काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच अलग्गै छलफल भइरहेको हो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले कांग्रेस र माओवादी केन्द्रको नेतृत्वबीच छुट्टै छलफल जारी रहेको बताएका छन् । दुई शीर्ष नेताहरुको छलफलपछि सत्ता गठबन्धनको बैठक बस्ने तयारी छ । सत्ता गठबन्धनको बैठक अघि कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमै बसेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिएकी छन् । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ ।
यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन । सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिको सम्भावनालाई ख्याल गर्दै कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
“निधिले भेटे ओली र प्रचण्डलाई, सरकारको पहिलो चरणको नेतृत्वमा प्रचण्डको दाबी कायमै”
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
शनिबार बेलुका एमाले अध्यक्ष ओलीलाई भेटेका निधिले आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । दुवै भेटमा नयाँ सरकार गठनका विषयमा छलफल भएको स्रोतले बतायो ।
निधिले माओवादी अध्यक्ष प्रचण्डसँग पहिलो चरणमा सरकारको नेतृत्व कांग्रेसलाई छाड्न आग्रह गरेका थिए । तर प्रचण्डले भने पहिलो चरणमा आफूले नेतृत्व गर्न पाउनु पर्ने पुरानै अडान दोहोर्याएका थिए ।
निधिले ओली र प्रचण्डसँगको भेटमा भएका कुराकानीबारे आज बिहान बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा जानकारी गराएका थिए ।
कांग्रेस नेताहरुको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक राखिएको छ । बैठकमा सहभागी हुन नेताहरु बालुवाटार पुग्ने क्रम जारी छ ।