काठमाडौं । अमृत साइन्स कलेज (अस्कल) क्याम्पसमा शिक्षकहरुबीचको द्वन्द्वले विद्यार्थी मारमा परेका छन् ।
ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फरमेसन टेक्नोलोजी (बीएस्सी सीएसआईटी) पाँचौ सेमेष्टर र सातौं सेमेष्टरका विद्यार्थीहरू शिक्षकहरुको आन्दोलनको कारण पढ्न नपाएको बताउँछन् ।
पाँचौ सेमेष्टरका विद्यार्थी निशान मैनाली पुरै सेमेष्टरभरि जम्मा ३२ दिन पढेर परीक्षाको तयारीमा जुट्न परेको बताउँछन् ।
क्याम्पस तथा शिक्षकहरुको लापरबाहीले विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको भन्दै उनी आक्रोस पोख्छन् ।
गत भदौ ९ गते चौथो सेमेष्टरका विद्यार्थीहरुको लिखित परीक्षा सकिएको थियो । लगत्तै दुई तीनदिनपछि प्रयोगात्मक सुरु हुनुपर्ने तर १२ दिनपछि सुरु भयो । प्रयोगात्मक परीक्षा सकिएपछि पाँचौ सेमेष्टरमा पढाई शुरु हुुनुपर्थ्यो । तर शिक्षकहरूले तलब नदिएको भनेर ‘पेन डाउन’ गरे । त्यसपछि दशैं तिहारको विदा भयो । तिहार लगत्तै पढाइ सुरु हुनुपर्ने फेरि शिक्षकले तलब नपाएको भनेर कक्षामा गएनन् । प्रदेश तथा प्रतिनिधि सभा सदस्य चुनावको बिदा हुन अघि जम्मा पाँच दिन पढाइ भएको विद्यार्थीहरुको भनाइ छ ।
चुनाव सकिएपछि मंसिर ९ गतेबाट पढाइ सुरु भयो । त्यसपछि भने नियमित हुँदै थियो । पुसको १० गतेतिर आएपछि फेरि तलब नपाएको भन्दै शिक्षकहरुले ‘पेन डाउन’ गरे । त्यसबीचमा पढाइ हुनपर्यो भनेर पटक पटक क्याम्पस प्रमुख तथा विभागीय प्रमुख कहाँ माग लिएर जाँदा पनि सुनुवाइ नभएको उनीहरुको गुनासो छ । पढाइ हुनुपर्छ भन्ने माग लिएर जाँदा विभागीय प्रमुख र क्याम्पस प्रमुखसँगै नबस्ने र एकले अर्कालाई दोषारोपण गर्दै पन्छिने गरेको विद्यार्थी रमेश पोख्रेल बताउँछन् । ‘यसमा हामीलाई पढाउने शिक्षकहरू पनि गल्ति होईन । बिना तलब किन आउनुहुन्छ तर यसको समाधान त क्याम्पस चीफ र एचओडी गर्नुपर्ने हो भनेर उहाँहरू कहाँ गएका हौं तर त्यहाँ जाँदा एचओडी सरले चीफलाई र चीफ सरले एचओडीलााई देखाउनुहुन्थ्यो ।’
यसैबीच त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानको डीन कार्यालयले माघ २७ गतेदेखि परीक्षा सञ्चालन हुने परीक्षा तालिका सार्वजनिक गर्यो । परीक्षा तालिका सार्वजनिक भएपछि विद्यार्थी फेरि पढाइ हुनुपर्ने माग लिएर विभागीय प्रमुख कहाँ पुगे । त्यसपछि पुषको तेस्रो हप्तादेखि पढाई सुरु भयो । पढाइ शुरु भएको चार दिनपछि फेरि शिक्षकले तलब नपाएको भन्दै कक्षामा आउन छोडे । केहीले भने विद्यार्थीको परीक्षा नजिकिएकोले पढाउँदै थिए । तर नियमित पढाइ नहुने भएपछि विद्यार्थीहरु घरैमा बसेर पढ्न थाले । परीक्षाको कारण भर्ना तथा शुल्क तिर्न जाँदा विद्यार्थीहरु भेट भएर केही दिन भएपनि परीक्षा लक्षित पढाई माग्ने भनेर क्याम्पस प्रमुख कहाँ गए । त्यहिबेलाको भिडियो निशान निरौलाले आफ्नो युट्युब च्यानल ‘इन्फ्रिनाइट विथ निशान’ मा समेत राखेका छन् । तर त्यहाँ पनि विभागीय प्रमुख जिम्मेवार हुने र उनीसँगै कुरा राख्न क्याम्पस प्रमुखले जवाफ दिएका छन् ।
तर यसमा पढाउने शिक्षकहरुको गल्ति नभइ क्याम्पस प्रमुख, प्रशासन र विभागको लापरबाही भएको विद्यार्थीहरू बताउँछन् । एक विद्यार्थी भन्छन्, ‘हामीलाई पढाउने शिक्षकले सेलरी पाउनुभएको छैन भने त उहाँहरुको गल्ति होइन क्याम्पस चिफ, एड्मिन र एचओडीको हो । उहाँहरुको लापरबाही देखियो ।’ शिक्षकलाई दिने भनेर विद्यार्थीबाट महँगो शुल्क लिने तर शिक्षकलाई तलब नै नदिने भएकोले छानबीन हुनुपर्ने उनको भनाइ छ । क्याम्पसले चार वर्षे कार्यक्रमको लागि २ लाख ५३ हजार शुल्क तोकेको छ ।
सातौ सेमेष्टरमा पनि नियमित पढाइ नहुने समस्या रहेको विद्यार्थीहरुको गुनासो छ । विद्यार्थी यज्ञराज न्यौपाने ६औं सेमेष्टरको परीक्षा दशैं तिहार अगाडि सकिएको बताउँछन् । दशैंतिहार लगत्तै कक्षा सुरु हुनुपर्ने भए पनि शिक्षकहरूको आन्दोलनको कारण पुषको तेस्रो हप्तादेखि मात्रै पढाइ भएको बताउँछन् । उनी भन्छन्, ‘बल्ल १५ दिन जत्ति भएको छ कक्षा पढाई भएको ।’
डीन कार्यालयले परीक्षा फाराम माघ २५ सम्म अन्तिम समयावधि तोकेको छ । एउटा सेमेष्टरमा सैद्धान्तिक ९० दिन र प्रयोगात्मक पढाइ हुनुपर्छ । तर अस्कलमा शिक्षकहरु बीचको द्वन्द्वले पढाइ नै नहुने स्थिति देखिएको छ । न्यौपाने भन्छन् , ‘पार्ट टाइम शिक्षकहरुले तलब नपाएको भनेर पेन डाउन भएको हो भन्ने बुझेको हो । बल्ल कुरा मिलेको भनेर दुई चार दिन भयो पढाइ सुरु भएको छ ।’
एक आंशिक शिक्षक पाँचौ सेमेष्टरका विद्यार्थी भने साँच्चै अन्यायमा परेको तर सातौंकोलाई नियमित पढाउने निर्णय भएको बताउँछन् । ‘पाँचौको लाई चाँहि अलि अन्याय भएकै हो । विद्यार्थीको मर्का बुझेरै अहिले जत्ति पनि पढाएका हौं । फेरि हामी पनि अन्यायमा परेकै भएर आन्दोलन गरेका हौं,’ उनी भन्छन् ‘हाम्रो समस्या सम्बोधन अझै भएको छैन तर विद्यार्थीको मर्का बुझेर चलिरहेको सेमेष्टरको विद्यार्थीको पढाइ भने नियमित गर्ने भएका छौं ।’
क्याम्पसमा पढाई हुँदा पनि विद्यार्थी समस्या नै समस्यामा घेरिएर पढ्न बाध्य भएको बताउँछन् । नियमित पढाई नहुने, ल्याब व्यवस्थित नहुनु, कक्षा कोठाको अभाव, पुस्तकालयमा पुस्तक अभाव जस्ता समस्या रहेको गुनासो गर्छन् । विद्यार्थी यज्ञराज भन्छन्, ‘साइन्स क्याम्पस भनेको छ ल्याबमा सबै कम्प्युटर पनि चल्दैन, ल्याबमै बसेर थ्योरी पनि पढ्नुपर्ने सबै विद्यार्थी आयो भने त्यहाँ पनि बस्ने सिट पुग्दैन ।’
यज्ञराजको गुनासो जायज भएको अर्का एक आंशिक शिक्षक बताउँछन् । विद्यार्थीले ल्याब, कक्षा कोठा जस्ता पूर्वाधार अभाव हुनको लागि क्याम्पसको मात्रै नभएर कार्यक्रम सञ्चालनको अनुमति तथा अख्तियारी गर्ने जिम्मेवारी पाएको विज्ञान तथा प्रविधि संस्थानको डीन कार्यलयको पनि कमजोरी रहेको बताउँछन् ।
उनी भन्छन्, ‘वास्तवमा यहाँ विद्यार्थीहरुलाई विविध समस्या छ । प्राक्टिकल गर्नको लागि गतिलो ल्याव छैन, कक्षा छैन । क्याम्पसको कमजोरी त छ नै अर्को सम्बन्धन तथा अख्तियारी गर्ने निकाय डीन कार्यलय पनि कमजोरी छ ।’ कार्यक्रम सञ्चालनको लागि पर्याप्त पूर्वाधारको अनुगमन तथा निरीक्षण नगर्दा विद्यार्थी मारमा पर्ने उनको भनाइ छ ।
के भन्छन् शिक्षक, विभागीय प्रमुख र क्याम्पस प्रमुख
अस्कल क्याम्पसमा बीएससी सीएसआईटी अध्यापन गराउने मात्रै २५ जना आंशिक शिक्षक छन् । ९८ प्रतिशत कक्षा भार आंशिक शिक्षकले धानिरहेका छन् । त्यसमध्ये साउनदेखि यता नयाँ सेमेष्टर शुरु भएको दोस्रो, तेस्रो, पाँचौ सेमेष्टरका शिक्षकहरुले साउनदेखि यताको तलब पाएका नपाएको र त्यो भन्दा अघिदेखि नियमित भईरहेको सेमेष्टरहरुका शिक्षकहरुले भने दशैंमा तलब पाएको एक आंशिक शिक्षकले बताए ।
क्याम्पस प्रमुख लोक बहादुर बराल आंशिक शिक्षकहरुलाई के को आधारमा तलब दिने भन्ने विवादले समस्या भएको बताउँछन् । उनी भन्छन् ‘त्रिविले सेमेष्टर प्रणालीको कार्यक्रममा क्रेडिट आवरमा पढाइ गन्ती हुन्छ तलब पनि त्यहि अनुसार दिनुपर्ने नियम छ । त्यसैले क्रेडिट आवरमा दिऊँ भन्दा हेड अफ डिपार्टमेन्टले पिरियड बेसिसमा दिनुपर्छ भनेकाले समस्या भईरहेको हो ।’ उनको भनाइ अनुसार ‘क्रेडिट आवर बेसिस’ मा तलब दिने निर्णय भइसकेपछि विभागले नमान्दा तलब निकासा गर्न समस्या भएको हो । तर यो समस्याको समाधान चाँडै निकाल्ने जिकिर गर्छन् ।
तर यता विभागीय प्रमुख विनोद अधिकारी भने थ्री क्रेडिट आवर्स कोर्षको जिम्मेवारी एकै व्यक्तिलाई दिन खोजिएको र क्रेडिट आवरमा दिँदा पिरियड बेसिस भन्दा बढी कलेजलाई आर्थिक भार पर्ने भएकोले असहमति जनाएको जिकिर गर्छन् । उनी भन्छन्, ‘मैले त प्रशासनले निर्णय गरेर दिनुहोस तर यो आर्थिक कुरामा मलाई हस्ताक्षर गर्न नलगाउनुहोस् भनेको हो ।’
एक आंशिक शिक्षक क्याम्पस प्रमुख र विभागीय प्रमुखको स्वार्थको द्वन्द्वले आंशिक शिक्षक र विद्यार्थी मारमा परिरहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले यो बेसिसमा र यत्ति तलब पाउनुपर्छ भन्ने खालको माग गरेका छैनौं । तर हामीले गरेको कामको मुल्य पाउनुपर्छ भन्ने मात्रै हो । उहाँहरुबीचको के को लडाइँ हो बुझ्न सकिएको छैन ।’
आंशिक शिक्षकले पिरियड बेसिसमा (एउटा पिरियडको ८ सय) तलब पाउँदै आएकोमा प्रशासनले नै अब क्रेडिट बेसिसमा एक हजार हुने सूचना दिएको विभागीय प्रमुख र क्याम्पस प्रमुखको द्वन्द्वका कारण तलब नपाएको र के आधारमा पाउने भन्ने पनि स्पष्ट नभएको उनी बताउँछन् ।
क्याम्पसका एक प्राध्यापक राजनीतिक नियुक्तिले भ्रष्टहरुको जमात बढाएको र त्यस्ता व्यक्तिहरुले क्याम्पस, विद्यार्थीको भन्दा व्यक्तिगत लाभहानीमा केन्द्रित हुने भएकोले क्याम्पसको शाख गिराउँदै लगिरहेको बताउँछन् ।
अहिलेको तलबको मुद्दा आर्थिक चलखेल र राजनीतिक स्वार्थ जोडिएको उनको बुझाइ छ । उनको भनाइ अनुसार क्याम्पस प्रमुख र विभागीय प्रमुख फरक राजनीतिक दलबाट नियुक्त भएकोले समाधान हुन नसकेको हो ।
क्याम्पस प्रमुख माओवादी र विभाग प्रमुख कांग्रेस निकट हुन् । ‘क्याम्पसमा राजनीतिक नियुक्तिले भ्रष्टहरुको जमात बढाउँदै लगेको छ । अहिले आंशिक शिक्षकलाई तलब नदिनुको मुख्य कारण आर्थिक चलखेलसँग जोडिन्छ । अर्को यी दुई प्रमुखबीचको राजनीतिक स्वार्थ पनि जोडिएको छ,’ उनले भने ।