Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“चेली”भन्दा हाम्रो चित्त दुख्छ रास्वपा नेतृ सुमना श्रेष्ठ ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १३ २०७९
  • 4K
    SHARES

यस्ता शब्द सामाजिक रूपमा विभेदी तरिकाले गरिने व्यवहारको अभिव्यक्ति हो । त्यसैले कुनै पनि मान्छेलाई यी शब्द प्रयोग गरेर बोलाउनु भन्दा उसको नामले बोलाउनु राम्रो हुन्छ । कहिलेकाहीं शब्दहरुले अर्थसँगै प्रतिध्वनि पनि पैदा गर्छन् । जस्तो कि शनिबार प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आक्रोश पोखिन्, ‘यो सदनमा धेरैचोटि सुनियो चेली । नेतृहरूलाई चेली भनेपछि पुरुषहरूलाई के चेला भन्छौं ?

सांसद श्रेष्ठले भनेकी थिइन्, ‘कृपया मेरो आह्वान छ, नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस् । आत्मीयता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो । ५० प्रतिशत महिला यो सदनमा पठाइयोस् ।’ उनले महिलाहरूलाई चेली नभन्न आग्रह समेत गरेकी थिइन् । परिवार, समाजमा चलनचल्तीमा लामो समयदेखि रहेको शब्द हो ‘चेली’ । तर यस्ता शब्दहरु कहाँ कुन सन्दर्भमा प्रयोग गर्ने या नगर्ने भन्नेबारे ध्यान दिन महिलाहरुले आग्रह गरेका छन् ।

पुरुष सांसदले आफूसमानकी संसद सदस्यलाई चेली भन्दा किन सुमनालगायत सांसदहरुलाई चित्त बुझेको छैन त ? समाजशास्त्री डा. मीना पौडेलको भनाइमा चेली, चेला सामाजिक विभेदी शब्दहरू हुन् । ‘महिलालाई घरपरिवारभित्र सहायकको रूपमा निरीह बनाएर यी शब्दहरू प्रयोग गरिन्छन्’ उनले भनिन्, ‘माया प्रदर्शन गरे जस्तो गरेर आफू समान हुन नदिने शब्द हुन् ।

तीजमा बोलाएर खान दिने, दक्षिणा दिने भन्नुको अर्थ तिमीहरु निम्छरो हौ भन्ने लाग्न जाने उनको ठम्याइ छ । ‘दरमा दक्षिणा भन्नुको अर्थ तिमीहरूलाई मैले दया गर्नुपर्छ, मैले तिमीहरूलाई दिनुपर्छ, तिमीहरू अंशको अधिकारी होइनौ दक्षिणाको अभिलाषी हौ भनेको हो’, उनले भनिन् । महिलालाई आफूसमान व्यवहार गर्नुसाटो संरक्षण गर्ने, पूजा गर्ने रुपमा अघि सारिएको भन्दै महिलाहरुले आपत्ति जनाउने गरेका छन् । उनीहरुले शब्दकोशका शब्द र तिनको अर्थहरुबाटै विभेद हुने भन्दै आफूहरुलाई यस्तो स्वीकार्य नरहेको बताउने गरेका छन् ।

फरक मत वा आक्रोश व्यक्त गरेकै कारण तीमध्ये कतिपय महिलाहरुलाई सामाजिक सन्जालमा संस्कारविरोधी भन्दै लान्छित समेत गर्ने गरिएको छ । यद्यपि महिला अगुवाहरु आफूहरुलाई आलोचना गर्नेहरुको यो प्रवृत्ति नयाँ नभएको भन्दै प्रतिवादमा ओर्लिरहेका छन् । उनीहरुले आजभन्दा १९ वर्षअघि चलेको एउटा अभियानको सम्झना गर्ने गर्छन् ।

२०६० फागुन २२ गते ‘चरित्रहीन चेलीहरुको मुक्तिघोषणा’ शीर्षकमा महिलाहरुको एउटा समूहले चेली जस्ता शब्द प्रयोग नगर्न भन्दै आपत्ति जनाएको थियो । महिलाहरुले पुरुष झैं आफ्नै स्वतन्त्र हैसियतमा नागरिकता प्रमाणपत्र, पासपोर्टलगायत अधिकार पाउनुपर्छ, सार्वजनिक स्पेसमा समान हक हुनुपर्छ भन्दा चरित्रहीन भन्दै गाली गर्ने गरिएको तर्फ उनीहरुको संकेत थियो ।

चेलीलाई पूजा गर्ने, संरक्षण गर्ने हो, तर उनीहरूलाई अंश दिने र अधिकार सम्पन्न गराउने होइन भन्ने मान्यता समाजमा रहेको पौडेल बताउँछिन् । पारिवारिक जीवनमा चेली, माइती शब्द राम्रो सुनिए पनि राजनीतिक र व्यावसायिक वा कुनै पनि खालका सार्वजनिक स्पेसमा महिलाहरुलाई त्यो शब्दले बोलाइनु अनुचित भएको माओवादी केन्द्रकी नेतृ कल्पना धमला बताउँछिन् । ‘समान व्यवहार गरे भइहाल्यो, किन करुणाका शब्द राखेर बोलाउने ?’ उनी प्रश्न गर्छिन् ।

एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनाले महिलालाई चेली, बैनी आदि भनेर जताततै होच्याउन नपाइने बताइन् । ‘सार्वजनिक स्थलमा भेटिने जो पनि चेली या माइती होइनन्, त्यसैले बोल्दा, धाप मार्दा या त्यस्तै कुराहरु गर्दा अर्को व्यक्तिलाई सहज लागिरहेको छ या छैन भन्नेमा ध्यान दिनुपर्छ’ उनले भनिन्, ‘जसलाई पनि चेली भन्दिने मानसिकताबाट मानिसहरु सुध्रिनुपर्‍यो ।’

  • “चेली विभेदी शब्द हो”

यस्ता शब्द सामाजिक रूपमा विभेदी तरिकाले गरिने व्यवहारको अभिव्यक्ति हो । त्यसैले कुनै पनि मान्छेलाई यी शब्द प्रयोग गरेर बोलाउनु भन्दा उसको नामले बोलाउनु राम्रो हुन्छ । समाजमा यस्ता विभेदी शब्द भन्दा पनि मान्छेको पहिचानलाई सही तरिकाले स्थापित गर्नुपर्ने समाजशास्त्री पौडेल सुझाउँछिन् ।

पुरुषलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द र महिलालाई सम्बोधन गर्दा प्रयोग गर्ने शब्दमा फरक छ । त्यो फरक कसरी तय गरिएको छ भने महिलाहरू सहायक हुन्, निरीह हुन्, पुरुष भन्दा कम हुन् भनेर महिलाको पहिचानलाई समान रूपले स्थापित गर्न नसकेको हो’ पौडेल भन्छिन्, ‘छोरालाई बाबु छोरीलाई नानु भनिन्छ । नानी भन्ने बित्तिकै त्यो माया दया निरीह भन्ने अर्थ लाग्छ । बाबु छोरा भन्दा निरीह हैन, दया गर्न नपर्ने अर्थ हुन्छ ।’

महिलालाई माया दया गरेर चेली भन्नु भन्दा पनि महिलालाई कसरी अगाडि बढाउने, उनीहरूलाई कसरी अवसर दिने भन्ने कुरामा ध्यान दिनुपर्छ । यस्ता विषयमा सदनमा बहस हुनुपर्ने धमला बताउँछिन्  भाषागत विभेद, व्यवहारको विभेद, पहिचानको विभेदलाई कायम राख्ने कि ? पहिचानलाई प्रमुख मानेर स्थापित गरेर सोही अनुसारको भाषा प्रयोग गर्ने भन्ने अहिलेको मुद्दा भएको उनी बताउँछिन् ।

मलाई चेली भन्नेलाई चेला भन्छु भनेर प्रतिशोधको भाव राख्नु भने मुद्दा होइन । महिलालाई अधिकार सम्पन्न चाहिं नगराउने अनि चेलीबेटी भनेर खुट्टा ढोगेर मात्र नहुने पौडेलले बताइन् । सांसद सुमना श्रेष्ठ भन्छिन् ‘चेली शब्द नराम्रो होइन मलाई पनि घरमा बुबाले मैयाँ भन्नुहुन्छ । घरको परिवेशमा यो ठिक छ । तर, ‘प्रोफेसनल सेटिङ्ग’मा यस्ता शब्द जरुरी हुँदैन । सदनमा मलाई कसैले चिया पिउनुभयो मैयाँ भन्न मिल्दैन । सदनमा त्यसरी मैयाँ भन्नु सम्मान भएन सदनकै भाषा प्रयोग गरेर सांसद भन्नु उचित हुन्छ ।’

घरपरिवारमा कसैले छोरी, चेली चिया बनाइदेऊ भन्नुभयो भने आफूले चिया बनाएर दिने बताउँदै श्रेष्ठ भन्छिन्, ‘किनकि त्यहाँ एउटा ‘पावर डाइनामिक’ शक्तिको प्रभाव हुन्छ । सदनमा त सबै जना समान हो, यस्ता शब्द प्रयोग गरिराख्नै पर्दैन । उनका अनुसार, कोरियन भाषा एकदमै सम्मानजनक छ । त्यहाँको एउटा अध्ययनअनुसार हवाई यातायातमा एक जना सहकर्मीले अर्को सहकर्मीलाई सम्मान दिंदादिंदै विमान दुर्घटना भयो । त्यसपछि व्यावसायिक ठाउँमा त्यहाँको सम्मानजनक शब्द हटाएर व्यावसायिक शब्द प्रयोग गर्न थालियो । श्रेष्ठ भन्छिन्, ‘प्रोफेसनल सेटिङ्गमा काम गर्न सहज हुने वातावरण सिर्जना गर्ने शब्द प्रयोग गर्नुपर्छ ।’

उनी भन्छिन् ‘आत्मीयताको भाषा मात्र प्रयोग गरेर कामको परिणाम नदिने गर्नुहुँदैन । गरिबी निवारण गर्छौ भनेर गरिब जनसंख्याप्रति सद्भावको भाषा प्रयोग गर्ने हामीले गरिबी निवारणको प्रयास भने गरेका छैनौ ।’ महिलाको विषयमा पनि सद्भावको भाषा प्रयोग गर्ने तर अधिकार भने नदिने गर्नुहुँदैन । महिलालाई साँच्चै माया, सद्भाव राख्ने हो भने उनीहरुको मुद्दा- बलात्कारका केस, कार्यस्थलमा हुने दुर्व्यवहार हटाउनपर्छ । शब्द चयनमा महिलालाई भुलाउनुहुँदैन भन्ने श्रेष्ठको तर्क छ ।

संसदमा महिला सहभागिता न्यूनतम ३३ प्रतिशत हुनुपर्छ, त्यसभन्दा माथि समावेश नै गर्न नहुने हैन । ५० प्रतिशत भए झन् राम्रो । उनीहरूको अधिकार दिनुपर्छ । बोलेर मात्र हुँदैन समावेशिता साँच्चै लागू हुनुपर्ने श्रेष्ठ बताउँछिन् । मैले एक पटक सदनमा बोलेर मात्र यो परिवर्तन हुँदैन । यसलाई सुधार्न सबैको पहल जरुरी हुन्छ । ‘चेली’ मात्र हैन अन्य शब्द पनि तिनको भाव बुझेर प्रयोग गर्नुपर्छ । भाषिक विज्ञतालाई लिएर भन्दा पनि शब्दको भावलाई लिएर कुरा गरियो भने धेरै अघि बढ्न सकिने श्रेष्ठले बताइन् ।

  • “महिलालाई माया-दया जरुरी छैन”

कुनै पदमा महिला पुगेको छ भने प्रतिस्पर्धा गरेर पुगेको हो । त्यहाँ उसलाई मायादया गरेर चेली भन्नु जरुरी नभएको नेत्री धमला बताउँछिन् । हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोचले नै जरा गाडेको छ । हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्छ । महिलालाई मायादया गरेर चेली भन्नु भन्दा पनि महिलालाई कसरी अगाडि बढाउने, उनीहरूलाई कसरी अवसर दिने भन्ने कुरामा ध्यान दिनुपर्छ । यस्ता विषयमा सदनमा बहस हुनुपर्ने धमला बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४