काठमाडौ । भावी राष्ट्रपतिका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गरी फागुन २५ गते चुनाव गराउने कार्यतालिका बनेको छ । राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न चार दिनमात्रै बाँकी रहँदा नेताहरुको दौडधुप बाक्लिएको छ ।संसद्को ठुलो दल नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम चर्चामा छ ।
नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाले समेत राष्ट्रपति निर्वाचनमा आफूहरुलाई साथ दिने कांग्रेस नेताहरुको दाबी छ । तत्कालीन पाँच दलीय गठबन्धन बिउँताएर राष्ट्रपति आफ्नो पोल्टामा पार्न कांग्रेस नेताहरु लागिपरेका छन् । यो गठबन्धन भत्काएर आफू सरकारमा जाने कांग्रेसको रणनीति छ ।
पार्टीका वरिष्ठ नेता पौडेल राष्ट्रपतिको उम्मेदवार हुने भन्दै कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सहयोगका लागि औपचारिक प्रस्ताव गरिसकेका छन् । गत आइतबार राति वरिष्ठ नेता पौडेलसहित कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला लगायतले प्रचण्डसँग भेट गरी राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न औपचारिक प्रस्ताव गरेका हुन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टी बैठक बसेर छलफल गरेपछि मात्रै राष्ट्रपतिका विषयमा स्पष्ट पार्न सकिने बताएका थिए । कांग्रेस नेताहरु राष्ट्रपतिमा प्रधानमन्त्रीबाट सहयोग पाउनेमा आशावादी देखिएका छन् । त्यसैले कांग्रेस नेताहरुले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवार नै विजयी हुने दाबी गरिरहेका छन् ।
यस्तै, एमालेले राष्ट्रपतिका विषयमा आधिकारिक उम्मेदवार अघि सारेको छैन । गत पुस १० गते एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भएको भद्र सहमतिमा प्रधानमन्त्री माओवादी केन्द्रलाई र राष्ट्रपति एमालेलाई दिने समझदारी भएको एमाले नेताहरुको दाबी छ । उक्त सहमतिलाई प्रचण्डले कार्यान्वयन गर्नुपर्ने उनीहरु बताउँछन् ।
उता, माओवादीले पुस १० गतेको परिस्थितिमा धेरै बदलाव आइसकेकाले सबै दलको सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, संसद्को पूर्ण कार्यकाल र शान्ति प्रक्रियाका सबै काम टुंगो लगाउनेगरी सबै दलको सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने माओवादी केन्द्रको धारणा छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिका विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई दिइसकेको छ ।
एमालेलाई सभामुख पद दिइसकेका कारण शक्ति सन्तुलनका हिसाबले पनि अब राष्ट्रपतिमा एमालेबाहेकको शक्तिलाई महत्त्व दिनुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड देखिएका छन् । संसद्को वर्तमान समीकरण तरल देखिएका कारण पनि पाँच वर्षसम्म संसद टिकाउन एमाले बाहेकबाट राष्ट्रपति बनाउन आवश्यक रहेको माओवादी नेताहरुको भनाइ छ । यदि कांग्रेसबाटै राष्ट्रपति भएमा संसदलाई पूरा कार्यकाल लग्न सकिने र शान्ति प्रक्रियाका बाँकी काम सक्ने प्रचण्डको योजना छ ।
केही अघि संसदमै सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन ठिक थियो भन्नेगरी अभिव्यक्ति दिएपछि प्रधानमन्त्री प्रचण्ड झन् झस्किएका छन् । त्यसैलै प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएका हुन् ।
यसअघि एमालेबाट राष्ट्रपतिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल लगायतको नाम चर्चामा थियो । तर एमालेकै नेता राष्ट्रपति हुने अवस्था नदेखेपछि अध्यक्ष ओलीले विभिन्न विकल्पमा छलफल अघि बढाएका छन् । यद्यपि कसलाई उम्मेदवार बनाउने भन्नेबारे उनले आधिकारिक निर्णय गरिसकेका छैनन् । एमाले सचिव टोपबहादुर रायमाझीले राष्ट्रपतिमा पार्टीबाट कसलाई् अघि सार्ने भन्ने विषयमा निर्णय भइनसकेको बताए । ‘राष्ट्रपतिका विषयमा पार्टीबाट कुनै निर्णय भएको छैन । अहिलेसम्म को राष्ट्रपति हुने भन्ने विषयमा परिदृश्य स्पष्ट छैन,’ रायमाझीले भने, ‘तपाई भन्नुहुन्छ भने अब राष्ट्रपति को बन्छ भन्नेमा प्रधानमन्त्रीसहित कुनै पार्टीका अध्यक्षलाई नै थाहा छैन ।
एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा प्रस्ताव गरेपछि परिदृश्य बदलिएको छ । यदि नेपाल राष्ट्रपति बनेमा एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा समाहित गर्ने र कांग्रेसलाई राष्ट्रपतिमा रोक्ने ओलीको दोहोरो नीति छ । एकीकृत समाजवादीबाट नेपाललाई राष्ट्रपतिमा अघि सारिएपछि सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल सशंकित भएका छन् । आफूलाई भावी राष्ट्रपतिको रुपमा अघि सारेको अवस्थामा पुनः नेपाललाई ओलीले राष्ट्रपति बन्न प्रस्ताव गरेपछि उनी झस्किएका हुन् ।
अध्यक्ष नेपाल आफै पनि पार्टीलाई बलियो बनाउन सक्ने अवस्था नदेखेपछि राष्ट्रपति बनेर सेटल हुनेतिर लागेका छन् । २०६४ सालमा राष्ट्रपति प्रस्ताव गर्दा ‘बेला भएको छैन’ भनेर अस्वीकार गरेका उनले अब राष्ट्रपति बन्न प्रस्ताव आएमा स्वीकार गरेर जाने मानसिकता बनाएको स्रोत बताउँछ ।
राष्ट्रपतिको चुनावमा माओवादी निर्णायक
संसद्को पहिलो शक्ति कांग्रेस, दोस्रो शक्ति एमाले र तेस्रो माओवादी केन्द्र छ । भावी राष्ट्रपति कसलाई बनाउने भन्नेमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड निर्णायक अवस्थामा छन् । उनको पार्टीबाट राष्ट्रपति बनाउने अवस्था नभए पनि कांग्रेस, एमाले लगायत अन्य दलबाट राष्ट्रपति बनाउनेमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवस्थामा उनी छन् । त्यसैले, कांग्रेस, एमाले लगायतका दलले राष्ट्रपतिमा सहयोग गर्न उनलाई आग्रह गरिरहेका छन् ।
तर, प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर जाने अडान लिएका छन् । सबै दललाई स्वीकार्य हुनेगरी राष्ट्रपति बनाउनुपर्नेमा उनको जोड छ । गत सोमबार माओवादी पदाधिकारी बैठकले राष्ट्रपतिका विषयमा निर्णय गर्न प्रचण्डलाई अख्तियारी दिएको छ । गणतन्त्र, संघीयता, धर्ननिरपेक्षता, समानुपातिक समावेशी, संक्रमणकालीन न्याय निरुपण र संसद्को पूर्ण कार्यकाल हुने गरी राष्ट्रपति चयन गर्नुपर्ने माओवादी केन्द्र पदाधिकारी बैठकको निर्णय छ ।