Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामचन्द्रपछि तनहुँमा राजनीति दोस्रो पुस्ताको हातमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ७ २०७९
  • 1.7K
    SHARES

काठमाडौँ । पञ्चायतकालमै बिपी कोइरालासहित कांग्रेसको नेतृत्वसँग सम्बन्ध बनाएका रामचन्द्र पौडेलले गत आमचुनावसम्म तनहुँको राजनीतिमा रजगज गरेका थिए  ।

नेपाली कांग्रेसका शीर्ष तहमै सम्बन्ध र प्रभाव पारेका रामचन्द्रले २०४८ यताका सबै चुनावमा आफूले टिकटमात्र लिएनन्, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँग पनि भाग खोजेर टिकटै बाँड्ने ठाउँमै पुगेका थिए  ।

प्रजातन्त्र स्थापनाका लागि क्रान्तिमा होमिने र नेपाली काँग्रेस गठनमै क्रियाशील तनहुँका श्रीभद्र शर्मा र गोवर्द्धन शर्मापछि बिपीहरुसँग रामचन्द्रले निकट सम्बन्ध बनाएका हुन्  । गोवर्द्धन नेपाली कांग्रेसको केन्द्रीय सदस्यसम्म बने भने श्रीभद्र त महामन्त्री नै बने ।

तर तनहुँले पार्टीको नेतृत्व र देशकै नेतृत्व गर्ने नेता अहिलेसम्म पाएको छैन । केन्द्रीय सदस्य र मन्त्री हुने तनहुँमा नेपाली कांग्रेसका नेताहरुको सूची लामै भए पनि पटक पटक सांसद, मन्त्री, सभामुख, उपप्रधानमन्त्री हुँदै देशकै सर्वोच्च पद राष्ट्रपतिसम्म पुग्ने व्यक्तिका रुपमा रामचन्द्र पौडेल उचाइमा पुगेका छन्  ।

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि नेपाली कांग्रेसबाट अलग भइसकेका छन् । त्यसैले उनी ४ मंसिरको चुनावमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको तनहुँ १ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा गोविन्द भट्टराई, ध्रुव वाग्ले, रघुनाथ पौडेलदेखि पाका नेता रामचन्द्र पोखरेल, दीपक भट्टराईसम्मले आकांक्षा राखेका छन् । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई तनहुँमा उठाउने चर्चाले पनि कांग्रेस वृत्तमा तरंग नै ल्यायो । तर, तनहुँका नेपाली कांग्रेस नेताहरुको चेतावनी छ, ‘तनहुँमै योग्य उम्मेदवार छन्, बाहिरबाट ल्याएमा विद्रोह हुन्छ ।’

नेपाली कांग्रेसको पूर्व जिल्ला सभापति रघुनाथ पौडेलले आफूले सभापति शेरबहादुर देउवालाई जिज्ञासा राख्दा मिथ्या भएको जवाफ पाएको बताएका छन्  । ‘जोशीजी पाखा लाग्नुभयो, पौडेलजी राष्ट्रपतिमा थन्किनुभयो । अब स्वतः तनहुँको राजनीति अर्को पुस्तामा आयो’ पौडेलले भने, ‘सिटौला वा बाहिरबाट ल्याउने कुरा छ र भनेर सभापतिलाई सोधें । यो सोचेंको पनि छैन, ल्याउने कुरा पनि हुँदैन भन्नुभयो ।

रामचन्द्रसँगै तनहुँबाट कांग्रेसमा आशलाग्दा व्यक्तिका रुपमा गोविन्दराज जोशी, अमरराज कैनी, रामचन्द्र पोखरेललगायत नेताहरु पनि आए । रामचन्द्रकै कारण पुराना र पछिल्लो पुस्ताका नेतासम्म राजनीतिको दौडमा धेरै अगाडि बढ्न नसकेको चर्चा तनहुँ कांग्रेसमा हुने गरेको छ ।

शंकर, गोविन्द, प्रदीपको केन्द्रसम्म प्रभाव स्थापित भइसकेको छ । अब तनहुँलाई केन्द्रसम्म पहुँच पुर्‍याउने र पार्टी तथा सरकारमा हस्तक्षेप गर्ने नेताका रुपमा देउवा, स्वयं रामचन्द्रले पनि कसलाई च्याप्छन् भन्ने कुराले पनि अर्थ राख्ने कांग्रेसजन बताउँछन्
२०४८ सालमा तनहुँ क्षेत्र नम्बर २ र त्यसपछिका २ पटक क्षेत्र नम्बर १ बाट चुनाव जितेका जोशी एकातिर भ्रष्टाचार मुद्धाका कारण राजनीतिमा पछि परे । २०६४ मा तनहुँ-१ मा माओवादीका सुरेश आले मगरसँग हारेपछि जोशीको राजनीति ओरालो लाग्यो, पार्टीबाट कारबाहीमा परे । अहिले त उनलाई कांग्रेसले निष्कासन गरिसकेको छ ।

रामचन्द्र पोखरेल जिल्लामा सुविधाको पदमा पुगे । तर कहिल्यै चुनावमा उम्मेदवार बन्न पाएनन् । अब उमेर र लोकपि्रयता पनि खस्किएका कारण प्रत्यक्ष चुनाव लड्ने धोको अधुरै रहने सम्भावना छ । २०५१ सालमा तनहुँ-३ बाट चुनाव जितेर मन्त्रीसमेत बनेका अमरराज कैनी स्वास्थ्यका कारण पनि सक्रिय राजनीतिमा छैनन् ।

नेपाली कांग्रेसमा तनहुँबाट पछिल्लो समय राम्रो हैसियत बनाएका नेता हुन् शंकर भण्डारी । तनहुँमा पौडेल र जोशीको प्रतिष्ठाको लडाईं हुँदा तेस्रो धार बनाउँदै अघि बढेका भण्डारीले २०७० को चुनाव तनहुँ-१ बाट जिते पनि २०७४ भने त्यस क्षेत्रमा टिकट पाएनन् ।

२०७४ मा तनहुँ-१ मा पौडेल उठ्ने भएपछि भण्डारी तनहुँ-२ मा सरे । विद्यार्थी राजनीतिबाट आएका प्रदीप पौडेल, गोविन्द भट्टराई र जिल्ला नेता ध्रुव वाग्लेले प्रदेशमा मात्र टिकट पाए । २०७४ मा कांग्रेसले संघ-प्रदेश दुवैतिर गुमाउँदा नेताहरुले रामचन्द्रले मिलाउन नसकेको टिप्पणीसमेत भयो ।

२०७९ मंसिरको चुनावमा पनि अन्तिम पटक भन्दै रामचन्द्र नै उठेपछि कतिपय नेताले टिकट पाएनन् भने कसैले जिल्ला नै छोड्नुपर्‍यो । अघिल्लो पटक प्रदेशमा टिकट पाएर पनि जित निकाल्न नसकेका कांग्रेस नेता गोविन्द भट्टराई यसपटक कुनै पनि हालतमा संघ नछोड्ने अडानमा थिए ।

शंकर भण्डारी पनि तनहुँ-१ मै उठ्न चाहन्थे । तनहुँ-२ मा प्रदीप पौडेल यसपटक कुनै पनि हालतमा मार सहन तयार नहुने बताइरहेका थिए । तर, शंकर फेरि पनि तनहुँ-२ मा सरे भने प्रदीपले जिल्ला छाडेर काठमाडौं-५ पुगे । गोविन्दले कुनै क्षेत्र नै नपाउने परिस्थिति बनेपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्दै थिए । मनोनयन दर्ताकै दिन रामचन्द्रले राष्ट्रिय सभामा भए पनि लैजाने र अर्को पटकबाट आफू नउठ्ने भन्दै थुम्थुम्याए ।

केन्द्रीय सदस्य गोविन्द भट्टराई अब आफू संसद नछिरे ढिलो हुने बताउँछन् । ‘रामचन्द्र दाइपछि तनहुँको राजनीति हाँक्ने अब हामीले हो । रामचन्द्र पौडेल र शंकर भण्डारीसँगै मेरो आकांक्षा थियो, चुनावमा । उहाँहरुले टिकट पाउनुभयो र जित्नुभयो,’ भट्टराईले भने, ‘मेरो नाम समानुपातिकमा हाल्नु भा रैछ र थाहा पाउनेबित्तिकै निकालें । म प्रत्यक्षमै लड्ने निर्णय गरेको थिएँ । तेस्रो कार्यकाल केन्द्रीय सदस्य छु र पनि अवसर नपाउनेमा पर्छु ।’

अरु नेताले आकांक्षा राखे पनि आफूलाई नै सबैले समर्थन गर्ने भट्टराईको भनाइ छ । कांग्रेस सभापति देउवाले पनि तयारी गर्नुस् भनिसकेको भट्टराईको दाबी छ ।

काठमाडौं-५ बाट निर्वाचित तनहुँका नेता प्रदीप पौडेल पनि तनहुँमा कांग्रेसको राजनीति र जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको बताउँछन् । तनहुँ-१ को उपनिर्वाचनमा टिकटको आकांक्षी ध्रुव वाग्ले जसले टिकट पाए पनि तनहुँको राजनीतिमा अर्थ राख्ने बताए ।

तनहुँमा अबको राजनीतिमा कसको प्रभाव र केन्द्रसम्म सम्बन्ध विस्तार हुन्छ भनेर यसै भन्न नसकिने नेताहरु बताउँछन् । शंकर, गोविन्द, प्रदीपको केन्द्रसम्म प्रभाव स्थापित भइसकेको छ । अब तनहुँलाई केन्द्रसम्म पहुँच पुर्‍याउने र पार्टी तथा सरकारमा हस्तक्षेप गर्ने नेताका रुपमा देउवा, स्वयं रामचन्द्रले पनि कसलाई च्याप्छन् भन्ने कुराले पनि अर्थ राख्ने कांग्रेसजन बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४