तनहुँ–१ डा.स्वर्णिमका निम्ति त्यति सहज भने छैन । तनहुँ–१ यस्तो क्षेत्र हो, जहाँ अधिकांश चुनाव नेपाली कांग्रेसले नै जितेको छ । त्यसमाथि नेपाली कांग्रेसले गोविन्द भट्टराईको मनोनयन दर्ताका निम्ति मात्रै होइन, तनहुँको निर्वाचनमै महामन्त्री गगनकुमार थापालाई खटाएको छ । गगनका प्रिय पात्र भनेर चिनिएका डा.स्वर्णिमले भने नेताहरु आफूमाथि नखनिने देखेका छन् ।
समानुपातिकतर्फ १२ हजारभन्दा बढी मत ल्याएको रास्वपाको रणनीतिबारे एक केन्द्रीय नेताले भने, ‘रविको लोकप्रियतासँगै डा. स्वर्णिमको व्यक्तित्व बुझाउने, डा.स्वर्णिमको विरासत सबैभन्दा बढी नेपाली कांग्रेसमै जोडिएकाले त्यता फोकस गर्ने,नेकपा एमाले र स्वतन्त्र मानिसलाई पनि तान्ने हर सदस्यले कोसिस गर्ने छन् ।’ उनीहरु गोविन्दराज जोशीको समर्थन पाउनेमा आशावादी छन् । जोशी समूहले पनि उम्मेदवारी नदिने तर व्यक्ति हेरेर मत दिने बताएको छ ।
डा.स्वर्णिमले पनि विभिन्न क्षेत्रका मानिसहरुलाई भेटेर माहोल बनाइरहेका छन् । होटलमा एकसरो भेटघाट सकेर दमौली बजार निस्कनुअघि डा.स्वर्णिमले जनतालाई आफ्नो एजेण्डा बुझाउन लाग्ने बताएका छन् ।
मर्स्याङ्दी पारी गोरखाबाट चितवन सरेका डा.स्वर्णिम वाग्ले यसपटक तनहुँ–१ मा इतिहास रच्ने सपनासहित चुनावमा होमिएका छन् । भन्छन्, ‘यो मेरो लागि नयाँ ठाउँ होइन, मेरा थुप्रै आफन्त यहीँ हुनुहुन्छ । म यसपटक यहीँको माटोमा आफूलाई परीक्षण गर्न आएको छु ।
नेतृत्वको व्यवहार, असहिष्णु रबैयाका कारण आत्मसम्मानका लागि लामो समय सम्म आबद्द रहेको नेपाली कांग्रेसको विरासत छोडेर निस्किएको डा. स्वर्णिमले दोहो¥याइरहेका छन् । मंसिरको चुनावमा टिकट नपाए पनि नेपाली कांग्रेस रिफर्म होला भन्ने सोचेको, तर ४÷५ महिनापछि पनि त्यो नदेखेपछि बाहिरिने निश्कर्षमा पुगेको उनको भनाइ छ ।
‘आफ्नो उर्वर उमेरमै केही हस्तक्षेप गरौं भन्ने भयो । म चाहिँ समयसीमा तोकेर दुई कार्यकालभन्दा राजनीति गर्न हुन्न भन्नेमा विश्वास भएको मान्छे हुँ,’ उनले भने । राजनीतिलाई पेशा बनाउने र भ्रष्टीकरण गर्ने राजनीतिक व्यवस्थाको एउटा उत्तर पनि आफ्नो पार्टी त्याग र उम्मेदवारी भएको उनको भनाइ थियो ।
‘आफ्नो प्राइम इयर्सको पाँच वर्ष हात बाँधेर बस्ने ? यो भएन भन्ने भयो’ उनले भने, ‘अहिले अवसर पनि आयो । उपचुनावमा ३÷३ वटा ठाउँ खाली भयो, जुन त्यतिबेला थाहा थिएन । एक पटक परीक्षण गरौं न भनेर मैदानमा उत्रिएको हुँ ।
अवसरका लागि मात्र नेपाली कांग्रेस छोडेर रास्वपा रोजेको आरोपलाई स्वीकार्दैनन्, उनी । ‘अवसर त आफैंमा नराम्रो होइन’,नेपाली कांग्रेसमा अपेक्षित सुधार नदेखेकाले हाम फालेको भन्दै उनले भने, ‘मलाई हराइदिएर पठाइदिए भयो नि ! म आफ्नो कुरा राख्छु, लोकतन्त्रमा जनताले के भन्छ भन्ने कुरामा विश्वास राख्नुपर्ने हुन्छ ।
रामचन्द्र पौडेलले आफैं बोलाएर सल्लाहकार हुन भनेको तर आफू दरखास्त हालेर नगएको उनले बताएका छन् । मनोनयन दर्तासँगै आजैदेखि क्याम्पेन सुरु भएको उनको भनाइ छ । तनहुँको चुनावलाई देशैभरिबाट चासोका साथ हेरिएको छ । तनहुँ–१ मा राष्ट्रिय निर्वाचन क्षेत्रजस्तो भएको उनी पनि बताउँछन् ।
तनहुँ–१ डा.स्वर्णिमका निम्ति त्यति सहज भने छैन । तनहुँ–१ यस्तो क्षेत्र हो, जहाँ अधिकांश चुनाव नेपाली कांग्रेसले नै जितेको छ । प्रजातान्त्रिक आन्दोलनमा परिवारै लागेका पदमको नाममा राखिएको चोकनेर भेटिएका एक स्थानीयले भने, ‘यहाँ व्यक्तिभन्दा धेरै पार्टी हेरिन्छ । दमौली अझै पनि गाउँ नै हो । त्यति सजिलै मत बदलिन्न । जतिसुकै अब्बल व्यक्ति आए पनि भन्न सकिन्न ।
त्यसमाथि नेपाली कांग्रेसले गोविन्द भट्टराईको मनोनयन दर्ताका निम्ति मात्रै होइन, तनहुँको निर्वाचनमै महामन्त्री गगनकुमार थापालाई खटाएको छ । गगनका प्रिय पात्र भनेर चिनिएका डा.स्वर्णिमले भने नेताहरु आफूमाथि नखनिने देखेका छन।