काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिँदैछन् । सत्ता साझेदार दलका शीर्ष नेतासँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने निर्णय गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिपक्षमा बस्ने भएको छ । आफूहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा पुगेकाले प्रतिपक्षमै बस्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । ‘हामीले सबैभन्दा पहिले सरकारबाट बाहिरिएका हौँ । हामी बाहिरिएकै कारण प्रधानमन्त्री ज्यूले विश्वासको मत लिने अवस्था भयो’ श्रेष्ठले भने, ‘त्यसैले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरा भएन । हामी प्रतिपक्षमै बस्छौँ ।
नेकपा एमाले भने प्रमुख प्रतिपक्षमै बस्ने निर्णय गरी सकेको छ । सरकारबाट बाहिरिए लगतै नेकपा एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । आगामी चैत दोस्रो साताभित्र मन्त्रिपरिषद् पुनर्गठन भइसक्ने नेकपा माओवादी केन्द्र निकट नेताहरूले बताएका छन् ।