काठमाडौँ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरेन्द्र पालले जानकारी दिएका छन् ।
२६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि नेकपा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको प्रदेश सरकार ढलेको थियो । सोही दिन मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।
तर सत्तारुढ गठबन्धनकै प्रमुख घटक नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले शक्ति बाँडफाँडमा लिखित सहमती मागेपछि शाह अप्ठ्यारोमा परेका छन् । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमती नभएको अवस्थामा विश्वासको मत नसकिने निर्णय नै गरेको छ ।