Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवालाई प्रचण्डको प्रस्ताव : राष्ट्रपतिमा तपाईं वा सिटौला”देउवाले बोलाए शीर्ष नेताको बैठक”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १० २०७९
  • 7.8K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसका दुई जना नेतालाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको खुलेको छ । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा वा कृष्णप्रसाद सिटौला मध्ये एकलाई राष्ट्रपतिमा अगाडि सार्न प्रस्ताव गरेका हुन् ।

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरिरहँदा प्रचण्डको यो प्रस्ताव आएको हो । देउवाकाे सचिवालयका अनुसार गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने संस्थापन पक्षमा सहमति भएको थियो । सोही सहमति अनुसार संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसेका थिए । पौडेलसँगै कांग्रेसमा नेता सिटौला, गोपलमान श्रेष्ठ, मानबहादुर विक पनि राष्ट्रपतिको उम्मेदवारका लागि लबिङमा छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का मार्फत देउवा वा सिटौला उम्मेदवार बन्नुपर्ने प्रस्ताव गरेको नेकपा माओवादी केन्द्रका एक पदाधिकारीले बताएका छन् । नेपाली कांग्रेस स्रोतका अनुसार मंगलबार साँझ खड्का प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्डको प्रस्ताव लिएर खड्का बुधबार बिहान देउवा निवास धुम्बाराही पुगेका हुन् ।

लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा)का नेताले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दै देउवा निवास पुग्दा खड्का पनि त्यही थिए । लोसपाका नेताहरूसँगको भेटवार्ताअघि प्रचण्डको प्रस्तावमाथि देउवा र खड्काबीच छलफल भएको थियो ।

नेकपा माओवादी केन्द्र स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले नेपाली कांग्रेसबाट देउवा र सिटौला मध्ये एक जना राष्ट्रपतिको उम्मेदवार हुनुपर्ने प्रस्ताव पठाउनु भएको छ । देउवा वा सिटौला कसलाई अगाडि सार्नुहुन्छ उहाँहरूको कुरा हो । देउवा र सिटौलामध्ये एक जना हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको स्पष्ट लाइन रहेको ती नेताले जन प्रहारलाई बताएका छन् । 

देउवा राष्ट्रपति बन्दा नेकपा माओवादी केन्द्रलाई सरकारको नेतृत्व पाँचै वर्ष गर्ने परिस्थिति बन्ने प्रधानमन्त्री प्रचण्डको बुझाइ छ । देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न कांग्रेसभित्र पनि दबाब छ । उपसभापति खड्का, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायतले पनि देउवालाई राष्ट्रपति बन्न सुझाव दिइरहेको अवस्था छ । 

देउवालाई राष्ट्रपति बन्न प्रस्ताव गरेको महामन्त्री शर्माले सार्वजनिक रूपमा बताएका थिए । आफूले देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गर्दा अस्वीकार गरेको शर्माको भनाइ थियो । देउवा तयार नभए रामचन्द्र पौडेलभन्दा सिटौला राष्ट्रपतिमा उपयुक्त हुने नेकपा माओवादी केन्द्रका नेताहरूको बुझाइ छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसभित्रबाट आफ्नो अनुकूलको विश्वासपात्रका रूपमा सिटौलालाई राष्ट्रपति बनाउन खोजेको देखिन्छ । गत शुक्रबार साँझ सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रपतिमा सद्भाव खोजेका थिए । प्रचण्डले सिटौलालाई सकारात्मक जवाफ दिएका थिए । तर नेपाली कांग्रेसभित्र राष्ट्रपति उम्मेदवार पौडेल भन्ने गरी परिस्थिति अगाडि बढेपछि प्रचण्डले देउवा र सिटौलाको नाम प्रस्ताव गरेको नेपाली कांग्रेसका नेताहरूको बुझाइ छ ।

प्रधानमन्त्री प्रचण्डले देउवा र सिटौलामध्ये एक जना उम्मेदवार बन्नुपर्ने प्रस्ताव गरेपछि नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । देउवाले आज चार बजे शीर्ष नेताको बैठक बोलाएका छन् । देउवा पक्षीय नेताहरू अहिले पनि देउवा निवास धुम्बाराहीमा रहेको उनको सचिवालयले जनाएको छ । 

देउवा निकट एक नेताले भने, ‘प्रचण्डजी पार्टीभित्र छलफल गर्नुपर्ने परिस्थिति निर्माण गरिदिनुभयो । अब कसलाई अगाडि सार्ने भनेर छलफल गर्नुपर्ने भयो । हिजोसम्म रामचन्द्र दाइ भन्ने थियो । अब फरक ढंगले जानुपर्ने हुन्छ कि जस्तो छ ।

प्रचण्डको प्रस्तावपछि अब नेपाली कांग्रेसको छलफल सिटौला र देउवाको नाममा केन्द्रित हुने देखिएको छ । ती नेताका अनुसार देउवाले राष्ट्रपति हुन चाहँदा कांग्रेसमा कसैलाई समस्या छैन ।

ती नेताले भने, ‘शेरबहादुर दाइले राष्ट्रपति बन्ने इच्छा राख्नुभयो भने समस्या छैन । तर प्रचण्डले उहाँ नभए सिटौला भनेपछि रामचन्द्रलाई कन्भिन्स गर्नुपर्ने भएको छ ।

यता प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपतिका विषयमा बुधबार बिहान २ घण्टा छलफल भएको थियो । उनीहरुबीच कुनै सहमति हुन सकेन ।

नेकपा एमालेले पुस १० को समझदारीअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने अडान लिइरहेको छ भने नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससहितको राष्ट्रिय सहमतिको पक्षमा छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सहयोग गर्ने बचन दिएपछि सत्ता गठबन्धन सहमति जुट्न सकेको छैन ।

२५ गते हुने राष्ट्रपति चुनावका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ  नेपाली कांग्रेसका नेताहरू निर्वाचनअघिको ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसको उम्मेदवारी हुने बताउँछन् ।

औपचारिकता दिन मात्रै बाँकी रहेको भन्दै केही दिनमै निर्णय हुने नेपाली कांग्रेस नेताहरूको भनाइ छ । यद्यपि नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आए स्वीकार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४