Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजनीति रवि लामिछानेको निर्णयमाथि प्रश्न : केन्द्रीय सदस्य मनोनयनको आधार के ? भाइरल अनुहारको इन्ट्री हुँदा चर्चित अनुहार आउट


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ३ २०७९
  • 3.6K
    SHARES

काठमाडौँ । ‘क्लबको सदस्य छानेजस्तो गरी केन्द्रीय सदस्य चयन गर्ने पार्टीले ‘डिजिटल डेमोक्रेसी’को वकालत गर्न सुहाउँछ ? टीका नै लगाएर पार्टी चलाउने हो रवि दाइ ?’ झापा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका प्रकाश पाठकले पार्टी सभापति रवि लामिछानेमाथि उठाएको प्रश्न हो यो ।

रास्वपाले सोमबार १६ जना केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णयमाथि कार्यकर्ता तहबाट उठेको यो प्रतिनिधि प्रश्न हो । पार्टी दर्ता गर्दा २१ सदस्यीय केन्द्रीय समिति बनाएको रास्वपाले केही महिनाअघि ३ जना सदस्य थपेको थियो । सोमबार रास्वपाले १६ जना थपेर केन्द्रीय समितिलाई ४० सदस्यीय बनाएको छ । केन्द्रीय सदस्य मनोयनको विधि र छनोटप्रति रास्वपामा विवाद देखिएको छ । पार्टीभित्र फेस भ्यालु भएका नेताहरूलाई केन्द्रीय समितिमा नल्याएर सामाजिक सञ्जालमा भाइरल भएकाहरूलाई जिम्मेवारी दिएको सभापति लामिछानेमाथि आरोप छ ।

रास्वपाले सोमबार निशा मेहता, विन्दवासिनी कंशाकार, रूपा शङ्कर, विजय जैरू, मेघ आले, मोहनबहादुर थापा, स्वसरकार श्रेष्ठ, टीका सङ्ग्रौला (ज्वाला), हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, कान्तिशिखा धिताल, प्रतिभा रावल र गीमा क्षेत्रीलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।

रास्वपाका चर्चित अनुहार विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, शिशिर खनाल, मनिस झा, सन्तोष परियारलगायत केन्द्रीय सदस्यमा मनोनीत हुने आशामा थिए । उपनेता श्रेष्ठले भने, ‘राजनीतिक परिपक्वता हेरेर केन्द्रीय सदस्य मनोनीत गरिनुपर्थ्यो । त्यस्तो भएको देखिएन । हामीले पनि सञ्चारमाध्यमबाट नै केन्द्रीय सदस्य मनोनीत भएको थाहा पाएको हो ।’ उनका अनुसार को केन्द्रीय सदस्य भयो, को भएन भन्दा पनि कुन प्रक्रियाबाट निर्णय भएको भन्ने हो ।

‘हामी नागरिकबाट अनुमोदित भएर राष्ट्रिय पार्टी बन्यो । संसद्को चौथो ठूलो दल बन्यौँ । हामी पार्टीको प्रकृति निर्माणको क्रममा छौँ,’ उनी भन्छन्, ‘हामीले पार्टीको नेचर देखाउन सकिरहेका छैनौँ । यो असन्तुष्टि मात्र होइन, परिणामको कुरा पनि हुन्छ ।’ रास्वपामा समावेशितालाई पनि अहिले प्राथमिकतामा नदिएको देखिन्छ । रास्वपामा ४० जनामध्ये मधेसी र दलित समुदायबाट केन्द्रीय सदस्यमा उपस्थिति न्यून छ । मधेसी समुदायबाट डा. राकेश यादव र निशा मेहता छन् भने दलितबाट सविना विक मात्र केन्द्रीय सदस्य छन् ।

यस्तै केन्द्रीय सदस्य मनोनीत गर्दा मधेस र काठमाडौँ उपत्यकालाई पार्टी नेतृत्व बेवस्ता गरेको रास्वपामा असन्तुष्टि छ । ‘काठमाडौँ उपत्यकामा पार्टीले ५ जना सांसद पाएको छ । यहाँको नम्बर वान पार्टी हो । उपत्यका मतदातालाई सम्बोधन गर्न सक्नुपर्छ जस्तो लाग्छ,’ श्रेष्ठले भने ।

सभापति लामिछाने आफूलाई सजिलो केन्द्रीय समिति बनाउन खोजेको उनको बुझाइ छ । ‘राजनीतिमा न्यायको सिद्धान्त भन्ने हुन्छ । अहिले सभापतिजीले आफूलाई सजिलो हुने गरी निर्णय लिनु भएको होला । सुरुवाती चरणमा त्यो गर्नु अस्वाभाविक भने होइन,’ उनी भन्छन् ।

श्रेष्ठका अनुसार रास्वपा गठन गर्दा जोडिएका मान्छेलाई सभापति प्राथमिकता दिएको देखिन्छ । उनले भने, ‘जो साथीहरूले सुरु गर्नु भएको हो, उहाँहरू प्राथमिकतामा पर्नुभएको होला । पार्टीले आफैँलाई पार्टीको प्रकृति दिन सक्नुपर्यो ।’ पार्टीले लिएको निर्णय प्रक्रिया संसद्मा लैजान सांसदहरूलाई केन्द्रीय समितिमा प्राथमिकता दिँदा राम्रो हुने उनको बुझाइ छ । रास्वपाको ४० सदस्यीय केन्द्रीय कमिटीमा अधिकांश सांसदले स्थान नपाएको अवस्था छ । रास्वपाका १९ सांसदमध्ये ४ जना मात्र केन्द्रीय समितिमा अटाएका छन् । 

प्रत्यक्ष निर्वाचित सोविता गौतम र गणेश पराजुली केन्द्रीय सदस्य छन् । संसदीय दलको उपनेतासमेत रहेका प्रत्यक्ष निर्वाचित सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, तोसिमा कार्की र हरि ढकाल केन्द्रीय कार्यसमितिमा छैनन् ।

संसदीय दलको नेतासमेत रहेका समानुपातिकबाट सांसद बनेका डोलप्रसाद अर्याल भने पार्टी उपसभापति रहँदा सांसद सुमना श्रेष्ठ केन्द्रीय सदस्य छिन् । बाँकी ११ जना समानुपातिक सांसदले केन्द्रीय समितिमा प्रवेश पाएको अवस्था छैन ।

संसदीय दलका मुख्य सचेक सन्तोष परियार, सांसद मनीष झा, लक्ष्मी तिवारी, डा. चन्दा कार्की, निशा डाँगी, अशोककुमार चौधरी, शिव नेपाली, विनिता कठायत, डा. ढाकाकुमार श्रेष्ठ र असिम शाहलाई रास्वपाले केन्द्रीय सदस्यका लागि योग्य ठानिसकेको छैन ।

रास्वपा महामन्त्री मुकुल ढकालका अनुसार केन्द्रीय सदस्य मनोनीत गर्दा पाँच जना केन्द्रीय सदस्य बसेर छनोट गरिएको थियो । ‘पार्टीलाई गरेको योगदान, दक्षता र काम, पार्टीप्रतिको लगावका आधारमा केन्द्रीय सदस्य मनोनयनको मापदण्ड बनेको छ,’ उनले भने, ‘कार्यशैली र व्यवहारलाई पनि मूल्याङ्कन गरेर केन्द्रीय सदस्य मनोनीत गरिएको हो ।

‘१६ जना केन्द्रीय सदस्य मनोनीत हुँदा सबै जिल्ला पर्ने कुरा हुँदैन । केन्द्रीय सदस्यमा म परिन भनेर भन्नु एउटा कुरा हो । पार्टीले सबै कुराको हिसाब गरेर केन्द्रीय सदस्य बनाउने हो,’ महामन्त्री ढकाल भन्छन् । 

सांसद बनेका भन्दा समानुपातिकमा बसेर सांसद नपाएकाहरू केन्द्रीय समितिमा मनोनीत गरिएको उनले बताएका छन् । ‘जसले यो पार्टीलाई योगदान दिनुभएको छ । सांसदलाई दुईवटा पोस्ट दिनुभन्दा जिम्मेवारी नपाएका नेताहरूलाई केन्द्रीय समितिमा ल्याइएको हो,महामन्त्री ढकालले भने ।

उनका अनुसार केन्द्रीय कमिटी १२१ सदस्यीय बनाउने आन्तरिक तयारी छ । उनले भने, ‘पार्टी भर्खरै सुरु भएको छ । अहिले नै ठूलो बनाएर भद्रगोल गर्ने सोचमा छैनौँ । सभापतिलाई काम गर्न सजिलो हुने गरी केन्द्रीय समिति बन्ने हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४