काठमाडौं । आज (सोमबार) २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । हरेक वर्ष माघ २ गते मनाउने गरिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस पटक भने आइतबार पोखरामा भएको यति एयरलाइन्सकाे विमान दुर्घटनाका कारण स्थगित भएको हाे ।
सरकारले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेकाले कुनै पनि औपचारिक कार्यक्रमहरु नुहने भएको हो । १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ बजे महाभूकम्प गएको दिन पारेर हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।
२५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस सरकारी स्तरमै मनाउने तयारी थियो । सरकारले राष्ट्रिय शोक घोषणा गरेर बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्री लगायत आउने कार्यक्रम समेत स्थागित गरिएको प्रचारप्रसार उपसमितिको सदस्य सचिव समेत रहनुभएका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।
‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी थियो । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
भविष्यमा आउन सक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । सोमबार स्थगित गरिएका कार्यक्रम एक हप्ताभित्र गरिने जनाइएको छ ।