Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेम प्रसादको आत्मदाह : छानबिन प्रतिवेदनमा २३ बुँदे सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २९ २०७९
  • 2.1K
    SHARES

गृह प्रवक्ता भन्छन्–‘सुझाव कार्यान्वयनको प्रक्रियामा’

काठमाडौँ । प्रेम प्रसाद आचार्यले माघ १० मा आफैंलाई पेट्रोल छर्केर आगो लगाए । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उनले आत्मदाह गरेको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।  सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको समितिले गृह सचिव विनोद प्रकाश सिंहलाई प्रतिवेदन बुझाएको हो । समितिमा उपसचिव विश्वमित्र कुँइकेल, स्वास्थ्य मन्त्रालयका मनोचिकित्सक र नेपाल प्रहरीका प्रतिनिधिसहित ६ जना सदस्य थिए ।

छानबिन समितिले आत्महत्या गर्न बाध्य बनाउने नीतिगत व्यवस्था सुधार्न २३ बुँदे सुझाव दिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) जितेन्द्र बस्नेतले समितिको सुझाव कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा लेखेर पठाएको बताए । उनले भने,‘सुझाव कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा लेखेर पठाएका छौं, गृह मन्त्रालयले गर्नुपर्ने विषय कार्यान्वयनको प्रक्रियामा छ ।  

फागुन २३ मा गृह सचिवलाई बुझाएको प्रतिवेदनमा प्रेम प्रसादले उठाएको विषय र  नीतिगत व्यवस्थाका कारण नागरिकलाई समस्या हुने क्षेत्रमा सुधार गर्न समितिले सुझाव दिएको छ । ‘नीतिगत सवालमा २३ बुँदे सुझाव दिएका छौं’ छानबिन समितिका एकजना सदस्यले भने ‘व्यवसाय गर्दा उधारो कारोबारलाई व्यवस्थित गर्न कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिएका छौं ।’

आचार्यले आरोप लगाएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ सहितका आरोपीहरुसँग समितिले बयान लिएको छ । उनीहरूको बयान प्रतिवेदनमा राखिएको सहसचिव बस्नेतले जानकारी दिए ।

समितिले मूल्य अभिवृद्धि करमा ‘बहुदर’ लगाउन सुझाव दिएको छ । अहिले सबै क्षेत्रले समान १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नुपर्ने व्यवस्था छ । समितिले कृषि उत्पादनमा कर घटाउन सुझाएको छ । कृषि उत्पादन नौनी र दूधमा कर नलागेपनि घिउमा १३ प्रतिशत कर लाग्ने हुनाले किसानलाई मार पर्ने गरेको छानबिन समितिको निष्कर्ष छ ।

‘नौनीबाट घ्यू बनाएर प्याकिङ गर्नासाथ १३ प्रतिशत कर नलगाउन सुझाएका छौं’ समितिका एकजना सदस्य भन्छन्,‘ऋण लिँदा कृषिजन्य जग्गाको मूल्याङ्कन कम र अन्य जग्गाको मूल्याङ्कन धेरै गर्ने नीति सुधार्न कानुन संशाेध गर्नुपर्ने हाम्रो सुझाव छ ।

कृषि अनुदान दिने प्रणालीमा पुनरावलोकन गर्नुपर्ने सुझाव दिइएको छ । ‘अहिले  प्रोजेक्ट स्तरको अनुदान प्रणाली छ’ समितिका ती सदस्य भन्छन्–‘प्रोजेक्ट स्तरको अनुदान प्रणालीको साटो उत्पादनमा आधारित अनुदान प्रणाली लागु गर्नुपर्ने हाम्रो सुझाव छ ।’

उत्पादनमा संलग्न किसानलाई घाटा भएको रकम अनुदान स्वरूप उपलब्ध गराएमा त्यसले उत्पादनमा सहयोग गर्ने समितिको निष्कर्ष छ । सुपरस्टोर सञ्चालकहरू मध्ये कतिपयले नाफाको विषय उल्लेख गरेपनि कत्ति नाफा लिन पाउने भन्नेबारे स्पष्ट उल्लेख नगरेको छानबिनबाट देखिएको छ ।

आचार्यले उत्पादन गरेको सामान बेच्ने सुपरस्टोरले सम्झौतामा नै ‘बिक्री भएपछि पैसा दिने’ भनेर उल्लेख गरेको भेटिएको छ । समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ,‘व्यापार गर्नेलाई नीतिकै कारण समस्या भएको छ ।’

आरोपीहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चलाउने कि नचलाउने भन्नेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

प्रेम प्रसाद प्रकरण : आरोपीहरुविरुद्ध मुद्दा चल्छ कि चल्दैन ?
मृतककी पत्नीलाई प्रहरीले बोलायो

प्रेम प्रसाद आचार्यले आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेको घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । माघ १० मा संसद् भवन अगाडि आफैँलाई प्रेम प्रसादले जलाएको घटना १ महिना पुरा भएको छ । तर, मृतक पत्नीले दिएको किटानी जाहेरी अनुसार मुद्दा चल्छ वा चल्दैन भन्नेबारे अझै निर्णय हुन सकेको छैन ।

संसद् भवन अगाडि आगो लगाएको भोलिपल्ट कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भयो । प्रेम प्रसादले इलाममा उत्पादन गरेको सामान अर्डर गरेर पैसा नदिने सुपरमार्केट, मार्ट र ‘शैक्षिक टुर प्याकेज’को जिम्मा दिएर भुक्तानी नदिने क्याम्पस विरुद्ध पत्नी नानुका अधिकारीले जाहेरी दिएकी छन् । आत्महत्या दुरुत्साहनविरुद्ध नानुकाले दिएको जाहेरी उपर मुद्दा चल्छ वा चल्दैन भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । कार्की भन्छन्,‘अनुसन्धान टुंगोमा पुगिसकेको छैन ।

प्रेम प्रसादले मृत्युअघि आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गरेका १२ जना व्यक्ति र संस्थाका प्रतिनिधिहरुसँग प्रहरीले बयान लिइसकेको छ । आरोपीहरुले बयानमा भनेका कुरा र तथ्यहरुबारे प्रहरीले विश्लेषण गरेको छ । मृतकले दाबी गरे अनुसार सम्बन्धित संस्था र फर्मसँग भुक्तानी लिनुपर्ने रकमबारे यकिन गरिने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

मृतक पत्नी नानुकाले जाहेरीमा उल्लेख गरे अनुसार दाबी लाग्ने कागजात र बैंकिङ कारोबारको डिटेल मागिएको एसएसपी कार्कीले बताए । कार्की भन्छन्,‘हामीले पीडित परिवारलाई बोलाएका छौँ, ४५ दिनको काम सकेर उहाँहरु आएपछि थप अनुसन्धान अघि बढाउँछौं, पीडितले कारोबारको डिटेल उपलब्ध गराएपछि क्रस भेरिफाई गर्छौं ।

प्रेम प्रसाद पत्नीले ४५ दिनको मृत्युकर्म सकेर काठमाडौं आउने बताएकी छन् । नानुकासँग जाहेरीमा खुलाए अनुसारको रेकर्ड प्रहरीले मागेको छ । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँले क्याथफोर्ड कलेजका सञ्चालक सुमन कटुवालसहित १२ जना व्यक्ति र संस्थाका प्रतिनिधिहरुसँग बयान लिएको छ । ललितपुरको बालकुमारीमा सञ्चालित क्याथफोर्ड कलेजले दादागिरी शैलीमा १ लाख ७५ हजार नदिएको आचार्यले आरोप लगाएका छन् ।

बिग मार्टले ५–७ लाखको समान अर्डर गरेर ७५ हजारदेखि डेढलाख मात्रै भुक्तानी दिने गरेको आचार्यले आत्मदाह अघि फेसबुकमा लेखेको स्ट्याटसमा उल्लेख गरेका छन् ।

पवन गोल्यानको गोल्यान एग्रो र नक्साल स्थित शान इन्टरनेशल कलेजका प्रतिनिधिसँग प्रहरीले बयान लिएको छ । शान इन्टरनेशनलले ९० हजार नदिएको आचार्यको आरोप छ । थापाथली स्थित सुजुकी शोरुमले आफ्नो ४ लाख फिर्ता नगरेर आत्मदाह गर्न बाध्य बनाएको उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् ।

प्रेम प्रसादले पैसा नदिएर आत्महत्या गर्न बाध्य बनाएको भनेपछि कतिपय व्यक्ति र फर्मले पैसा भुक्तानी गरेको रेकर्डबाट देखिएको छ । तर, कमिसनको कुरा अनुसन्धानबाट खुल्न नसकेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

अनुसन्धान अधिकृतहरुले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसँग पनि बयान लिएका छन् । आचार्यले उधारोमा समान लिएर भाटभटेनिले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैंले नाफा कमाउने गरेको आरोप लगाएका थिए ।

प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग पनि बयान लिएको छ । आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले चलाएको नेपाल गाग्रोध्योग कम्पनीलाई आफूले बेचेको घ्यूको पैसा नदिएको आरोप लगाएका थिए ।

आत्मदाह अघि आचार्यले पोष्ट गरेको ६ हजारभन्दा लामो फेसबुक स्ट्याटस र उनको पत्नीले दिएको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरेको छ । आरोपीहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चल्छ या चल्दैन भन्नेबारे अझै निर्णय भएको छैन । अनुसन्धान पुरा भएपछि सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाउनेबारे निर्णय लिइने एसएसपी कार्कीले जानकारी दिए ।

प्रेम प्रसादको आत्मदाह : १२ क्षेत्र र व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको निष्कर्ष

अनुसन्धान सकेर सरकारी वकिलसँग राय लिन्छौं– एसएसपी कार्की

प्रेम प्रसाद आचार्यले आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेको घटनामा प्रहरीले मृतकले उठाएको विषयमा अनुसन्धान गरिरहेको छ ।  आत्मदाह अघि आचार्यले पोष्ट गरेको ६ हजारभन्दा लामो फेसबुक स्ट्याटस र उनको पत्नीले दिएको जाहेरीलाई आधार बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

सोमबार अनुसन्धान अधिकृतहरूले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा गएर गुरुङले करिब ३ घण्टा बयान दिएका हुन् ।

आचार्यले उधारोमा समान लिएर भाटभटेनिले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैँले नाफा कमाउने गरेको आरोप लगाएका थिए । मृतकले फेसबुक स्ट्याटसमा भाटभटेनिले आफ्नो उत्पादनको पैसा नदिएको उल्लेख गरेका छन् ।

भाटभटेनी सुपर मार्केट जस्तै १२ प्रकारका क्षेत्र र व्यक्तिहरूमाथि अनुसन्धान गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले १२ प्रकारका क्षेत्र र व्यक्तिहरूबारे अनुसन्धान भइरहेको बताए । अनुसन्धान पुरा भएपछि सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाउने जानकारी दिए । उनले भने,‘अनुसन्धान पुरा गरेपछि सरकारी वकिलसँग राय लिन्छौं ।

प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग पनि बयान लिएको छ । आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले चलाएको नेपाल गाग्रोध्योग कम्पनीलाई आफूले बेचेको घ्यूको पैसा नदिएको आरोप लगाएका थिए ।

गाडी विक्रेता कम्पनी सुजुकीको सिइओ र नक्सालस्थित शान इन्टरनेशल कलेजका अध्यक्ष सुवास आचार्यसँग प्रहरीले बयान लिएको छ ।

भाटभटेनीका सञ्चालकले आफूलाई लगाएको आरोपबारे अभिलेखले देखाउने बताएका छन् । अनुसन्धान अधिकृतसँग गुरुङले भनेका छन्,‘मेरो कम्पनीले पैसा दिएको वा नदिएको कुरा कारोबारको विवरणले देखाउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४