Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी बटमलाइन राष्ट्रपतिमा राष्ट्रिय सहमति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १५ २०७९
  • 2.2K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपति पदमा राष्ट्रिय सहमति हुनुपर्ने बटमलाइन बनाएको छ । पार्टीको माघ १२ देखि जारी स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले राष्ट्रपति साझा व्यक्ति हुनुपर्ने र त्यसका लागि राष्ट्रिय सहमतिसमेत हुनुपर्ने धारणा राखेका हुन् ।

विगतमा राष्ट्रपति दलभन्दा माथि उठ्न नसक्दा समस्या झेल्नु परेकाले सबै दल सम्मिलित राष्ट्रिय सहमति कायम गर्नुपर्ने नेताहरूको भनाइ छ । प्रचण्ड प्रधानमन्त्री हुँदा राष्ट्रपति एमालेले लिने भद्र सहमति भए पनि माओवादीले पछिल्लो समय राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बटमलाइन बनाएको हो ।

गत पुस २६ गते नेपाली कांग्रेससहित सबै राष्ट्रिय दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । लगत्तै राष्ट्रिय सहमतिको विषय जोडतोडका साथ उठ्दै आएको छ । संसद्‍मा कुनै पार्टीको बहुमत नभएकाले सरकार पाँचै वर्ष टिकाउन मुस्किल हुने बुझाइ प्रधानमन्त्री प्रचण्डको छ । त्यसैले विवेक प्रयोग गर्ने राष्ट्रपति भएमा संसद्‍लाई पुरा कार्यकाल चलाउन सकिने उनको बुझाइ छ । त्यसैले सबै दलको सहमतिमा राष्ट्रपतिको प्रस्ताव आएमा सहज हुने माओवादीको मत छ ।   

उता एमालेले राष्ट्रपतिमा माओवादी पछि पूर्वसहमतिबाट हटेको रूपमा बुझेको छ । राष्ट्रपति एमालेलाई दिने भद्र सहमति भए पनि कांग्रेसले विश्वासको मत दिएपछि परिस्थिति बिग्रिएको विश्लेषण एमालेको छ । दलहरुबीच सहमति बन्न नसक्दा निर्वाचन आयोगले समेत मिति घोषणा गर्न आनाकानी गर्दै आएको छ ।

“राष्ट्रपति सेरमोनियल पद हो । कार्यकारी पद होइन’ यादवले भने, ‘तर विगतका राष्ट्रपतिले पटक पटक खुट्टा अल्झाएको देखियो ।”

यही बीचमा माओवादी नेताहरू प्रचण्डलाई राष्ट्रपति राष्ट्रिय समझदारी बनाएर जान दबाब दिएका हुन् ।  विगतमा संविधान र व्यवस्था जोगाउन ठुलठुला आन्दोलन र संघर्ष गर्नुपरेकाले अब राष्ट्रपति बनाउँदा गल्ती दाहोर्‍याउन नहुने नेताहरूको जोड छ । माओवादी उपमहासचिव मातृका यादवले वैचारिक रूपमा जुनसुकै कित्ताको भए पनि सबै दलको सहमति बनाएर जानुपर्ने जिकिर गरे । यो संविधान र व्यवस्था जोगाउने व्यक्तिको नाममा राष्ट्रिय सहमति कायम गरेर जानुपर्ने यादवले बताए । ‘हाम्रो पार्टीको आकारले मात्रै संविधान र व्यवस्थालाई बचाउन सक्ने अवस्था छैन । जो संविधानको संरक्षक हो, जसले यो व्यवस्थालाई माया गर्छ । त्यस्तो व्यक्तिमा राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ’ यादवले भने, ‘यो व्यवस्थाको मूलपक्षधर माओवादी र हाम्रो हाम्रो नेतृत्व हो । प्रचण्डकै  नेतृत्वमा राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ । त्यो भएमा विगतका गल्ती दोहोरिँदैन ।’

देशमा अझै धेरै काम गर्नुपर्ने भएकाले राष्ट्रपति साझा व्यक्ति हुनुपर्ने यादवले बताए । ‘अझै शान्ति प्रक्रिया टुंगिएको छैन । देशमा भ्रष्टाचार बढ्दै छ । सुशासन कायम गर्न सकिएको छैन । विकास र समृद्धि गर्नुपर्ने छ । यो देशमा नागरिकताविहीन धेरै नागरिक छन् । व्यापार व्यवहार चौपट छ । यी सबै विषयलाई मनन गरेर अघि बढ्न सक्ने राष्ट्रपति चाहिएको छ’ यादवले भने ।

समग्र मुलुकको अभिभावकत्व ग्रहण गर्न सक्ने व्यक्ति छनोट गरेर जान  प्रधानमन्त्रीलाई दबाब दिएको यादवले बताए । राष्ट्रपति सेरमोनियल पद भए पनि विगतका राष्ट्रपतिले खुट्टा अल्झाउँदा पटक पटक समस्या व्यहोर्नु परेको पनि उनको भनाइ छ ।

‘राष्ट्रपति सेरमोनियल पद हो । कार्यकारी पद होइन’ यादवले भने, ‘तर विगतका राष्ट्रपतिले पटक पटक खुट्टा अल्झाएको देखियो । गलत काममा छाप लगाउन मिनेट नपर्खिने सही निर्णयमा छापै लगाउने अनि चुपचाप बस्ने देखियो । त्यसैले यो संविधान, व्यवस्थाप्रतिबद्ध व्यक्ति चाहिन्छ ।’

प्रचण्ड नेतृत्वको सरकार बनेदेखि नै षड्यन्त्र सुरु भइसकेकाले राष्ट्रपति बनाउन ख्याल समेत यादवको जिकिर छ । ‘अहिलेको सरकार बन्ने बेलादेखि नै षड्यन्त्र भइराखेको छ । सरकारमा सहभागी मन्त्रीहरूले संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता विरोधी गतिविधि गरिराखेका छन्’ यादवले भने, ‘यो विरोध पार्टी विशेषले मात्रै होइन डिजाइनमा चलिरहेको छ ।

“कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि भने प्रचण्ड यूटर्न हुँदै राष्ट्रपति साझा व्यक्तिलाई बनाउनुपर्ने अडानमा पुगेका हुन् ।”

 जसले बाध्यात्मक रूपमा यो संविधान स्वीकार गरेका छन् उनीहरू नै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विरोधमा लागेको उनको भनाइ छ । अहिलेको बहुपार्टी प्रणालीलाई मासेर देशलाई दुई दलीय प्रणालीमा लग्ने योजना बनाउने षड्यन्त्र भएको समेत उनको दाबी छ ।

यस्तै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको विषय महत्त्वपूर्ण भएकाले दल विशेष भन्दा राष्ट्रिय सहमति कायम गरेर आफूहरूको धारणा रहेको बताए ।  ‘राष्ट्रपतिमा सबै दलहरू सहमति गरेर जाँदा राम्रो हुन्छ । हामीले विगतमा संसद् विघटनको उल्झन बेहोर्नुपर्‍यो । कहिले अध्यादेशबाट अल्झिनु प¥यो’ पौडेलले भने, ‘विगतका घटनाक्रमको शिक्षा लिँदै निष्पक्ष रूपमा सबै विषय हेर्ने राष्ट्रपति भएमा राम्रो हुन्छ ।’

उनले राष्ट्रिय सहमति हुने गरी राष्ट्रपतिको नाम प्रस्ताव गर्न पनि एमालेलाई आग्रह गरे ।

पुस २६ गतेको विश्वासको मतले घटनाक्रम मोडियो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गत पुस १० गते भद्र सहमति बन्यो । जसमा प्रधानमन्त्री र सभामुख एमाले र माओवादीले आलोपालो गर्ने विषय थियो । कांग्रेस नेतृत्वको गठबन्धनबाट भत्किएर प्रचण्डले एमालेसँग उक्त सहमति गरेका थिए ।

जसअनुसार राष्ट्रपति भने एमालेले लिने भनिएको थियो । सहमतिअनुसार प्रधानमन्त्रीमा प्रचण्डले शपथ लिएर जिम्मेवारी सम्हालिरहेका छन् भने सभामुखमा एमालेका देवराज घिमिरे चयन भई आफ्नो भूमिकामै छन् ।  राष्ट्रपति चयनको विषयमा भने अहिले बहस र छलफल जारी रहेको हो  । गत २६ गते प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा आएको हो । यदि पुस २६ मा कांग्रेसले विश्वासको मत नदिएको हुन्थ्यो भने यसअघि राष्ट्रपति र उपराष्ट्रको उम्मेदवार टुंगो लागिसक्ने थियो ।

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि भने प्रचण्ड यूटर्न हुँदै राष्ट्रपति साझा व्यक्तिलाई बनाउनुपर्ने अडानमा पुगेका हुन् । प्रचण्डले कांग्रेसको साथ पाएकाले राष्ट्रपति साझा व्यक्ति हुनुपर्ने अडान लिएका हुन् । 

उता कांग्रेसपनि राष्ट्रपतिको विषयलाई उछालेर सत्ता साझेदार दललाई फुटाउने दाउमा देखिन्छ । माओवादी राष्ट्रिय सहमतिको नाममा आफू अनुकूल राष्ट्रपति ल्याउने दाउमा देखिन्छ । कंग्रेसलाई देखाएर यदि आफू अनुकूल राष्ट्रपति आएमा शान्ति प्रक्रिया सहित अरु काम गर्न सजिलो हुने माओवादी बुझाइ छ । दलहरुबीच रस्साकस्सी चलिरहेको अवस्थामा यो विषय कसरी टुंगोमा पुग्छ, त्यसका लागि भने अझै केही समय कुर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४