काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।
कांग्रेसबाट अर्थमन्त्री को ?
नेपाली कांग्रेसका नेताहरुका अनुसार अर्थमन्त्रीको दौडमा प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणा रहेका छन् ।
मन्त्रिपरिषद् विस्तारको तयारीसँगै सत्ता गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसमा मन्त्रीका आकांक्षी नेताहरुको दौडधुप सुरु भएको छ ।
राष्ट्रपति चुनावमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिएको छ । ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस सरकारमा जाने तयारीमा छ । नेकपा माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार ५ गतेसम्म उपराष्ट्रपति निर्वाचनको आचार संहिता नै लागू हुने कारण सरकार विस्तार गर्न मिल्दैन ।
त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र सरकारलाई पूर्णता दिने तयारी छ । एक पदाधिकारी भन्छन्, ‘विश्वासको मत लिनुअघि सांकेतिक रुपमा केहीलाई सरकारमा सहभागी पनि गराउन सकिन्छ ।
अहिलेसम्म कुन दलले कुनकुन मन्त्रालय लिने भनेर औपचारिक रुपमा छलफल सुरु भएको छैन । तर अर्थ मन्त्रालय नेपाली कांग्रेसले पाउने निश्चितजस्तै छ । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले गृह मन्त्रालय आफैंसँग राख्न चाहेकाले अर्थ मन्त्रालय नेपाली कांग्रेसको भागमा पर्ने नेताहरु बताउँन् थालेका छन् ।
अर्थमा जान नेपाली कांग्रेसभित्र नेताहरुको दौडधुप चर्को रुपमा शुरु भएको छ । पार्टीका महामन्त्री समेत रहेका गगनकुमार थापा अर्थमन्त्रीका आंकाक्षी मानिएको थियो । महामन्त्री थापा आफैं पनि अर्थतन्त्रसँग जोडिएको छलफलहरुमा सहभागी भइरहेका छन् । तर उनले सार्वजनिक रुपमै मन्त्री नहुने घोषणा गरेका कारण उनको सम्भावना सकिएको छ । आफू मन्त्री होइन महामन्त्री भएको भन्दै उनले आइतबार एक कार्यक्रममा भने, ‘पाँच वर्षको लागि पाएको जिम्मेवारी सांसदको हो । न म अहिले मन्त्री बन्ने हो, न म अहिले बन्न मिल्छ ।
नेपाली कांग्रेसका नेताहरुका अनुसार अबको अर्थमन्त्रीको दौडमा प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र युवा नेता उदय शमशेर राणा रहेका छन् ।
पार्टी सभापति शेर बहादुर देउवाका विश्वास पात्र मानिएका डा.प्रकाशशरण महत पनि अर्थमा आफ्नो दाबी स्वभाविक भएको बताउँछन् । ‘मैले अध्ययन गरेको विषयको आधारमा अर्थ मन्त्रालय चाहना राख्नु स्वभाविक हो’, उनले भने, ‘अहिले आर्थिक संकटको अवस्था छ । मन्त्रालयको जिम्मेवारी लिएर मात्रै हुने अवस्था छैन । आर्थिक संकटको चुनौती सामना गर्न म सक्षम छु ।
पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ मन्त्रालयमा आफ्नो दाबीबारे केही बोलेका छैनन् । तर उनले पार्टी नेतृत्वसँग निरन्तर लबिइङ गर्दै आइ रहेका छन् ।
पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणा पनि अर्थमन्त्रीमा आफ्नो दाबी रहेको बताउँछन् । ‘पूर्वअर्थराज्यमन्त्री भएकाले स्वभाविक रुपमा अर्थमन्त्रीमा दाबी रहन्छ, सभापतिसँग आफना कुरा राख्छु’, उनले भने, ‘तर मलाई दिनैपर्छ भनेर जिद्दी गर्दिन किनकी ८ दललाई मिलाएर लैजानुपर्ने अबस्था रहेको छ ।
नेपाली कांग्रेस वृत्तमा नेता डा. शेखर कोइराला पनि मन्त्रीको आकांक्षी रहेको कतिपयले चर्चा गर्छन् । डा. शेखरले पनि बुधबार वर्तमान अर्थतन्त्रको सन्दर्भमा अन्तरक्रिया राखेको थिए । तर उनी निकट नेताहरु भने सरकारमा जाने वा नजाने, गए कुन मन्त्रालय लिने भन्ने कुनै छलफल नभएको बताउँछन् ।
कथंनकाल मन्त्रिपरिषद्मा सहभागी भए दलको नेतृत्व गरेर मात्रै जाने उनी निकट केन्द्रीय सदस्य सञ्जय गौतमले बताएका छन् । ‘शेखर दाइको मनस्थिति सरकारमा नजाने जस्तै बुझ्छु’, गौतमले भनेका छन्, ‘शेखर दाइ मन्त्री हुन गए पार्टीबाट नेतृत्व गरेर जानुहुन्छ, होइन भने जानुहुन्न उनले भनेका छन् ।’
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल अर्थतन्त्र संकटोन्मुख रहेकाले विषयको जानकार नभएको व्यक्तिले मन्त्रालय सम्हाल्दा देशले त्राण नपाउने बताउँछन् । ‘अन्तर्राष्ट्रिय क्षेत्रलाई विश्वासमा लिनसक्ने अर्थमन्त्री चाहिन्छ’, पोखरेलले भने, ‘देशभित्रका नागरिकमा आशा जगाउने अर्थमन्त्री चाहिन्छ ।’
सामान्यतया: अर्थ मन्त्रालय सम्हाल्ने ब्यक्तिले नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारमा नेपाली कांग्रेसको नेतृत्व गर्नेछ । तर अहिलेसम्म सरकारमा कसलाई पठाउने भन्ने विषयमा सभापति शेरबहादुर देउवाले मुख खोलेका छैनन् । एक पदाधिकारीका अनुसार उपसभापति पूर्णबहादुर खड्का अर्थमन्त्री हुने गरी पार्टीको नेतृत्व गरेर सरकारमा जाने सम्भावना पनि रहेको जानकार ति व्यक्तिले बताएका छन ।