काठमाडौं । राष्ट्रपति निर्वाचनमा सत्तासीन नेकपा माओवादी केन्द्रको साथ पाउनेमा नेपाली कांग्रेस ढुक्क देखिएको छ । राष्ट्रपति निर्वाचनका सन्र्दभमा कांग्रेसले पछिल्लो समय नेकपा \ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको संवादलाई तीव्रता दिएको छ ।
सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचनमार्फत पुरानो गठबन्धन ब्युताउन सकिने विश्वाससहित प्रधानमन्त्री समेत रहेका प्रचण्डको विश्वास जित्ने प्रयत्न गरिरहेका छन् । महामन्त्री थापा सभापति देउवाको सल्लाह अनुसार केही दिनअघिमात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।
राष्ट्रपतिमा अहिलेसम्म नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार उठाउने सार्वजनिक गरिसकेका छन् । नेपाली कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारमा नेकपा माओवादी केन्द्रको समर्थन प्राप्त गर्न सभापति देउवा, महामन्त्री थापाबाहेक नेताहरु पूर्णबहादुर खड्का र रमेश लेखक पनि लागिरहेका छन् ।
नेकपा माओवादी केन्द्रबाट पनि निर्वाचनअघिको गठबन्धन ब्युताउन उपाध्यक्ष कृष्णबहादुर महरा, उप–महासचिव जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरल लगायतका नेताहरु वातावरण निर्माणमा लागेको बताइन्छ । नेकपा माओवादी नेतासँगको संवादमा रहेका महामन्त्री थापा गठबन्धन ब्युतिने परिस्थिति बन्दै गएको दावी गर्छन् ।
प्रधानमन्त्री प्रचण्डसँग डेढ घण्टाको भेटपछि थापा राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने तयारी छ । प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेतासँगको छलफलमा नेपाली कांग्रेसले रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेको छ ।
नेपाली कांग्रेसका नेताहरुसँगको संवादमा अध्यक्ष प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बचन दिएको नेपाली कांग्रेस नेताहरुको दाबी छ । नेपाली कांग्रेसका नेता रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास थाल्नु भएको छ । त्यो भनेको नेपाली कांग्रेसकै उम्मेदवारका लागि हो भन्ने हामीले बुझेका छौं ।
प्रचण्डका तीन सर्त
नेपाली कांग्रेसका नेताहरुसँगको भेटवार्ता र संवादमा नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”ले पुरानो गठबन्धन व्यँताउन तीन कुराको प्रष्टता चाहेको बताइन्छ । नेपाली कांग्रेस स्रोतका अनुसार सत्ता गठबन्धनको विकल्प खोज्दा आगामी पाँच वर्ष सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्ने र त्यसमा नेपाली कांग्रेसले लिखित सहमति नै गर्नुपर्ने प्रचण्डको अपेक्षा रहेको छ ।
पाँच वर्ष सत्ता बाहिर बस्नुभन्दा प्रचण्डलाई पुरा कार्यकाल प्रधानमन्त्री दिँदा नेपाली कांग्रेसलाई फाइँदा हुनेमा नेपाली कांग्रेसको हिसाव छ । त्यसमा सिंगो नेपाली कांग्रेस आफुलाई प्रधानमन्त्री मानेर जान तयार छ छैन भन्नेमा समेत प्रचण्डले नेपाली कांग्रेस नेताहरुसँग जिज्ञासा राखेका छन् ।
प्रचण्डको सोही जिज्ञासा मेटाउन सभापति देउवाले महामन्त्री गगनकुमार थापालाई बालुवाटार पठाएको नेपाली कांग्रेस स्रोत बताउँछ । महामन्त्री थापाले राष्ट्रपति निर्वाचन र आगामी सत्ता सहकार्यका लागि नेपाली कांग्रेस एकमत रहेको सन्देश प्रचण्डसमक्ष पुर्याइसकेका छन् ।
स्रोतका अनुसार राष्ट्रपति निर्वाचनपछि पुरानो गठबन्धन ब्युँत्याएर जाँदा भोलि फेरि आफूविरुद्ध छिमेकीको चलखेल हुने होकि भन्ने प्रचण्डलाई चिन्ता छ । किनभने पहिलो चरण प्रधानमन्त्री छाड्ने बचनबाट देउवा ब्याक हुनुमा भारतको चलखेल मुख्य भूमिका रहेको प्रचण्डको बुझाइ छ ।
मंसिरको निर्वाचनपछि गत पुस ६ गतेसम्म पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई दिने बचन दिएका देउवाले पछि भारतको प्रभावमा परेर नदिँदा प्रचण्ड बालकोट पुग्नुपरेको नेपाली कांग्रेसका नेताहरुको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका नेताहरुका अनुसार पाँच दलीय गठबन्धन भत्किनुमा नेपाली कांग्रेस नेता विमलेन्द्र निधि र तत्कालीन प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीको भूमिका जिम्मेवार छ । निधि र सुवेदीले नेकपा एमाले र भारतको ढाडस दिँदा देउवा प्रधानमन्त्री छाड्न तयार नभएको नेताहरु बताउँछन् । विगतमा भएको कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्न प्रचण्डसँग नेपाली कांग्रेसले प्रतिबद्धता जनाइरहेको छ ।
नेपाली कांग्रेस स्रोतका अनुसार अबको ३/४ दिनमै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले राष्ट्रपतिमा ‘तपाईको उम्मेदवारलाई सहयोग गर्न सक्दिनँ’ भनेर कित्ता क्लियर गर्ने तयारी गरेका छन् । त्यो अवस्थामा नेकपा एमाले सरकारबाट बाहिरिन सक्नेपनि कतिपयको आँकलन छ । सोही अनुसार नेपाली कांग्रेसले अहिले राष्ट्रपतिको निर्वाचनलाई प्रचण्ड” नेतृत्वको सरकारमा पुग्ने भ-याङ बनाउन चाहेको छ ।
‘राष्ट्रपतिको निर्वाचनबाट राष्ट्रपति मात्र प्राप्त हुन्थ्यो र अरु केही प्राप्त हुने अवस्था थिएन भने नेपाली कांग्रेसले यत्रो धेरै ‘पापड’ पेल्दैनथ्यो,नेपाली कांग्रेस स्रोत भन्छ । राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किन्छ भन्नेमा नेपाली कांग्रेसका अधिकांश नेता आशावादी छन् । तर राष्ट्रपति गुमाएर पनि एमालेले सरकार नछाडे नेपाली कांग्रेसको मिसन पुरा हुने देखिदैन ।
मुलुकको पहिलो राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता डा. रामवरण यादव निर्वाचित भएपनि सत्ता गठबन्धन कायमै रहेको थियो । त्यतिबेला राष्ट्रपतिमा नेपाली कांग्रेसले नेकपा एमाले र मधेसवादी दलको साथ पाए पनि प्रचण्ड सरकार कायमै रहेको थियो । नेपाली कांग्रेसले यादवलाई राष्ट्रपति बनाउन सफल भएपनि सत्ता हात पर्न असफल भएको थियो । नेपाली कांग्रेसका नेताहरुको बुझाइमा राप्रपाले राष्ट्रपति निर्वाचनमा भोट हाल्ने छैन ।
रास्वपाले पनि भावी समीकरणको हिसाब किताब गरेर मात्र भोट हाल्ने छ । राष्ट्रपति निर्वाचनपछि पुनः सत्तामा फर्किने प्रधानमन्त्री प्रचण्डसँगको सहमितिपछि रास्वपा आइतबार सरकारबाट बाहिरिसकेको छ ।
सोही कारण सरकारलाई दिएको समर्थन फिर्ता नलिएको रास्वपाका नेताहरु बताउँछन् । रास्वपा सभापति रवि लामिछानेले आइतबारको पत्रकार सम्मेलनमा कुनै पनि बेला सरकारमा जान सकिने बताएका थिए ।
नेपाली कांग्रेसतिर प्रचण्ड किन ढल्किए ?
पुस २६ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभन्दा पहिले नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले संसदमा सम्बोधन गरेका थिए । देउवाले कसैलाई आक्षेप नलगाएर विश्वासको मत दिनुको कारण र आगामी भूमिका सुनाएका थिए । तर ओलीले संसद विघटनको प्रसंग आनवश्यक रुपमा झिके । यसले प्रचण्ड’लाई अप्ठ्यारो पारेको नेपाली कांग्रेसका नेताहरुको तर्क छ । महामन्त्री थापासँगको भेटमा पनि प्रचण्डले ओलीको सम्बोधनको प्रसंग निकालेका थिए ।
ओलीले गरेको संसद विघटनको बचाउले सत्ता गठबन्धनमा विवादको विजारोपण हुन्छ भनेर थापाले दिएको अभिव्यक्ति आफूले नोटिस गरेको प्रचण्डको भनाइ थियो । नेपाली कांग्रेसले दिएको विश्वासको मतलाई स्वभाविक रुपमा लिएर सभामुखमा देवराज घिमिरेको ठाउँमा पृथ्वीसुब्बा गुरुङलाई अगाडि सारेको भए प्रचण्ड नझस्किने कतिपयको बुझाइ छ ।

राष्ट्रपतिमा सुवास नेम्वाङको विकल्पमा विष्णु रिमाल र गुरु बरालको नाम अगाडि नसारेपछि प्रचण्ड थप झस्किएको नेपाली कांग्रेसका नेताहरुको विश्लेषण छ । ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर आफूमाथि दबाब बढाएको प्रचण्डको बुझाइ छ ।
नेपाली कांग्रेसका नेतासँगको संवादमा प्रचण्डले नेकपा एमालेसहितको गठबन्धन सोचेअनुसार अगाडि बढ्न नसकेको निष्कर्ष सुनाएको नेपाली कांग्रेस स्रोत बताउँछ । प्रचण्ड र नेकपा एमालेका दोस्रो तहका नेताहरुको अपेक्षा सरकार मात्र नभई कार्यगत गर्दै पुनः पार्टी एकतासम्म गर्न सकिने भएपनि त्यो अनुसार ओलीका कारण राजनीति अघि बढ्न सकेको छैन ।
त्यसमा महासचिव शंकर पोखरेल लगायतका नेताबाट प्रयास हुने प्रचण्डको बुझाइ थियो । सरकार बने लगत्तै प्रचण्डले पार्टी एकताका लागि वार्ता समिति समेत बनाएका थिए । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेतृत्वको वार्ता समितिसँग नेकपा एमालेका नेताहरु संवादमा बस्न समेत रुची नदेखाए पछि प्रचण्ड थप झस्कन पुगेका हुन् ।
नेपाली कांग्रेसले पुस १० मा पहिलो चरण प्रधानमन्त्री दिन नमानेपछि बाध्यात्मक अवस्थामा नेकपा एमालेसहितको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेपनि नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुबीच अहिले पनि हार्दिकता देखिदैन । बरु नेकपा एमालेले सरकार सञ्चालनमा नियन्त्रण गर्छु भन्ने सन्देश निरन्तर दिने काम गरिरहेको छ । यता नेपाली कांग्रेसले १० पुसमा भएको राजनीतिक कमजोरीको आत्मालोचना गरेको सन्देश प्रचण्डलाई दिने प्रयास गरिरहेको छ ।
नेपाली कांग्रेसका एक नेता भन्छन्, ‘योबीचमा प्रचण्डले च्वाइस गर्ने अवसर पाएका छन् । नेकपा एमालेको नियन्त्रणमा सरकार सञ्चालन गर्ने वा राजनीतिक रुपमा रक्षात्मक बनेको नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने भन्ने प्रचण्डलाई रोज्ने अवसर मिल्यो ।
ती नेताका अनुसार प्रचण्डका लागि यो अवसर राष्ट्रपतिको निर्वाचनसम्म रहने छ । त्यसपछि नेपाली कांग्रेस कि नेकपा एमाले भन्नेमा प्रचण्डको कित्ता क्लियर हुन्छ । ‘राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस वा नेकपा एमालेवाहेक बीचको बाटो छैन भन्नेमा प्रचण्ड क्लियर छन् । नेपाली कांग्रेस र नेकपा एमालेबाहेको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भवाना न्युन छ, ती नेताको भनाइ छ । त्यसैले राजनीतिक शक्ति सन्तुलनका लागि पनि प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति दिनेमा नेपाली कांग्रेसका नेताहरु विश्वस्त रहेका छन् ।
