काठमाडौं । महाधिवेशन आउन तीन वर्ष बाँकी छँदै नेपाली कांग्रेसको नेता डा.शेखर कोइराला– महामन्त्री गगनकुमार थापा समूहभित्र आगामी नेतृत्वलाई लिएर फरक–फरक मतहरु प्रकट भएका छन् ।
संसदीय दलको चुनावमा सोचेजति मत नआएको विश्लेषण हुँदै गर्दा यो समूहभित्र एकत्व हुन नसकेको भन्दै नेताहरुले चिन्ता प्रकट गरेका छन् ।
केही नेताहरुले आफ्नो समूहको साझा नेता को हो भन्नेमा अलमल देखिँदा पार्टीभित्रको संघर्षमा सोचेजस्तो सबल प्रस्तुति हुन नसकिरहेको विश्लेषण गरेका छन् ।
संसदीय दलको उम्मेदवार चयन, प्राप्त मत, सरकारलाई विश्वासको मत प्रदान, टिकट वितरण लगायतमा आफ्नै समूह एकढिक्का हुन नसकेकोमा नेता डा. शेखर कोइराला – महामन्त्री गगनकुमार थापा समूहका नेताहरुले असन्तुष्टि राखेका छन् । राष्ट्रिय र पार्टी भित्रको राजनीतिका विषयमा छलफल गर्न बोलाएको बैठकमा नेता डा. शेखर कोइराला र गगनकुमार थापालाई समान धारणा बनाउन सुझाव दिएका छन् ।
आफ्नो समूहबाट संसदीय दलको उम्मेदवार छिटो गरी तय गर्न नसकेकामा शीर्ष तहका नेताहरुलाई प्रश्न उठाइएको थियो । संसदीय दलमा आफ्नै समूहको सबै मत नआउनुको कारण पहिल्याउनुपर्ने मत नेताहरुले राखेका थिए । ‘टिममा विश्वास हुनुपर्यो । संसदीय दलमा आफ्नो पक्षको मत पनि किन आएन ? नेता ह्रदयराम थानीले प्रश्न गरेका छन् ।
सांसद मैना रावल कार्कीले संसदीय दलको नेताको मत परिणामपछि आफूप्रति आशंका गरिएको भन्दै नेताहरुसँग गुनासो पोखिन् । आफ्नो समूहको एकत्व बलियो नहुँदा नै संसदीय दलको निर्वाचनमा आशा गरे अनुरुप मत नआएको नेताहरुको तर्क रहेको थियो ।
समूहलाई थप शक्तिशाली बनाउन १५ औं महाधिवेशन केन्द्रित भएर गतिविधि बढाउनुपर्नेमा सहभागी नेताहरुको जोड रहेको थियो । सभापतिको उम्मेदवार अहिले नै घोषणा गरेर जाँदा समूहको बल बढ्ने र पार्टीमा ऊर्जा थपिने केही नेताहरुले तर्क गरेका थिए ।
उपसभापति धनराज गुरुङले १५ औं महाधिवेशनमा आफ्नो समूहको सभापति घोषणा गरेर जानुपर्ने तर्क राखेका थिए । १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार डा. शेखर कोइरालालाई अहिले नै घोषणा गरेर जान उपयुक्त हुने तर्क उपसभापति गुरुङले राखेका थिए ।
उपसभापति धनराज गुरुङको बोली उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘रूपान्तरण र पुस्तान्तरणको मुद्दालाई डा.शेखर कोइरालाले प्राथमिकता दिनुभएको छ । उहाँलाई सभापतिको उम्मेदवार घोषणा गरेर जाऔं ।
उपसभापति धनराज गुरुङको बोलीमा मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले समर्थन गरेका थिए । ‘१५ औं महाधिवेशमा हाम्रो तर्फको सभापतिको उम्मेदवार डा. शेखर कोइराला दाइ हो भनेर पदाधिकारीले बोल्नुपर्यो’, लिम्बुले बैठकमा भनेका छन् ।
डा. शेखर–गगन पक्षको बैठकको प्रारम्भिक चरणमा बोल्ने सबैजसो नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको टिप्पणी गरेका छन् ।
बैठकको प्रारम्भ गर्दै नेता डा. शेखर कोइरालाले विश्वासको मत दिनु गल्ती भएको स्वीकार गरेका थिए । कार्य सम्पादन समितिको बैठकमा तटस्थ बस्ने प्रस्ताव राखेपनि आफ्नो धारणाको सुनुवाइ नभएको उनले सुनाएका हुन् ।
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन । दिएर गल्ती गरियो । तटस्थ बसौं भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले भने, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नुपर्ने बाध्यता भयो ।
पाँच सांसदले मात्रै विश्वासको दिने निर्णयमा असहमति राखेका थिए । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले विश्वासको मत दिन नहुने पक्षमा थिए । विश्वासको मत दिएर गल्ती गरेको ‘आउटपुट’ आउँदै गरेको बैठकपछि नेता चन्द्र भण्डारीले बताएका छन् । केन्द्रीय सदस्य मुक्ता यादवले कांग्रेसले विश्वासको मत फिर्ता गर्नुपर्ने तर्क राखिन् ।
राष्ट्रपति पद कांग्रेसले पाउने आशा त्याग्न नेताहरुले सुझाव दिएका छन् । पार्टीभित्र राष्ट्रपति पद पाइन्छ कि भन्ने झिनो आशा कांग्रेसभित्र अझै पनि जीवित छ । राष्ट्रपति पदको लोभमा नलागेर प्रमुख प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउन नेताहरुले जोड दिएका छन् । सबै कुरा गुमिसकेर पनि पार्टीको मूल नेतृत्वले चेत नपाएको नेता भण्डारीले बताएका छन् ।
भण्डारी भन्छन्, ‘कांग्रेस प्रतिपक्षमा बस्नुपर्नेमा ‘फिनी हराएको थाहा छैन, गहुँको गेडा गन्छस्’ भने झैं अझै पनि राष्ट्रपति कि के पाउँछु भन्दै हिँड्ने ? केन्द्रीय सदस्य गोविन्द पोखरेलले कांग्रेसले राष्ट्रपति पदको लोभ गर्न नहुने मत राखे । एमालेबाट राष्ट्रपति नभएपनि कांग्रेसले नपाउने उनको निचोड छ ।
‘राष्ट्रपति हामीले पाइन्छ भनेर लोभिनु हुँदैन । राष्ट्रपति एमालेकै ल्याउँछन्, एमालेबाट हुन नसके तटस्थ व्यक्ति ल्याउँछन्’, पोखरेलले भने ।
बैठकमा गठबन्धनको औचित्य स्थापित हुन नसकेको नेताहरुको ठहर गरेका छन् ।
गठबन्धनका लागि मत मागेपनि सरकार बन्न नसकेपछि औचित्य स्वतः सकिएको सहभागीले तर्क गरेका छन् । ‘जनताले ठूलो भरोसा गरेर मत दिए । तर सरकार बन्ने बेलामा किन गठबन्धन टुट्यो, कमी कमजोरी कहाँ भयो, त्यसको समीक्षा गर्नु जरुरी छ,’ भण्डारीले भनेका छन् ।
महाधिवेशनको मतबाट ४० प्रतिशतको हकदार भएकाले त्यसै अनुसार पार्टीभित्र हुने मनोनयनमा स्थान पाउनुपर्ने नेताहरुको धारणा थियो । न्यायोचित अवसरका लागि समूहको मूल नेतृत्वमा रहेका नेताहरुले अडान लिनुपर्ने सुझाव सहभागीले दिएका छन् ।
केन्द्रीय समिति भंग भएका भ्रातृ संस्थामा नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघको कार्यसमितिलाई पूर्णता दिने तयारी पार्टीले गरेको छ । ती भ्रातृ संस्थामा सम्मानजनक हिस्सेदारी नभए कार्यसमितिमा बस्न नहुने नेता जगदिश्वर नरसिंह केसीको राय छ ।
‘लोकतान्त्रिक प्रक्रियाद्वारा भ्रातृ संस्थाको नेतृत्व निर्माण गरिनुपर्नेमा आन्तरिक लोकतन्त्रलाई भित्रभित्रै कीरा पारेर पार्टीलाई मक्काउन लागिएको छ,’ केसीले भने ।
भ्रातृ संस्थामा क्षेत्रीय र क्लष्टर मिलाएर सम्माजनक हिस्सेदारी पाउनुपर्ने माग डा. शेखर–गगन पक्षका नेताहरुको छ । भ्रातृ संस्थामा न्यायोचित हिस्सेदारी नदिएर पेल्ने कार्य भए समानान्तर समिति बनाउनु आवाज उठेको नेता भूपेन्द्रजंग शाहीले बताएका छन् ।
डा. शेखर–गगन पक्षको बैठकको थप रोचक पक्ष यस समूहको बैठकमा पहिलोपटक उर्मिला थपलिया पनि सहभागी भइन् । नेता डा. शशांक कोइराला निकट उनी उक्त पक्षको बैठकमा यसअघि सहभागी नभएको एक केन्द्रीय नेताले जानकारी दिएका छन् । साथै, यसै समूहको बैठकमा विरलै देखिने सन्तोष चालिसे पनि आजको छलफलमा सहभागी भएका थिए । बैठकमा २६ सांसद सहभागी थिए ।
शीर्ष तहबाट धारणा राख्नेमा उपसभापति गुरुङ मात्रै छन् । अन्य नेताहरुले मंगलबार विहान हुने बैठकमा आफ्नो विचार राख्ने भएका छन् ।