Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनताको अपेक्षा पुरा गर्न चुनौतीपूर्ण छ : प्रदेश प्रमुख २६ जना कर्मचारीलाई दिर्घसेवा सम्मान, कडरिया वर्षकै सर्वोत्कृष्ट कर्मचारी घोषित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २८ २०७९
  • 2.4K
    SHARES

पोखरा । पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ । पोखरा सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनताको सर्वोपरि हितलाई सम्मान गर्दै नीतिहरूको निर्माण र कार्यान्वयनमा जोड दिनुभयो ।

“संविधानले महानगरपालिलाई आफ्ना लागि आवश्यक पर्ने नियम कानुन आफैले निर्माण गर्न पाउने अधिकार प्रत्यायोजन गरेको छ, नगरपालिकाले नीति बनाउन सक्छ, त्यो नीतिलाई कार्यान्वयन गर्न पाउँछ, प्रमुख गुरुङले भन्नुभयो, नगरपालिकाको कोष बढाउनका लागि कर लगाउने अधिकार पनि दिएको छ, त्यस कारण जनप्रतिनिधि जनताले दिएको जिम्मेवारीको स्मरण गर्दै छातीमा हात राखेर जनताको सेवामा समर्पित हुनुपर्छ ।” नागरिकहरूलाई सेवा दिने क्रममा दलीय स्वार्थको गन्ध आउनु नहुने भन्दै उहाँले निस्वार्थ भावका साथ सेवा दिनुपर्ने बताउनुभयो ।

नेतृत्वको चरित्रका विषयमा नागरिकहरू जानकार रहेको उल्लेख गर्दै प्रमुख गुरुङले सचेत हुनु आवश्यक रहेको बताउनुभयो । “जनताका सामु आफूले खाएको बाचा बिर्सनु हुँदैन, संविधान र जनताको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भनी खाएको कसम बिर्सनु हुँदैन, उहाँले भन्नुभयो, आफूले गरेको बाचा र कसम प्रति सदा सर्वदा सचेत रहने, होइन भने जनताले पछाडिबाट हेरिरहेका छन्, यी कुरालाई हामीले निर्माण गर्ने नीति नियम र जनसेवाका सन्दर्भमा विशेष ख्याल गर्नुपर्दछ ।” जनताको हित रक्षाका लागि कुनै प्रभावको अलमलमा परेर पछाडि फर्कने छुट जनप्रतिनिधिलाई नहुने उहाँले सुझाव दिनुभयो ।

स्थानीय सरकारका सामु जनताको अपेक्षा पुरा गर्न निकै चुनौतीपूर्ण रहेको बताउँदै उहाँले उपयुक्त योजनाको सफल कार्यान्वयन मार्फत जनअपेक्षा पुरा गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकार जनताको नजिकको सरकारका भएकाले पनि यसप्रति जनअपेक्षा निकै ठुलो रहेको प्रदेश प्रमुख गुरुङले स्मरण गराउनुभयो । संविधानको विरुद्धमा रहेका शक्तिहरूको चलखेल बढिरहेको उल्लेख गर्दै उहाँले जनताको भावना विपरीतका गतिविधिहरूलाई रोक्न सरकारको सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताउनुभयो ।

समारोहमा गण्डकी प्रदेशका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले महानगरपालिकाको समग्र भूगोलको समानुपातिक तथा सम न्यायिक विकासमा जोड दिनुभयो । “पोखरा महानगरपालिकालाई दायित्व सँगै पूर्वाधार निर्माणको जिम्मेवारी पनि थपिएको छ, मन्त्री गुरुङले भन्नुभयो, पछिल्लो पटक थपिएका ग्रामीण वडाहरूमा महानगरका आधारभूत पुर्वाधारहरुको कमी छ, त्यसको आवश्यकता परिपूर्तिका लागि सम न्यायिक विकास जरुरी छ ।” महानगरपालिकाले निर्माण गर्ने नीति तथा कार्यक्रममा यस प्रकारको दृष्टिकोण आवश्यक रहेको मन्त्री गुरुङले बताउनुभयो । महानगरको समुन्नतिको यात्रामा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको उहाँले विश्वास दिलाउनु पन दिलाउनुभयो ।

पोखरा महानगरपालिका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले पोखरालाई जीवन्त र चलायमान सहरको रूपमा विकास गर्नु पर्ने बताउनुभयो । “पोखरा महानगरपालिकालाई जीवन्त सहरको रूपमा विकास गर्ने हामी सबैको सोच हो, विकास मात्र पर्याप्तता होइन, विकास मात्र साध्य होइन, संयोजक मुल्मीले भन्नुभयो, यो सहरलाई जीवन्त राख्नका लागि राजनीतिक रूपमा, आर्थिक रूपमा, सामाजिक रूपमा, सांस्कृतिक रूपमा अथवा हामी सबै हिसाबले चलायमान हुन जरुरी छ ।” अन्तर्राष्ट्रिय सहरका रूपमा विकसित हुँदै गरेको पोखराको विकासमा समस्या र चुनौतीहरू दुवै रहेको बताउँदै संयोजक मुल्मीले यसको सामनाका लागि एकीकृत प्रयासमा जोड दिनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बितेको नौ महिनामा थुप्रै स्मरणयोग्य कामहरू सम्पन्न गरिएको बताउनुभयो । पोखरा महानगरपालिकालाई समुन्नत बनाउने सन्दर्भमा पहिलो वर्षलाई आधार वर्षका रूपमा विकासका आधारहरू तय गरिएको उहाँले बताउनुभयो । यसको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू सहित आफूहरू लागि परेको प्रमुख आचार्यले बताउनुभयो । शिक्षा, स्वास्थ्य लगायतका आभार भूत विषयहरूलाई मसिनो गरी अगाडी बढाएको बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं.२ का अध्यक्ष एवं नेपाली काँग्रेस दलका नेता दिवसमान प्रधानाङ्गले जनताका सामु गरिएका बाचाहरू पुरा गर्न आफुनहरु प्रतिबद्ध रहेको बताउनुभयो । पोखरा महानगरपालिका वडा नं.१७ की अध्यक्ष एवं नेकपा एमाले दलकी नेता राधिका कुमारी शाही योगीले समुन्नत महानगर निर्माणको अभियानमा हातेमालो गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

समारोहमा विभिन्न सम्मानहरू समेत प्रदान गरिएको छ । पोखरा महानगरपालिकाको नीति निर्माण तथा प्राविधिक विषयहरूमा सहयोग गर्ने नेपाल सहरी उत्थान परियोजना (सुदृढ), जग्गा वर्गीकरण कार्यमा विशेष सहयोग गर्ने नापी कार्यालय कास्कीका नापी अधिकृत ई.प्रदीप श्रेष्ठ, नापी अधिकृत ई.शोभा आचार्य, ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने जिल्ला ट्राफिक प्रहर कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक प्रवीण आचार्य, गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल विक्रम खड्कालाई सम्मान गरिएको छ ।

यस्तै वातावरण संरक्षणका लागि महाअभियान कास्की, श्री पश्चिम पृतना हे.क्वा विजयपुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरा, श्री राईजिङ यूथ क्लब पोखरा २७, श्री भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिई., दीपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लिई. लगायतलाई पोखरा महानगरपालिकाद्धारा सञ्चालित सरसफाइ अभियानहरूमा विशेष सहयोग गरे बापत कदर पत्र प्रदान गरिएको हो ।

महानगरपालिकाले नगर पञ्चायत स्थापनाको ६३ औँ र महानगरपालिका स्थापनाको सातौँ वार्षिक उत्सवका अवसरमा २६ जना कर्मचारीहरूलाई दीर्घ सेवा पदक समेत प्रदान गरेको छ । सो पदक प्राप्त गर्नेमा किरण प्रसाद कोइराला, माधव प्रसाद तिवारी, नानीबाबु ढकाल, लोक दर्शन कोइराला, कमला गुरुङ, सावित तिमिल्सीना, स्थाने स्वर ढुङ्गाना, देवी कुमारी गुरुङ, शेर बहादुर कुँवर, बुद्धिमान नेपाली, तीर्थ कुमारी अधिकारी, लक्ष्मीदेवी शर्मा, द्रोणबन्धु भुत्र्याल, सन्तबहादुर के.सी, तेज बहादुर थापा, रमेश पौडेल, यज्ञ बहादुर गायक, ध्रुव गायक, पूर्ण कामी, सो माया कामी, गणेश कुमारी श्रेष्ठ, सम्झना गायक, बालु जलारी, टिकामाया जलारी, सानो मसिनी दर्जी र भगवती गायक रहनुभएको छ ।

महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरिया वर्षको सर्वोत्कृष्ट कर्मचारीबाट सम्मानित हुनु भएको छ । यस्तै नेत्रप्रसाद तिमिल्सीना, हर्क गायक, नरेन्द्रदेवी पौडेल, लक्षु गायक, रोशनी थापा मगर, पुरुषोत्तम थापा, शर्मिला भण्डारी, रवीन्द्र अधिकारी, लोक दर्शन कोइराला र प्रमोद गुरुङ वर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित हुनुभएको छ । सर्वोत्कृष्ट कर्मचारी कडरियालाई नगद रु.२५ हजार र अन्यलाई नगद रु.१५ हजारका दरले सम्मान गरिएको हो ।

सो अवसरमा पोखरा महानगरपालिकाद्धारा प्रकाशित पोखरा दर्पण विशेष अङ्क समेत विमोचन गरिएको छ भने, होटेल ग्रान्डलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । यस अधि पोखराको मानवअधिकार चोक देखी पोखरा सभागृहसम्म प्रभात फेरी गरिएको थियो । महानगरपालिका स्थापना दिवसका अवसरमा विजयपुर खोला सरसफाइ तथा कर्मचारी र जनप्रतिनिधि बिभ मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४