काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने भएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा आज ११ बजे पार्टी सचिवालयको बैठक बस्न लागेको जानकारी दिएका छन् ।
राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा नेकपा एमालेका नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए । आइतबार परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा जेनेभा जान रोक लगाइएपछि नेकपा एमाले सरकारबाट बाहिरिनुपर्ने आवाज पुनः उठेको छ ।
नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारमा रहने कि नरहने भन्ने विषयमा आजको बैठकमा छलफल हुनसक्ने बताइन् ।
नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने बताएका छन् ।
नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग हुनेछ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
नेकपा एमालेको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड”ले नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धन बनाएपछि नेकपा एमालेका नेताहरु उनीसँग रुष्ट बनेका छन । सोही आठ दलीय गठबन्धनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाएको हो । त्यसलगत्तै नेकपा एमालेमा सरकारबाट हट्ने कि नहट्ने भन्ने भइरहेको छ । राप्रपाले भने सरकारबाट बाहिरिंदै समर्थन पनि फिर्ता लिइसकेको अवस्था छ ।