Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा सांसदमाथि सहकारीको लाखौं हिनामिना आरोप विवाद मिलाइदिन पोखरा महानगरमा निवेदन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २८ २०७९
  • 4.3K
    SHARES

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । श्रेष्ठले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुतिक सांसद बनेका श्रेष्ठ कात्तिक ९ गतेसम्म पोखरा रत्नचोकस्थित साथी किसान सहकारी संस्थाको अध्यक्ष थिए । कात्तिक ९ गते भएको संस्थाको २० औं साधारण सभाले डा. सनी पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । उक्त सहकारीले विशेषगरी कुखुरा पालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आइरहेको थियो । किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरुबाट हुर्केका कुखुरा खरिद गरेर बिक्री गर्ने काम गर्दै आइरहेको छ ।

तर, कुखुरा खरिदबिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको हालको कार्यसमितिले बताएको छ । हालको नेतृत्वलाई सांसद श्रेष्ठ नेतृत्वको निवर्तमान कार्यसमितिले कुनै पनि हिसाब नबुझाउँदा सेवाग्राहीले आफूले गरेको बचतसम्म फिर्ता नपाउने स्थिति बनेको हालका अध्यक्ष डा. पाठकले गुनासो गरेका छन् ।

‘हामीलाई पनि उहाँ (डा. श्रेष्ठ) ले आफैं तोकेर नै मनोनित गर्नु भएको हो । म पनि भेटनरी डाक्टर नै हुँ । आफू पनि सिकौंला, राम्रो गरौंला भनेर हुन्छ भन्यौं ।प्रतिवेदनमा पनि संस्था ६–७ लाख रुपैयाँ नाफामा देखाइएको थियो’, डा. पाठकले भने, ‘अहिले पो थाहा भयो, संस्था डामाडोल रहेछ । हिसाबकिताब कसरी मिलाउने ?’ संस्थाका कोषाध्यक्ष तारापति सुवेदीले नयाँ कार्यसमिति गठन गर्दा नै झुठो प्रतिवेदन देखाएर आफूहरुलाई फसाएको आरोप लगाएका छन् । ‘अर्कै फिल्डको मान्छे, सहकारीमा लागेर सहयोग गर्न खोजेको भन्ने भयो,’ उनले भने, ‘प्रतिवेदन र सहकारीको हिसाबकिताब केही मेल खाँदैन । राम्रै होला भनेर जोडिएको हुँ । अहिले घरबारै बेच्नुपर्ने स्थिति आउन लाग्यो ।

तारापतिले कोषाध्यक्ष पद सम्हाल्दा १ करोड ३ लाख रुपैयाँभन्दा बढी बजारबाट उठ्न बाँकी रहेको भेटिएको सुनाए । तर, त्यसमध्ये विभिन्न मासु पसलको नाममा गएको ९९ लाखको कुनै पनि कागजपत्र नभेटिँदा रकम उठाउन नसकिएको उनले भनाइ छ । ‘९९ लाखको कुनै प्रमाण छैन । तमसुक पनि छैन । विभिन्न मासु पसलको नाममा गएको देखिन्छ,’ कोषाध्यक्ष तारापतिले महानगर सहकारी महाशाखामा भने, ‘फिल्डमा जाँदा कुनैकुनै पसल नै भेटिएन, कुनै उहिल्यै छोडेर भागिसकेको भेटियो । भएकासँग पनि प्रमाणबिना कसरी झगडा गर्दै हिड्ने ?

अध्यक्ष डा. पाठकले प्रतिनिधि सभा चुनाव अगाडि नै यो कुरा उठे पनि निवर्तमान श्रेष्ठले विभिन्न बहाना गरेर पन्छिँदै आएको सुनाए । ‘पहिले राजनीतिमा लाग्छु, तपाईंहरु संस्था सम्हाल्नुुस् भनेर हामीलाई मनोनित गर्नुभयो । पछि सांसद हुने भएँ, पछि मिलाउँला भन्नुभयो,’ उनले भने, ‘अहिले सम्पर्क गर्न खोज्दा मन्त्रीका लागि लबिङ गर्दैछु, व्यस्त छु भन्दै आउनुभएको छ ।

‘सबै हेरेर ल है भनेर टीकाटालो गरेर फूल अधिवेशन गराएर, साइन गराएर, बन्द सत्र, खुला सत्र सब गरेर छोडेको हो, केही कुरा छ भने त्यसलाई हेर्न सकिन्छ । अहिलेका अध्यक्ष र सचिवलाई राखेर हेर्नुपर्‍यो, अहिले म संसदमा छु माथि उठ्नुपर्ने रकमको स्रोत नै नखुल्दा बचतकर्ताहरुलाई रकम फिर्ता गर्नसमेत संस्थासँग रकम नभएको संस्थाले जनाएको छ । संस्थाले बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि अहिले एकअर्काबीच आरोप प्रत्यारोप चलेको छ ।

पुरानो कार्यसमितिमा पनि सदस्य रहेका हालका सहसचिव हर्क नेपालीले आफूले पनि डा. ढाकाकुमारलाई पटकपटक खबर गरिसकेको सुनाए । ‘यसरी हिँड्न मिल्दैन भनेर पटकपटक भनेकै हो । किन के कमजोरी भएको हो भन्ने प्रष्ट नहुँदासम्म उन्मुक्ति पाउनुहुन्न भनेकै हो,’ उनले भने, ‘उहाँ संस्थापक पनि भएकाले यसबाट पन्छिन मिल्दैन ।’ पहिले र अहिले दुवैमा उपाध्यक्ष रहेका चेत हमालले भने संस्थाले कार्यालय स्थापना, संस्थाको भवन बनाउँदा र कर्मचारीको तलबमा ठूलो पुँजी खर्च भएकाले घाटामा जानुपरेको सुनाए । ‘नाफाबाट कर्मचारी पाल्नुपर्नेमा पुँजीबाटै राख्यौं । भवन पनि बनायौं, अफिस बनायौं ठूलो खर्च भयो,’ उनले भने, ‘हिनामिना नै हो भन्ने मलाई लाग्दैन ।’

पीडितको महानगरमा निवेदन

साथी किसान सहकारी संस्थामा बचत गरेका सेवाग्राहीले आफूले जम्मा गरेको रकम निकाल्न नपाएको भन्दै महानगरमा निवेदन दिएका छन् । सोही विषयमा महानगरले बिहीबार सहकारी संस्था र पीडित पक्षलाई छलफलका लागि बोलाएको थियो । छलफलमा सहभागी हुन आएका पीडितहरुले आफूहरुले संस्थासँग बचत पैसा माग्दा अघिल्लो कार्यसमितिलाई देखाउने र अघिल्लोले अहिलेको कार्यसमितिलाई देखाउने गरिरहेको दुखसो पोखे । ‘हामीले ढाका सरलाई पनि फोन गरेको हो । तर, उहाँले अपशब्द गाली गर्दै मैले अफिस छोडिसकें, अबदेखि फोन नगर् भनेर गाली गर्नुभयो,’ एक पीडितले भने, ‘नम्बर दिनेलाई पनि गाली गर्नुभएछ ।

सहकारीमा दैनिक बचत उठाउँदै आएकी कर्मचारी लक्ष्मी नेपालीले अहिले सेवाग्राहीले आफूसँग गुनासो गरिरहेकाले तनाव झेल्नु परिरहेको सुनाइन् । ‘मैले ८० जना कस्टुमरको पैसा उठाउँथें । उहाँहरुको जम्मै पैसा मैले अफिसमा सिस्टममै चढाएर राखेको छु । त्यो अहिले पनि हेर्न सकिन्छ,’ उनले भनिन्, ‘अहिले कस्टुमरले मलाई एकदमै प्रेसर दिइराख्नु भएको छ, उहाँहरुसँग उठाएको त मैले हो नि !

पोखराकै शान्ति श्रेष्ठले आफूले सहकारीमा मुद्दति खातामा १५ लाख रुपैयाँ जम्मा गरेकोमा पटकपटक गरेर १० लाख निकालिसकेकोमा अब ५ लाख बाँकी रहेको बताइन् । तर, उक्त रकम निकाल्न कात्तिकदेखि नै प्रयास गरे पनि अहिलेसम्म सफल नभएको सुनाइन् । ‘त्यो ५ लाख पनि कात्तिकबाटै ल..लल.. भनेर झुलाइराख्नुभयो । मैले आफूले दुख गरेर राखेको पैसा पनि झिक्न पाइनँ,’ उनले भनिन्, ‘ऊसले उसलालाई देखाउँछन्, उल्ले ऊलाई देखाउँछन् । ढाका सरलाई भन्दा मैले छोडिसकें भन्नुहुन्छ ।

महानगर सहकारी महाशाखा प्रमुख भरतराज पौडेलले अघिल्लो कार्य समितिलाई देखाएर अहिलेका सदस्यहरु जिम्मेवारीबाट भाग्न नमिल्ने सुनाए । उनले आर्थिक हिनामिनाबारे संस्थागत विषय भएकाले बचतकर्ताले आफूले पाउनुपर्ने रकम अधिकार भएको र त्यो संस्थाकै दायित्व हुने बताए । संस्थामा हाल देखिएको समस्या समाधानका लागि महानगरले समन्वयकारी भूमिका खेल्ने महाशाखा प्रमुख पौडेलको भनाइ छ । ‘छानबिन हुन्छ । जस्तोसुकै ठूलो ओहोदा, पदमा बसे पनि कानुन पालना गर्नैपर्छ, ढुक्क हुँदा हुन्छ,’ उनले भने ।

सांसद श्रेष्ठ भन्छन् : सबै बुझाएर टीकाटालो गरेर निस्केको हुँ

आर्थिक हिनामिना आरोप लागेकासांसद ढाकाकुमार श्रेष्ठले बजारबाट पैसा उठ्नमात्रै बाँकी रहेको र कुनै सदस्यले हिनामिना गरेको भए आफूलाई जानकारी नभएको सुनाए । राजनीतिमा आउने भएपछि सबै जिम्मेवारी बुझाएर नै आफू संस्थाबाट अलग भएको निर्वतमान अध्यक्षसमेत रहेका सांसद श्रेष्ठले सुनाए । ‘अडिट गरेर, रिपोर्ट गरेर जम्मै बुझाएको हो । अधिवेशन गरेरै बुझाएको हो । म त अझ कार्यवाहक दिएरै छोडेको हो..पोलिटिक्समा लागियो नि त,’ उनले भने, ‘अधिवेशनको ३–४ महिना अगाडिबाटै चेत हमाललाई कार्यवाहक दिएर छोडेको हुँ मैले ।

अधिवेशनमा आफूले अडिट र रिपोर्ट हेरेर संस्थाको जिम्मेवारी छोडेको सुनाए । ‘सबै हेरेर ल है भनेर टीकाटालो गरेर फूल अधिवेशन गराएर, साइन गराएर, बन्द सत्र, खुला सत्र सब गरेर छोडेको हो,’ उनले भने, ‘केही कुरा छ भने त्यसलाई हेर्न सकिन्छ । अहिलेका अध्यक्ष र सचिवलाई राखेर हेर्नुपर्‍यो, अहिले म संसदमा छु माथि ।

सांसद श्रेष्ठले यही विषयमा विवाद भएको थाहा पाएर बीचमा बैठक बस्न पनि खोजेको तर, हालकै कार्यसमिति नआएको सुनाए । ‘३ दिन पोखरा बसेथें । हेल्प गर्न खोजेको तिनीहरु आएनन्, जनवरी फस्र्ट थियो, यता संसद बसेको भएर आउनुपर्‍यो,’ उनले भने, ‘मैले गर्नुपर्ने सहयोग गर्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४