नेविसंघको राजनीतिबाट उदाएका शेरबहादुर देउवा अहिले नेपाली कांग्रेसका सभापति छन् । दुई महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माको राजनीतिको जग पनि त्यही हो । अधिकांश पार्टी पदाधिकारी पनि त्यही पृष्ठभूमिका छन् । तर,नेपाली कांग्रेसको राजनीतिको यो नर्सरी इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको नर्सरी संगठनको रूपमा रहेको नेपाल विद्यार्थी संघ पार्टी नेता उत्पादन गर्ने ‘कारखाना’ का रूपमा परिचित छ । तर, नेविसंघ अहिले नर्सरी न कारखानाको अवस्थामा छ । पार्टी गुटले चरम समस्यामा फसेको नेविसंघका लागि देखाउने गर्विलो इतिहास छ । तर, विद्यार्थी तथा युवालाई देखाउने सुनौलो योजना छैन । नेविसंघ गन्तव्य र उद्देश्यविहीन देखिन्छ ।
माउ पार्टी नेपाली कांग्रेसले प्रमुख भ्रातृ संस्था माथि हस्तक्षेप बढाउँदा संघको भविष्य नै अन्योलग्रस्त देखिएको छ । कुनै बेला पञ्चायती व्यवस्थालाई सडकबाट चुनौती दिने सामथ्र्य राख्ने नेविसंघ अहिले आफ्नै पार्टी नेतृत्वसँग लम्पसार छ । यतिसम्म कि ऊ आफ्नो खुट्टामा उभिएर महाधिवेशन समेत गराउन सक्ने अवस्थामा छैन । पार्टीले महाधिवेशनका लागि सहजीकरण गरिदिएहुन्थ्यो भनेर माउ पार्टीको मुख ताकेर बस्छ ।
टिके प्रथा विकृतिको स्रोत
नेविसंघको नेतृत्व चयनका लागि अपनाइएको विधिले पार्टी आलोचित हुँदै आएको छ । प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व छनोट गर्ने लोकतान्त्रिक परम्परा कुल्चिएर टिके मनोनीत बाटो समाउँदा नेतृत्वलाई त आफ्नो मान्छो छनोट गर्न सजिलो भएको छ तर नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्थामा विकृति चरम मौलाएको छ ।
नेपाल विद्यार्थी संघका हालसम्म २० अध्यक्ष छन् । तीमध्ये महाधिवेशनबाट चुनिएका ११ जना छन् । नेविसंघको ५२ वर्षे इतिहासमा ११ वटा मात्रै महाधिवेशन भएका छन् । नियमित महाधिवेशन भएको भए २७औं अध्यक्ष महाधिवेशन मार्फत चुनिएको हुने अवस्था हुन्थ्यो । पूर्व सभापति सुशील कोइरालाको समयदेखि नेविसंघमा तदर्थवाद हाबी भएको संस्थापक अध्यक्ष विपिन कोइराला दाबी गर्छन् । ‘सुशीलले सुरु गरेको गलत कामलाई देउवाले पनि साथ दिए’, कोइराला भन्छन् ।
६ वैशाख २०२७ मा स्वयम्भूको सत्तलमा नेता कृष्णप्रसाद भट्टराईबाट उद्घाटित पहिलो महाधिवेशनबाट विपिन कोइराला संस्थापक अध्यक्ष बनेका थिए । मार्शलजुलुम शाक्यलाई पराजित गरेर उनी नेविसंघको पहिलो अध्यक्ष बनेका थिए ।
पञ्चायती व्यवस्था विरुद्ध सक्रिय भएको आरोपमा कोइरालालाई तत्कालीन सरकारले पक्राउ गर्यो । उनी जेलमा रहेको बेला २०२८ सालमा दोस्रो महाधिवेशन भयो । यो महाधिवेशनबाट नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा संघको दोस्रो सभापति बनेका थिए । तर महाधिवेशन भए पनि देउवा मनोनीत सभापति भएको संस्थापक अध्यक्ष कोइराला दाबी गर्छन् ।
दुईवर्षे कार्यकाल रहेको संघमा आठ वर्षपछि (२०३६ सालमा) मात्रै देउवाले पद छोडे । राजनीतिक व्यवस्थाका कारण समयमै तेस्रो महाधिवेशन गरी पद हस्तान्तरण गर्न नसकिएको देउवाको जिकिर थियो । ‘प्रतिकूल समयमा संगठन बनेको हो । अलि अलि धरपकड त हुन्थ्यो’ संस्थापक अध्यक्ष विपिन कोइराला भन्छन्, ‘म जेल बसेरै दोस्रो महाधिवेशन गराएको हुँ । खास कुरा देउवाले महाधिवेशन गराउन चाहनुभएन ।
२०३६ सालमा भएको तेस्रो महाधिवेशनबाट विमलेन्द्र निधि अध्यक्ष चुनिए । यो महाधिवेशनमा पनि निर्वाचन भएन । कांग्रेस संस्थापक नेता बीपी कोइरालाले उनलाई सभापति मनोनीत गरे । विधिवत् ‘टिके प्रथा’ यसै महाधिवेशनबाट सुरु भयो । महेन्द्र नारायण निधिको छोरा हुनु र मधेशको ‘सेन्टिमेन्ट क्याच’ गर्न बीपीले निधिलाई अध्यक्ष तोकेको विश्लेषण कांग्रेसमा हुने गरेको छ ।
२०३९ सालमा चौथो सभापति बनेका ज्ञानेन्द्र बहादुर कार्की, २०४० सालमा पाँचौं सभापति बनेका बलबहादुर केसी र २०४४ मा छैटौं सभापति बनेका बालकृष्ण खाँण तीनैजना मनोनीत अध्यक्ष हुन् । दुईवर्षे पदावधि हुने संघमा पञ्चायतकाल ३० वर्षमा मात्रै ३ वटा महाधिवेशन भएका थिए । नेतृत्व हस्तान्तरण गर्ने क्रममा विना महाधिवेशन जिम्मेवारी सुम्पिएको थियो ।
बहुदलीय व्यवस्था पुनर्बहालीपछि २०४८ असोजमा भएको सातौं महाधिवेशनबाट एनपी साउद अध्यक्ष बने । व्यवस्था परिवर्तन भएर खुला राजनीतिको वातावरण हुँदा समेत आठौं र नवौं अध्यक्ष मनोनीत नै भए । २०५२ सालमा अध्यक्ष बनेका धनराज गुरुङ र २०५३ सालमा नवौं अध्यक्ष बनेका गोविन्द भट्टराई मनोनीत अध्यक्ष हुन् ।
हाल पार्टी महामन्त्री रहेका विश्वप्रकाश शर्मा २०५७ सालमा निर्वाचित अध्यक्ष भए । २०५९ सालमा अध्यक्ष बनेका गुरुराज घिमिरे पनि निर्वाचित ११औं सभापति हुन् । त्यसै समय पार्टी विभाजन पछि कांग्रेस (प्रजातान्त्रिक) तर्फको संघको अध्यक्ष किशोरसिंह राठोर बनेका थिए । पार्टी विभाजनपछि सभापति देउवाले उनलाई जिम्मेवारी दिएका थिए । २०६० सालमा अध्यक्ष बनेका केशव सिंह र २०६२ मा नेविसंघको नेतृत्व सम्हालेका महेन्द्र शर्मा पनि मनोनीत अध्यक्ष हुन् ।
१५औं अध्यक्ष बनेका प्रदीप पौडेल २०६४ सालमा निर्वाचन मार्फत चुनिएका थिए । संघका १६औं अध्यक्ष कल्याण गुरुङ र १७औं अध्यक्ष रञ्जित कर्ण मनोनीत हुन् । गुरुङ कांग्रेस प्रजातान्त्रिक निकटको विद्यार्थी संगठनबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक बीच पार्टी एकीकरण हुँदा विद्यार्थी संगठनको नेतृत्व मूल धारको कांग्रेस (गिरिजा पक्ष) को भागमा पर्यो ।
२०६४ मा भएको महाधिवेशनपछि एकै चोटि २०७३ सालमा महाधिवेशन भएर अध्यक्षमा नैनसिंह महर चुनिए । उनी संघको १८औं अध्यक्ष हुन् । त्यसपछि बनेका राजीव ढुङ्गाना र दुजाङ शेर्पा (हाल अध्यक्ष) दुवै मनोनीत हुन् । १३औं महाधिवेशनपछि तदर्थ समिति बनाउने र मनोनीत गर्ने कार्यमा थप वृद्धि भएको संघका पूर्व अध्यक्ष घिमिरे बताउँछन् ।
यसरी महाधिवेशन गर्ने जिम्मेवारी पाएर तदर्थ समितिको अध्यक्ष हुनेहरूमा ज्ञानेन्द्रबहादुर कार्की, धनराज गुरुङ, किशोरसिंह राठोर, केशव सिंह, महेन्द्र शर्मा, रञ्जित कर्ण, राजीव ढुङ्गाना र दुजाङ शेर्पा हुन् ।
मनोनीत नेतृत्व र गुटगत राजनीति
नेविसंघको सह-महामन्त्री पदमा पुगेर पनि सक्रिय राजनीतिमा रहिनन् सिर्जना अधिकारी । नेविसंघमा उनको क्षमताको खुलेर प्रशंसा हुने संघका पूर्व नेताहरू सम्झन्छन् । चितवनकी अधिकारी संघसंस्थामा आवद्ध रहे पनि कांग्रेसको राजनीतिमा छैनन् । महेन्द्र शर्मा संघको अध्यक्ष हुँदा उनी नेविसंघको सहमहामन्त्री थिइन् । संगठन निर्माण र अध्ययन दुवै क्षेत्रमा उनी अब्बल रहेको उनको कार्यकालका नेताहरू स्मरण गर्छन्
राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाएर पञ्चायती व्यवस्था लागू गरेपछि बहुदलीय व्यवस्थाको आन्दोलनमा सक्रिय बनाउन कांग्रेसले गठन गरेको भ्रातृ संस्था हो, नेविसंघ । नेताहरू जेल तथा निर्वासनमा भएको समय आन्दोलनलाई ऊर्जा र निरन्तरता दिन नेविसंघको महत्वपूर्ण भूमिका थियो ।
जनकपुर अञ्चलका ६ जिल्लाबाट काठमाडौं आएर अध्ययनरत विद्यार्थीले २०१९ सालमा ‘गौरीशंकर छात्र समिति’गठन गरेका थिए । जनकपुर अञ्चलका विद्यार्थीले गठन गरेको छात्र समितिको अनुसरण अन्य अञ्चलबाट आएका विद्यार्थीले पनि गरे ।
प्रजातन्त्रवादी विद्यार्थीको संगठनको आवश्यकता रहेको सुवर्णशमशेरले पार्टीमा सुनाए । उनकै परामर्श बमोजिम कांग्रेस निकटका विद्यार्थी एकत्रित हुन पुगेको नेविसंघका संस्थापक अध्यक्ष कोइराला स्मरण गर्छन् । त्यसबेला पार्टी प्रतिबन्धित हुँदा व्यवस्था परिवर्तनका लागि हुने आन्दोलन प्रभावकारी नहुने विश्लेषणसहित सशक्त संगठनको परिकल्पना गरिएको थियो ।
हुन पनि बहुदलीय व्यवस्था पुनर्बहाली तथा गणतन्त्र स्थापनामा नेविसंघले उल्लेखनीय भूमिका निर्वाह गर्यो । जनमत संग्रह विद्यार्थी आन्दोलनबाट नै सम्भव भएको संघका पूर्व अध्यक्ष गुरुराज घिमिरे दाबी गर्छन् ।
‘जनमत संग्रह पार्टीहरूका कारणले भएकै होइन, विद्यार्थी संगठनका कारण सम्भव भएको हो’ पूर्व अध्यक्ष घिमिरे भन्छन्, ‘पाकिस्तानी दूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले लाठी चार्ज गर्दा विद्यार्थी आन्दोलन चर्किएको थियो । त्यसपछि जनमत संग्रह गर्न शासकहरू तयार भएका हुन् ।’
व्यवस्था परिवर्तनका लागि विद्यार्थी राजनीतिबाट उदाएका शेरबहादुर देउवा अहिले कांग्रेसको पार्टी सभापति छन् । दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको राजनीतिको जग पनि नेविसंघ नै हो । पदाधिकारीमा रहेका अनुहारमध्ये अधिकांशको पृष्ठभूमि नेविसंघ हो । तर, यति महत्वपूर्ण स्रोत नेविसंघ इतिहासकै कमजोर भ्रातृ संस्था बनेको छ ।
११औं महाधिवेशन गरेको नेविसंघमा त्यसपछि दुई अध्यक्षले तदर्थ समितिको नेतृत्व गरे । तर अहिलेसम्म महाधिवेशनको सुरसार नै छैन । पछिल्लो समय त कार्यसमितिले पूर्णता पाउन सकेको समेत छैन ।
२०७३ सालमा अध्यक्षमा निर्वाचित भएका नैनसिंह महरले २०७५ माघमा राजीनामा दिएका थिए । समयमा महाधिवेशन गराउन नसकेको भनेर पार्टीले उनको राजीनामा मागेको थियो । ‘यो त्यो भन्दिनँ मैले राजीनामा दिनुपर्छ भनेर त्यसबेला सबै लागेका हुन्’, महरले भने । तर, उनले राजीनामा दिएको एक वर्षसम्म संगठन नेतृत्वविहीन भयो ।
एक वर्षपछि बनाइएको तदर्थ समितिको नेतृत्वमा राजीव ढुङ्गाना आए । पदाधिकारीले समेत पूर्णता नपाएको उक्त समितिले दुई वर्षसम्म अधिवेशन गराउन सकेन । कोरोना महामारी बहाना बन्यो । यसै बीचमा ढुङ्गाना पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए ।
२०७८ चैतमा आएर सभापति देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा मनोनीत गरे । हालसम्म यो तदर्थ समितिमा अध्यक्ष मात्रै छन् । माघको मध्यतिर संघले पूर्णता पाउने नेताहरूले दाबी गरे पनि यो कार्यान्वयन हुन सकेन । विधानतः १०१ सदस्यीय कार्यसमिति हुने भनिए पनि पार्टीभित्रका फरक-फरक समूहलाई भाग पुर्याउन तदर्थ समिति ठूलो आकारको बन्ने सम्भावना छ । आ-आफ्नो समूहले नाम संकलन गरे पनि तदर्थ समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिक आइसक्दा पनि तदर्थ समितिले पूर्णता नपाउँदा नेविसंघ अन्योलमा देखिन्छ । तथापि, आफूहरू स्ववियु निर्वाचनको तयारीमा लागेको नेविसंघका अध्यक्ष शेर्पा बताउँछन् ।
नेकपा एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनको नजिकै पनि निर्वाचनमार्फत नेतृत्व चयन गर्यो । प्रतिस्पर्धी दलको राजनीतिबाट समेत सिक्ने चेत नहुँदा संघका कार्यकर्तामा मूल नेतृत्वप्रति चर्को असन्तुष्टि छ । हुन पनि प्रतिस्पर्धी संगठनले स्ववियु निर्वाचनको मुखमा चुनाव गराएर नयाँ नेतृत्व चयन गर्दा कांग्रेसले मनोनीत समेत गर्न सकेको छैन ।
नेविसंघ बेथितिपूर्ण रूपमा सञ्चालनमा रहेको सदस्यताको वितरण तथा नवीकरणको अवस्थाले बताउँछ । नेविसंघमा आवद्ध विद्यार्थीको यकिन अभिलेख संघको केन्द्रीय कार्यालयमा छैन । नेविसंघका कार्यालय सचिव विजय खड्का नवीकरण र नयाँ सदस्यको यकिन विवरण नभएको स्वीकार गर्छन् । आसन्न स्ववियु निर्वाचनलाई ध्यानमा राखेर काठमाडौं र बाहिर सदस्यता वितरण जारी रहेको उनले बताए ।
२०६० सालतिर करिब पाँच लाख विद्यार्थी नेविसंघमा आवद्ध रहेको पूर्व अध्यक्ष घिमिरे दाबी गर्छन् । घिमिरेका अनुसार कतिपय अध्यक्षले सदस्यताको रसिद समेत छपाएनन् । उनका भनाइमा, ‘नेविसंघ नै अस्तव्यस्त भएकाले संघको कार्यालय व्यवस्थित हुने सम्भावना नै रहेन ।’
पार्टीको संस्थापन पक्षबाट अध्यक्ष बनेका शेर्पाले एकलौटी निर्णय गरेको भन्दै शेखर-गगन पक्षका विद्यार्थी नेताले समानान्तर गतिविधि गरिरहेका छन् । संघका अध्यक्ष शेर्पाले त्यसले मान्यता नपाउने बताइसकेका छन् । तर, जिल्ला र क्याम्पसमा आफू निकटलाई अध्यक्षले आफूखुसी संयोजक तोकेका कारणले बाध्य भएर समानान्तर गतिविधि गरेको शेखर-गगन पक्षकी विद्यार्थी नेता प्रेमिका रानामगर बताउँछिन् ।
हुँदाहुँदा पछिल्ला दिनमा नेविसंघ आफैं संचालन हुने स्वतन्त्र संगठन हो भन्ने नै लाग्दैन । विधान नै पार्टीले बनाइदिने गरेको छ । पार्टी सभापतिले आफूप्रति वफादारलाई मनोनीत गर्ने परम्पराले यो ऐतिहासिक संस्थामा क्षयीकरण भएको पूर्व अध्यक्ष घिमिरे बताउँछन् ।
‘संस्थागत निर्णय छोडेर नेताले आफू निकटलाई मनोनीत गर्ने र मनोनीत भएको व्यक्ति पनि मनोनीत गर्ने नेताप्रति वफादार हुने प्रवृत्ति झांगियो’, घिमिरे भन्छन् । यसमा संस्थापक अध्यक्ष कोइराला पनि सहमत छन् । उनी भन्छन्, ‘मनोनीत नेतृत्व खोज्ने परम्पराले पार्टीभित्र स्थायी गुट बनाउन मलजल गरिरहेको छ ।’
जो हिजो सक्रिय थिए, आज विरक्तिए
नेपाल विद्यार्थी संघमा कुनै बेला क्रियाशील हुँदा सम्भावना बोकेका भनिएका कतिपय व्यक्ति अहिले सक्रिय राजनीति छोडेर बसेका छन् । कांग्रेसप्रति आस्थावान भए पनि उनीहरूले माउ पार्टीको राजनीतिमा चासो दिएनन् । यीमध्ये कतिपय विदेश पुगेका छन् भने केही नेपालमै भए पनि पार्टी राजनीतिमा छैनन् । नेविसंघको राजनीति गर्दागर्दै विदेश पुगेका कतिपय भने कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समितिमा आबद्ध छन् ।
स्ववियुको नेतृत्वमा पुगेसँगै कतिपय विद्यार्थी नेताहरू अनियमिततामा संलग्न भएको विषय उठ्दै आएको छ । विद्यार्थी नेतालाई भ्रष्टाचार गर्न मूलतः काठमाडौंका क्याम्पसले सिकाएको पूर्व विद्यार्थी नेता घिमिरेको भनाइ छ नेविसंघको स्थापनाकालमा सक्रिय देवेन्द्रराज नेपाली एक उदाहरण हुन् । जो कांग्रेस राजनीतिमा टिक्न सकेनन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलका समकालीन उनी नेविसंघको स्थापनाकालमा प्रमुखमध्ये एक भएको संस्थापक अध्यक्ष कोइराला स्मरण गर्छन् । वीरगञ्ज निवासी उनको परिवारका सदस्य भने अहिले पनि कांग्रेस राजनीतिमा क्रियाशील छन् ।
नेविसंघ स्थापनाकालका सक्रिय डा. टीका पोखरेल कांग्रेस राजनीतिमा आएनन् । नेविसंघको पहिलो कार्यसमितिमा पोखरेल महामन्त्री थिए । नेविसंघको संस्थापक महामन्त्री पोखरेल सामाजिक संघसंस्थातिर लागे । २०४१ सालमा त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका जनकपुरका युवराज खाती पनि कांग्रेस राजनीतिमा सक्रिय भएनन् ।
२०४८ सालमा नेविसंघको महामन्त्री बनेका भक्ति सिटौलाले कांग्रेस परित्याग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका उनी हाल प्रदेश-१ को मन्त्री छन् । झापाका सिटौला कांग्रेस केन्द्रीय सदस्य एनपी साउद नेविसंघको अध्यक्ष हुँदा (२०४८ सालमा) महामन्त्री थिए ।
२०५९ सालमा गुरुराज घिमिरेसँग नेविसंघको अध्यक्षमा पराजित यादव पण्डित अहिले अमेरिकामा छन् । त्यसअघि विश्वप्रकाश शर्मा नेविसंघको अध्यक्ष हुँदा उनी महामन्त्री थिए । अध्ययन गर्न अमेरिका पुगेका पण्डितले परमाणु विज्ञानमा विद्यावारिधि गरेका छन् ।
उनले प्युठानबाट नेविसंघको राजनीति सुरु गरी संघको केन्द्रीय राजनीतिमा महामन्त्रीसम्म भएका थिए । सबैजसो विद्यार्थी नेता पार्टी राजनीतिमा आफ्नो ठाउँ बनाउन लागेको तर शैक्षिक क्षेत्र सुधारमा भूमिका निर्वाह गर्न नसकेको पण्डित बताउँछन् । उनले भने, ‘सक्रिय राजनीति छोडेर शैक्षिक क्षेत्रमा गरेको प्रगतिबाट म खुसी छु ।’
विद्यार्थी राजनीतिमा देखिएको सक्रियता र क्षमताबाट माउ पार्टीमा समेत स्थान बनाउन सक्ने आशा राखिएका नृप विष्ट विदेशिए । अछामका विष्ट नेविसंघको नेपालगञ्ज महाधिवेशनमा अध्यक्षमा कल्याण गुरुङसँग पराजित भएका थिए । त्यसअघि उनी उपाध्यक्ष पदमा थिए ।
यस्तै महिलाबाट कांग्रेस राजनीतिमा सम्भावना बोकेकी उर्मिला पञ्जियार पनि अमेरिका पुगिन् । विद्यार्थी राजनीतिमा सक्रिय उनी स्ववियु सभापति समेत बनेकी थिइन् । पद्मकन्या क्याम्पसको स्ववियु सभापति टीका चौधरी पार्टी राजनीतिमा अट्न सकिनन् । केन्द्रीय सदस्य कल्याण गुरुङसँग वैवाहिक जीवन सुरु गरेकी उनी पहिलो संविधानसभामा कैलालीमा प्रत्यक्षतर्फको उम्मेदवार बनेकी थिइन् । हाल उनी अमेरिकामा छिन् ।
नेविसंघको सह-महामन्त्री पदमा पुगेर पनि सक्रिय राजनीतिमा रहिनन् सिर्जना अधिकारी । नेविसंघमा उनको क्षमताको खुलेर प्रशंसा हुने संघका पूर्व नेताहरू सम्झन्छन् । चितवनकी अधिकारी संघसंस्थामा आवद्ध रहे पनि कांग्रेसको राजनीतिमा छैनन् । महेन्द्र शर्मा संघको अध्यक्ष हुँदा उनी नेविसंघको सहमहामन्त्री थिइन् । संगठन निर्माण र अध्ययन दुवै क्षेत्रमा उनी अब्बल रहेको उनको कार्यकालका नेताहरू स्मरण गर्छन् ।
त्रिविमा नेविसंघको नेतृत्व गरेका प्रदीप शर्मा, लोकराज भट्ट कांग्रेस राजनीतिमा सक्रिय छैनन् । पार्टीले उनीहरूलाई स्पेस दिएन । अघिल्लो स्थानीय निर्वाचनमा डडेल्धुरामा बागी उम्मेदवारी दिएपछि भट्टलाई पार्टीले अनुशासनको कारबाही गरेको थियो ।
पूर्वअध्यक्ष घिमिरेको कार्यकालका उपाध्यक्ष राजु थापा सञ्चार क्षेत्रमा छन् । एक समय नेविसंघको राजनीतिमा राम्रै स्थान बनाएका भीम भण्डारी, पूर्ण तिमिल्सिना, कृष्ण गिरी विदेशिएका छन् । नेविसंघको राजनीति बीचमै छोडेर विदेशिनेको संख्या उल्लेख्य छ । युरोप, अमेरिका, अष्ट्रेलिया लगायत देशमा यस्ता थुप्रै व्यक्ति छन् । पार्टीभित्रको षड्यन्त्र र आफ्नो स्वाभिमान जोगाउने मान्यताले संघको राजनीति छोड्नेहरूको संख्या उल्लेख्य रहेको पूर्व अध्यक्ष घिमिरे बताउँछन् ।
समय-समयमा कांग्रेसका नेता कार्यकर्तालाई प्रशिक्षण गराउने, पार्टीका नीति र कार्यक्रम बताउने जिम्मेवारी नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको हुन्छ । अहिले उपसभापति पूर्णबहादुर खड्का उक्त प्रतिष्ठानको प्रमुख छन् । तर, उनी नेतृत्वको प्रतिष्ठानले पनि पूर्णता पाउन सकेको छैन । भर्खरै मात्र स्ववियु निर्वाचनलाई लिएर प्रशिक्षणका गतिविधि सुरु भएका छन् । स्ववियु निर्वाचन केन्द्रित प्रशिक्षण समितिको संयोजकमा एलिजा ढकाल मनोनीत भएकी छिन् ।
‘भ्रष्टाचार गर्न सिक्ने ठाउँ’
विद्यार्थीको ज्ञान, सीप बढाउने शैक्षिक मुद्दामा संघको कुनै तदारुकता देखिन्न । शिक्षा क्षेत्रको गुणस्तर बहस-विमर्श गर्न चुकिरहेको नेविसंघले विश्वविद्यालयका पदाधिकारीमा भने भाग खोज्न आन्दोलन गर्ने गरेको देखिएको छ ।
सामुदायिक विद्यालयको खस्किंदो शिक्षाका सम्बन्धमा नेविसंघले आवाज उठाएको सुनिएको छैन । सामुदायिक विद्यालयमा विद्यार्थी घट्न नदिने विषयमा हुने बहस छलफलमा कहींकतै नेविसंघ देखिंदैन । विद्यार्थीको अभावमा सामुदायिक विद्यालय बन्द हुने क्रम बढ्दो छ । निजी विद्यालयमा रहेका विद्यार्थीसम्म नेविसंघ कसरी पुग्ने भन्नेमा नेतृत्वलाई कुनै चासो देखिएको छैन । विगतमा देशको ध्यान तान्ने गरी संयुक्त विद्यार्थी आन्दोलन भएको उदाहरण छ । तर अरू विद्यार्थी संगठनसँग मिलेर संयुक्त रूपमा भएका विद्यार्थी आन्दोलनका कारणले शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भने नभएको संघका पूर्व अध्यक्ष महर बताउँछन् ।
स्ववियुको नेतृत्वमा पुगेसँगै कतिपय विद्यार्थी नेताहरू अनियमिततामा संलग्न भएको विषय उठ्दै आएको छ । विद्यार्थी नेतालाई भ्रष्टाचार गर्न मूलतः काठमाडौंका क्याम्पसले सिकाएको पूर्व विद्यार्थी नेता घिमिरेको भनाइ छ ।
‘बाहिरबाट आएका कतिपय विद्यार्थीले काठमाडौंका क्याम्पसमा भर्ना नपाउने हुँदा विद्यार्थी नेताहरूको सहयोग खोजे । भर्ना पाउनकै लागि हजार/पन्ध्रसय थप तिर्न मञ्जुर भए । त्यो पैसामा विद्यार्थी नेताहरू पल्किए’ घिमिरे भन्छन्, ‘स्ववियुमार्फत विद्यार्थी नेताले भ्रष्टाचार गर्न सिकेका कारण पनि संगठनहरू कमजोर हुँदै गए ।
“नेतृत्व चेतना भएको होइन, कठपुतली नेविसंघ चाहन्छ”
आज नेविसंघ पार्टीका नेताको रुचि अनुसार चलेको छ । नेतृत्व चेतना भएको हैन, कठपुतली नेविसंघ चाहन्छ । हरेक स-सानो विषयमा पार्टीको हस्तक्षेपले नेविसंघको प्राकृतिक स्वभावमा ह्रास आएको छ, स्वायत्तता खोसिएको छ ।
नेपाल विद्यार्थी संघलाई नेपाली कांग्रेसको भ्रातृ संगठनको रूपमा मात्रै हेर्नु अपूर्ण हुन्छ । नेविसंघ नेपाली कांग्रेसको नर्सरी मात्रै हैन, नेतृत्वको विकासको अभ्यास गर्ने थलो पनि हो । नेविसंघ पार्टी नेतृत्व निर्माणको जग हो ।
कांग्रेसको नेता उत्पादनको जगका रूपमा रहेको नेविसंघको कलम मसाल अङ्कति झण्डा मुनि रहेर संगठन गर्दा गौरवानुभूति हुन्छ । तर, आज नेपाली कांग्रेसको नर्सरी बिरुवाविहीन भएको छ । आज विद्यार्थी राजनीति गरिरहेको एउटा विद्यार्थीलाई किन राजनीतिमा छु भन्ने लाग्छ ।
आजको नेविसंघ समस्याग्रस्त छ । समयमा महाधिवेशन नहँुदा नेतृत्व विकास ठप्पप्रायः छ । नेतृत्व परिवर्तन नहुनु र पार्टीका नेताहरूको अनावश्यक हस्तक्षेपले ‘नेता उत्पादन गर्ने कारखाना’ भनिने यो संस्था गतिहीन बन्न पुगेको छ । ओज खस्किंदो छ र संरचना कमजोर हुँदै गइरहेकोे छ ।
विद्यार्थी संगठन र विद्यार्थी राजनीति भन्ने बित्तिकै आम मानिसमा ढुंगामुढा, तोडफोड गरिरहेको तस्वीर आउँछ । त्यसैले हामीले आम मानिसको आँखामा बसेको यो तस्वीर बदल्नुपर्छ । बदलिंदो समय अनुसार नागरिकको बुझाइमा परिवर्तन गराउने जिम्मेवारी अहिलेको पुस्ताले लिनुपर्छ ।
स्थापनाकालदेखि आजसम्म नेविसंघको तस्वीर हेर्ने हो भने त्यसमा तुलनात्मक रूपमा निकै भिन्नता देख्न सकिन्छ । नेविसंघले आफ्नो क्रान्तिकारिता नै गुमाएको छ भन्दा पनि अन्यथा हुँदैन । संस्थामा गतिशीलता पटक्कै देखिन्न ।
२०२७ सालमा नेविसंघ स्थापना हुँदा देशले पञ्चायत भोगिरहेको थियो । दलका नेताहरू निर्वासित भएको कठिन अवस्थामा गठन भएको नेविसंघले व्यवस्था परिवर्तनमा उल्लेखनीय भूमिका खेल्यो । माउ पार्टी प्रतिबन्धित हुँदा दल सरह आफ्नो भूमिका निर्वाह गरेको इतिहास छ । त्यससमय संघको हैसियत पार्टीकै बराबर थियो ।
२०२७ सालपछिका हरेक राजनीतिक परिवर्तनमा, संघर्षमा नेविसंघ अग्रमोर्चामा रहृयो । परिवर्तनको लागि लड्यो । २०३५/३६ सालको जनमत संग्रह, २०४६ सालको लोकतन्त्र पुनस्र्थापना, २०६३ सालको गणतन्त्र प्राप्तिको संघर्षमा सडकमा नेविसंघले कतिपय बेला पार्टीकै नेतृत्व गरेको थियो भन्नु अनुपयुक्त हुन्न ।
हामी नेविसंघको राजनैतिक संघर्षको गाथा मात्रै सुन्छौं/भन्छौं । नेविसंघले चेतनाको बिगुल पनि फुकेको थियो । आज जस्तो हातहातमा मोबाइल नभएको विकास र प्रविधि नै नपुगेका देशका कुना-कन्दरामा नेपाली कांग्रेसले प्रजातन्त्रको चेतना विद्यार्थीमार्फत नै पुर्यायो ।
समय परिवर्तन भएसँगै विद्यार्थी राजनीति आवश्यक छैन, यसको काम सकियो भन्ने तर्कहरू पनि यदाकदा सुन्न पाइन्छ । विद्यार्थी संगठनको भूमिका कमजोर भएका कारण यी र यस्ता प्रश्न उठेका हुन् । भ्रातृ संगठन नेतृत्व विकासको निम्ति अपरिहार्य छ । विद्यार्थी राजनीतिको औचित्य सकिएको छैन । तर, औचित्य पुष्टि गर्न बोलेर मात्रै पुग्दैन ।
लामो समयदेखि नेविसंघमा आवद्ध छौं । संगठनलाई मजबुत बनाउन हरसम्भव प्रयास गरिरहेका छौं । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दलको भ्रातृ संगठनमा चुनावी प्रतिस्पर्धा गर्ने अधिकार समेत छैन । लोकतान्त्रिक दलको अलोकतान्त्रिक प्रक्रिया भोग्नुपर्दा आत्मग्लानि हुन्छ
नेविसंघलाई नेतृत्वमा अगाडि लैजाने बाटोमा पार्टीले सहजीकरण गर्नु भन्दा पनि हस्तक्षेपकारी भूमिका हुँदै आएको छ । सानो तहबाट माथि उठ्दै नेविसंघबाट पार्टीको राजनीतिमा उल्लेखनीय भूमिका निर्वाह गरेका नेताहरू मेरो पुस्ताले देख्न पायो । हामीले पनि केही हदसम्म नेतृत्व अभ्यास गर्न पाएकोले नेविसंघको महत्व कति छ भन्ने महसुस गर्न सकेका हौं । हामीले नयाँ पुस्तालाई इतिहास मात्रै घोकाएका छौं, नेविसंघ के हो देखाएर बुझाउन सकेका छैनौं ।
विद्यार्थी राजनीति चरमोत्कर्षमा रहेको समय मेरो पुस्तासम्मले देख्न पायो । विद्यार्थी राजनीतिको साख निरन्तर घटिरहेको छ । नेविसंघको काँधमा विद्यार्थी संगठनको साख जोगाउने जिम्मेवारी पनि छ । नेविसंघले कलम र मसाल झण्डामा मात्र बोक्दैन चरित्र र स्वभावमा पनि बोक्छ । चेतना र क्रान्तिकारिता नेविसंघको स्वभाव हो । नेविसंघ त यस्तो संगठन हो, जसले गलत काम गरेको खण्डमा पार्टीको विरुद्ध पनि मसाल उठाएको इतिहास सुनेर हामी हुर्कियौं ।
तर, विडम्बनै भन्नुपर्छ आज नेविसंघ पार्टीका नेताको रुचि अनुसार सञ्चालित छ । पार्टी नेतृत्व चेतना भएको नेविसंघ हैन, कठपुतली संघ चाहन्छ । पार्टीका नेताहरूको नेविसंघभित्रका हरेक सानो विषयमा हस्तक्षेपले नेविसंघको प्राकृतिक स्वभावमा ह्रास आएको छ । मेरो पुस्ताले देख्दा नै नेविसंघको स्वायत्तता खोसिएको छ ।
नेविसंघ आफ्नो मनोभावमा, निर्णयका आधारमा हैन पार्टीका नेताहरूको निर्देशनमा चल्छ । महाधिवेशन समयमा नहुनु र भागबण्डामा संगठन चल्नुको दुष्परिणामले नेविसंघको चरित्र बदलिएको छ । भागबण्डामा संगठन चल्ने बित्तिकै नेताको नजिक हुनुपर्ने बाध्यता हुन्छ । नेताको विरुद्ध बोल्ने बित्तिकै केही बन्न नसकिने भय संघमा आवद्ध नेता-कार्यकर्तामा छ ।
लामो समय संगठनमा लगानी गरेर केही नबनी बाहिरिन भन्दा नेताको नजिक रहेर पद पाउनुपर्ने बाध्यता नेविसंघका नेताहरूमा छ । पार्टीका नेताहरू यसमै रमाइरहेका छन् । दुःखको कुरा अझ यो छ कि आज पार्टी उहाँहरूले नै चलाइरहनुभएको छ, जो नेविसंघकै जगबाट यहाँसम्म आउनुभएको हो ।
नियमित समयमा महाधिवेशन नहुँदा ‘नेतृत्व विकास’ जाममा परेको छ । पाँच वर्षदेखि संघले महाधिवेशन गर्न सकेको छैन । मेरै सन्दर्भमा पनि पाँच वर्ष भूमिकाविहीन भएर बस्नुपर्यो । तर पनि, नेविसंघको गरिमा जोगाउन लागिरहें । मैले सदस्यता लिएको समयदेखि आजसम्म सँगसँगै संगठनमा प्रवेश गरेर भूमिकाविहीन बनेका साथीहरूमा निराशा छ ।
संगठन निर्माण तथा शैक्षिक मुद्दा उठाउन जिम्मेवारीले अर्थ राख्ने रहेछ । संगठन गतिहीन हुँदा वितृष्णा उत्पन्न भई बाटो परिवर्तन गर्ने साथीहरूको संख्या बढ्दो छ । तलब-भत्ता दिनुपर्ने होइन पदीय जिम्मेवारी देऊ भन्दा समेत पार्टी नेतृत्वले सुनेको नसुन्यै गरेको छ । कांग्रेसलाई बलियो बनाउन तथा शैक्षिक समस्यामाथि संगठित आवाज उठाउँछौं भनेर होमिएका साथीहरू, सबै जिम्मेवारीविहीन छन् ।
पार्टी नेतृत्वले लामो समयदेखि संगठन विस्तार गर्न पनि आफ्नै अंश काटेर दिनुपर्ने जस्तो गाह्रो मानिरहेको छ । धेरै कमि-कमजोरीहरूको भारी बोकेर हिंड्दा नेविसंघ कमजोर भएको छ । नेविसंघमा २०२७ सालदेखि २०७९ सालसम्म आइपुग्दा समेत आजसम्म नेविसंघले छात्रा सभापति पाउन सकेको छैन । राज्यले समावेशिताको मुद्दा सम्बोधन गरिरहँदा लोकतान्त्रिक दलले छात्राप्रतिको पुरानो नजरलाई परिवर्तन गर्न सकेको छैन । छात्राहरूले पनि नेतृत्व गर्न सक्छन् भन्ने कुरा हाम्रो नेतृत्वले पत्याएकै छैन ।
चेतनाले भरिएको यति ठूलो संगठनमा छात्राहरूको प्रतिनिधित्व सीमित संख्यामा हुँदै आएको छ । तदर्थ समिति गठन नहुँदा त्यही सीमित संख्याले समेत प्रतिनिधित्व गर्न नपाउने अवस्था छ । चुनावबाट निर्वाचित भई नेतृत्वमा स्थान बनाउन प्रयत्न गर्नलाई महाधिवेशन नै हुँदैन । तदर्थ समितिको नेतृत्व प्रदान गर्न पार्टी नेतृत्वले छात्रालाई पत्याउँदैन ।
लामो समयदेखि नेविसंघमा आवद्ध छौं । संगठनलाई मजबुत बनाउन हरसम्भव प्रयास गरिरहेका छौं । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दलको भ्रातृ संगठनमा चुनावी प्रतिस्पर्धा गर्ने अधिकार समेत छैन । लोकतान्त्रिक दलको अलोकतान्त्रिक प्रक्रिया भोग्नुपर्दा आत्मग्लानि हुन्छ ।
(ढकाल स्ववियु निर्वाचनका लागि नेविसंघद्वारा गठित केन्द्रीय प्रशिक्षण समितिकी संयोजक हुन् ।
“दलले औजार बनाइराख्ने हो भने नेविसंघ भंग गरे हुन्छ”
नेतृत्व आफैं छनोट गर्न नसक्ने संगठनले विद्यार्थीको हकहित र शैक्षिक विकासमा योगदान गर्ने आशा कति गर्न सकिएला ? विश्वविद्यालयभित्र हुने नकारात्मक काम र गुण्डागर्दीमा कुनै न कुनै संगठन संलग्न हुनु विद्यार्थी आन्दोलनका लागि लज्जा हो ।
नेपाल विद्यार्थी संघमा क्रियाशील हुँदै पार्टी राजनीतिमा प्रवेश गर्नेहरूको संख्या नेपाली कांग्रेसमा उल्लेख्य छ । कांग्रेसको वर्तमान केन्द्रीय समितिमा पूर्व विद्यार्थी नेताहरूको बाहुल्य छ । विद्यार्थी राजनीतिबाट पार्टी केन्द्रमा पुग्ने, अवसर हुँदाहुँदै पनि व्यक्तिगत र पार्टीभित्रकै कारणले सक्रिय राजनीति छोड्ने साथीहरू पनि कांग्रेसमा उत्तिकै हुनुहुन्छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष र महामन्त्री मध्ये धेरै जना अहिले मूल नेतृत्वमा हुनुहुन्छ । विगतको स्मरण गर्दा सक्रिय राजनीतिमा क्रियाशील राखेको भए म पनि पदाधिकारीमा हैसियत बनाउने थिएँ कि भन्ने सोच यदाकदा आउँछ । २०५७ सालमा एउटै कार्यसमितिमा रहेर काम गरेको विश्वप्रकाश शर्मा हाल महामन्त्री हुनुहुन्छ । त्यस समय महामन्त्री रहेको म नेविसंघ हुँदै पार्टी राजनीतिलाई निरन्तरता दिएको भए उपल्लो तहमा पुग्ने थिएँ कि भनेर सोच्नु मनासिव पनि हो ।
अध्ययनको क्षेत्रलाई थप फराकिलो बनाउन म विदेशिएँ । तथापि, विगत सम्झेर पश्चाताप छैन । विद्यार्थीको हकहितका लागि राजनीति गर्दैगर्दा आफ्नो अध्ययनको दायरा पनि विस्तार गर्नुपर्छ भन्ने मान्यता ममा थियो । नेविसंघको महामन्त्री हुने समयमा नै त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्र एमएस्सीको अध्ययन पूरा गरिसकेको थिएँ । काठमाडौं विश्वविद्यालयबाट एमफिलको अध्ययन सकेको थिएँ ।
२०५९ सालमा नेविसंघकोे पदीय भूमिकाबाट बिदा हुनुपरेकाले मेरो सामु निर्णय छनोट गर्ने विकल्प दुई वटा मात्रै थिए । गृह जिल्ला प्युठान गएर कांग्रेस राजनीतिमा भूमिका खोज्ने वा नेपालभित्रै वा बाहिर भौतिकशास्त्र विषयमा अध्ययन वा अध्यापनको अवसर खोज्ने ।
तत्कालीन समयमा माओवादीद्वारा सञ्चालित सशस्त्र युद्धले प्युठानमा गएर राजनीति गर्ने अवस्था थिएन । कांग्रेसका केन्द्र र जिल्लास्तरीय अधिकांश नेता-कार्यकर्ता जिल्ला सदरमुकाम वा बाहिर कष्टकर जीवन बिताइरहेका थिए । कांग्रेसको राजनीति गर्न वातावरण प्रतिकूल थियो ।
नेविसंघको केन्द्रीय राजनीति गरेको मेरो लागि आफूले खोजे जस्तै जिम्मेवारी पद प्राप्त गर्ने अवस्था पनि थिएन । नेविसंघको अध्यक्षमा पराजित भएको ताजा अवस्था छँदैथियो । यद्यपि, जिल्लामा नेविसंघ र कांग्रेसको संगठन विस्तारमा महत्वपूर्ण काम गरेको हुनाले २०औं वर्षपछि पनि प्युठानले मलाई विद्यार्थी नेताका रूपमा सम्झना गरिरहन्छ भन्ने लाग्छ । किनकि नेविसंघको केन्द्रीय नेतृत्वमा प्युठानबाट स्थान बनाउने पहिलो विद्यार्थी नेता म थिएँ ।
त्यो बेला भौतिकशास्त्र विषयमा नेपालमा विद्यावारिधिको कार्यक्रम सुरु भएको थिएन । थप अध्ययन अघि बढाउन नेपालमा सम्भव नहुँदा कुनै क्याम्पसमा प्राध्यापन गर्नु एउटा विकल्प थियो । जिल्ला गएर राजनीति गर्ने र क्याम्पसमा प्राध्यापन गर्ने विकल्प छोडेर मैले विदेशिने निर्णय लिएँ । अमेरिकामा पीएचडी अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको थिएँ । यसरी अध्ययनका लागि म विदेशिएँ ।
एकजना विज्ञानको त्यो पनि भौतिकशास्त्रको विद्यार्थी भएकाले जहिले सामना गर्नुपरेको प्रश्न विद्यार्थी राजनीतिमा क्रियाशीलका विषयमा हो । विद्यार्थी राजनीतिमा क्रियाशीलताले मेरो अध्ययनमा परेको असरका बारेमा मैले विभिन्न प्रश्नको सामना गर्नु परिरहेको थियो । कक्षामा प्रथम हुने अधिकांश विद्यार्थी राजनीतिमा संलग्न छैनन् । कक्षामा प्रथम र विज्ञानको विद्यार्थी राजनीतिमा संलग्न हुने थोरैमा म परेकोमा खुशी नै लाग्दछ ।
विद्यार्थी राजनीतिलाई आकर्षक बनाउने काम पनि संगठनमा आवद्ध नेताहरूलेे गर्ने हो । हामीकहाँ विडम्बना छ, प्रायः सबैजसो विद्यार्थी नेता पार्टी राजनीतिमा आˆनो ठाउँ बनाउन लागिपरेको देखिएको छ । विद्यार्थी राजनीति सँगसँगै कति जनाले आˆनो शैक्षिक योग्यता विस्तार गरेका छन् भनी राखिएको जिज्ञासाले निराश बनाउँछ । विद्यार्थी राजनीतिमा सँगै काम गरेका साथीहरूमा कतिपयले प्रशासनिक, अनुसन्धान संस्था, शैक्षिक प्रतिष्ठान र विश्वविद्यालयको नेतृत्व गरिरहेको हुनुपर्ने हो । तर, त्यस्तो विरलै देख्न पाइएको छ ।
सन्देहको घेरामा विद्यार्थी राजनीति
आजको विद्यार्थी राजनीति सन्देह र प्रश्नहरूले घेरिएको छ । शैक्षिक क्षेत्रमा अनावश्यक राजनीति भित्रिएको छ । पार्टी राजनीति विश्वविद्यालय तथा क्याम्पसमा प्रवेश गर्दा शैक्षिकस्तरको गुणस्तर खस्किंदो छ । प्राज्ञिक क्षेत्रमा राजनीति हावी हुँदा त्यसको उपादेयतामाथि प्रश्न उठ्छ । अनुसन्धान गर्ने निकायले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन ।
सरकारी विश्वविद्यालयको वर्तमान अधोगतिको मुख्य कारण विद्यार्थी राजनीतिलाई जिम्मेवार ठानिएको छ । विद्यार्थी संघ-संगठन आˆनै संस्थाको नियमित संगठनात्मक गतिविधि आफैं गर्न नसक्ने वा नपाउने अवस्था निर्माण भएको छ । धेरै विद्यार्थी प्रतिनिधित्व गर्ने नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) सबैको अवस्था उस्तै छ । नियमित अधिवेशन गर्न असमर्थ छन्, उनीहरू पार्टी नेतृत्वले अध्यक्ष तोकिदिनुपर्ने अवस्थाबाट गुज्रिनु परेको छ ।
आफ्नो नेतृत्व आफैं छनोट गर्न नसक्ने संगठनले आम विद्यार्थीको हकहित र समग्र शैक्षिक विकासमा योगदान गर्ने आशा कति गर्न सकिएला ? विश्वविद्यालयभित्र हुने हरेक नकारात्मक काम र गुण्डागर्दीमा कतै न कतै कुनै न कुनै विद्यार्थी संगठन संलग्न हुनु विद्यार्थी आन्दोलनका लागि लज्जा हो ।
सिर्जनशील कार्यमा विद्यार्थी संघ-संगठनको बीचमा प्रतिस्पर्धा भएको सुन्न पाइँदैन । यस कारण विद्यार्थी राजनीतिको कार्यलाई पुनः परिभाषित गर्नु आवश्यक छ । राजनैतिक दलहरूको बल प्रयोग हुने औजारका रूपमा मात्रै रहने हुन् विद्यार्थी संघ-संगठन भने यो भंग गरे हुन्छ । राजनीतिक दललाई वैचारिक रूपले डोर्याउनेे, विश्वविद्यालयको शैक्षिक उन्नयनमा योगदान दिने र संगठनात्मक रूपमा स्वतन्त्र रहने विद्यार्थी संगठनले मात्रै आफ्नो औचित्य कायम राख्न सक्दछ ।
अमेरिकामा विद्यार्थी संघ/संगठन
अमेरिकाका अधिकांश विश्वविद्यालय र कलेजहरूमा नेपालमा हुने जस्तो ‘स्वतन्त्र विद्यार्थी युनियन’को जस्तो तामझामपूर्ण निर्वाचन हुँदैन । तर, विद्यार्थी संघ-संगठन भने क्रियाशील हुन्छन् । ‘स्टुडेन्ट गभर्मेन्ट’ को चुनाव हुन्छ । निर्वाचितहरूले विश्वविद्यालयका विभिन्न विभाग र नीतिगत तहमा प्रतिनिधित्व गर्दछन् । आर्थिक स्रोत र क्रियाशीलताका आधारमा कुनै कुनै विश्वविद्यालयमा अति शक्तिशाली ‘स्टुडेन्ट गभर्मेन्ट’हरू छन् ।
‘कलेज डेमोक्र्याट’ र ‘कलेज रिपब्लिकन’ नाममा डेमोक्र्याट र रिपब्लिकन पार्टी सम्बद्ध विद्यार्थी संगठन अधिकांश्ा विश्वविद्यालय र कलेजमा क्रियाशील छन् । तर ‘स्टुडेन्ट गभर्मेन्ट’ को चुनावमा विद्यार्थी संगठनबीचमा प्रतिस्पर्धा हुँदैन । व्यक्तिगत रूपमा चुनाव हुन्छ । राजनैतिक विचारधारा मात्रै होइन, अन्य भिन्न-भिन्न उद्देश्य र कार्यक्रम भएका धेरै विद्यार्थी संघ-संस्था पनि यहाँ क्रियाशील छन् । यी संघ-संस्थाको कार्यक्रममा विश्वविद्यालय प्रशासन सहयोगी हुन्छ । प्राध्यापकहरूले सल्लाहकारको रूपमा सहयोग गर्दछन् । अमेरिकामा विश्वविद्यालयभित्रका सबै संघ-संस्था आफैंमा स्वतन्त्र र स्वशासित छन् ।
नेपाली विद्यार्थी भएका अधिकांश कलेजमा ‘नेपाली विद्यार्थी संघ’ गठन भई क्रियाशील हुँदै आएका छन् । नेपाली विद्यार्थी संघ गठन हुनुको उद्देश्य नेपाली संस्कृति जगेर्नाका लागि हुने गरेको छ । सन् २००६ मा मेरो समेत सक्रियतामा केन्ट स्टेट युनिभर्सिटीमा ‘केन्ट नेप्लिज स्टुडेन्ट एशोसिएसन’ गठन गरिएको थियो । क्रियाशील संस्थाहरूमा निरन्तर सहयोगी र प्रभावकारी विद्यार्थी संस्थाका रूपमा यो सञ्चालित छ ।
परमाणु विज्ञानमा विद्यावारिधि गरेका पण्डित हाल अमेरिकामा प्राध्यापनरत छन् ।


