काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनमा आफ्नै उम्मेदवार तयार गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले राष्ट्रपति पदका लागि आफ्नै दलबाट उम्मेदवार उठाउने निर्णय गरेको हो ।
कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आगामी राष्ट्रपतिका लागि नेपाली कांग्रेसले आफ्नै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग पनि संवाद गर्ने निर्णय भएको जानकारी दिएक छन् । ‘हामीले आगामी राष्ट्रपतिको निर्वाचनमा आफ्नै उम्मेदवार उठाउँछौँ, बैठकमा राष्ट्रपति पदमा उम्मेदवारी दिने र त्यसका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएको छ,’नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले भने ।
बैठकमार्फत नेपाली कांग्रेसले कुनै पनि बहानामा राष्ट्रपति निर्वाचन नसार्न सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ । नेपाली कांग्रेसले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन समयमै हुनुपर्ने भन्दै कुनै पनि बहानामा सार्न नसकिने भनेको हो । ‘राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ, कुनै पनि कारणबाट यसलाई पछि सार्ने काम हुनुहुन्न,’ बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने ।
- पौडेल र सिटौलामध्ये एक
पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभापति शेर बहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आकांक्षीका रूपमा प्रस्तुत गरेका छन् । उनले सम्भावित उम्मेदवारका रूपमा वरिष्ठ नेता पौडेलसँगै सिटौलाको नाम लिएका हुन् ।
आफूले विश्वासको मत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेपाली कांग्रेसलाई पनि सँगै लगेर जानुपर्ने आशयका अभिव्यक्ति दिँदै आएका छन् । राष्ट्रपतिमा माओवादीको साथ पाइने अपेक्षासहित नेपाली कांग्रेस कसरतमा लागेको छ तर, ढुक्क भने छैन । ‘माओवादीले राष्ट्रपतिमा हामीलाई समर्थन गर्छ भन्ने छैन । तर संवादमा रहेका नेताहरूले कोसिस गर्ने हो भन्नुभएको छ,’नेपाली कांग्रेसका एक पदाधिकारी भने ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमा रहेका छन् । पूर्व महामन्त्री कृष्ण सिटौलाले भने पार्टीले आफूलाई उम्मेदवार बनाएको अवस्थामा मात्र नेकपा माओवादी केन्द्रलाई कन्भिस गर्न सहज हुने तर्क गर्ने गरेका छन् । यी दुई नेताबाट राष्ट्रपतिमा एक जनालाई उम्मेदवार बनाउने नेपाली कांग्रेसको तयारी छ ।