काठमाडौं । राष्ट्रपतिले सरकार गठनको प्रकृया शुरु गरेसँग राजनीतिक दलहरुले शक्ति बाँडफाँडमा प्याकेजमै सहमति हुनुपर्नेमा जोड दिएका छन् । सत्ता गठबन्धनमा सहभागी दलहरुले शक्ति सन्तुलनको आधारमा महत्वपूर्ण पदहरु बाँडफाँड गर्नुपर्नेमा जोड दिएका हुन् । सत्ता गठवन्धनका दलहरु पद बाँडफाँडको जोड घटाउमा लागेसँगै प्याकेजको सहमतिमा जोड दिन थालेको नेकपा एसका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले बताएका छन् ।
उनका अनुसार सत्ता गठवन्धनलाई नै निरन्तरता दिने निर्णय भए पनि प्रधानमन्त्री पदमा भने सहमति जुट्न सकेको छैन । ‘सहमति हुन्छ तर प्याकेजमै सहमती गरौ भन्ने सहयात्री दलहरुको जोड छ’, उनले भनेका छन् ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपराष्ट्रपति, राष्ट्रिय सभाको अध्यक्ष लगायतका पदहरुमा प्याकेजमै सहमति भएर अघि बढ्दा राम्रो होला भन्ने प्रस्ताव नेकपा एसले अघि सारेको छ । तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने दाउमा छन् । तर उनको यो दाउलाई कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भन्दै अवरोध गरिरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा पनि पहिलो दल बनेको हिसाबले पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने दाउमा छन् । प्रधानमन्त्रीसंगै राष्ट्रपति र सभामुखलगायत पद कसले पाउने भन्ने चासो र चर्चाको विषय बनेको छ । राष्ट्रपतिमा नेकपा एसले दावी गर्दै गर्दा कांग्रेस सकारात्मक बन्न सक्ने तर माओवादीले दावी गरेका कांग्रेसभित्रै ठूलै विवाद उत्पन्न हुन भएकाले राष्ट्रपति माओवादीलाई दिन सक्ने संभावना निकै कम रहेकाले एसले राष्ट्रपति दावी गरेको स्रोतको दावी छ । माओवादीले सभामुख पाउने सम्भावना रहेको गठबन्धनका नेताहरु बताउँछन् ।
माओवादीले सभामुख पाएको खण्डमा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै दाङबाट निर्वाचित सांसद रेखा शर्मालाई अघि सार्ने तयारी गरेको स्रोतको दावी छ । त्यस्तै, कांग्रेसबाट अर्जुननरसिंह केसीलाई सभामुखमा अघि सार्नै तयारीमा रहेको स्रोतको दावी छ । कांग्रेसले प्रधानमन्त्री पाए माओवादीलाई राष्ट्रपति र एकीकृत समाजवादीको भागमा सभामुख पर्ने नेताहरु बताउँछन् । समाजवादीले सभामुख पाए वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रकाश ज्वालामध्ये एकलाई अघि सार्ने तयारी छ । ‘यी अनुमान मात्रै हुन यद्यपि अहिलेसम्म कांग्रेसले मुख खोलेको छैन, एस पार्टी र माओवादीले चाहे जस्तो सजिलो पनि छैन,’ नेकपा एसका एक नेताले भनेका छन् ।
उता नेकपा (एकीकृत समाजवादी)ले सम्मानजनक पद बाँडफाँड भएमा सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सारेर आफ्नो उपस्थिति जनाउने भएको छ । मंसिर ४ को निर्वाचनमा कांग्रेसको साथ पाएर पनि इलाम क्षेत्र नं १ बाट नेकपा एमालेसँग पराजित भएका खनाललाई अघि सारेर सत्ता बाँडफाँडमा बार्गेनिङलाई बलिायो बनाउन थालेको छ ।
नेता खनालले पनि पार्टीले राष्ट्रपति पद पाउने भएको अवस्थामा आफू त्यो जिम्मेवारी लिन तयार भएको बताएका छन् । ‘सरकार गठन गर्दा शक्ति सन्तुलन मिलाउनु पर्ने हुन्छ, त्यसमा नेकपा एसले राष्ट्रपतिको दावी गर्ने छ त्यसका लागि आफू तयार छु’, खनालले भने । इलाममा आफूलाई षडयन्त्र गराएर हराएको बताउदै त्यसको लागि सर्वोच्च अदालतमा मुद्धा दायर गरेको पनि बताएका छन् । शक्ति बाँडफाँड र सन्तुलन मिलाउने क्रममा नेकपा एसलाई राष्ट्रपति भागमा पर्ने पनि उनको भनाई थियो । आइतबारको पार्टी सचिवालय बैठकमा पनि खनालाई राष्ट्रपतिमा अघि बढाउन सकिने गरी प्रस्ताव गरिएको भएपनि त्यसलाई एस पार्टीले बाहिर ल्याएको छैन ।
उदयपुरमा रहेका एस पार्टीको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनबाट सरकार निर्माण गर्ने क्रममा पार्टीले राष्ट्रपतिमा दावी गरेको त्यसमा खनाललाई प्रस्ताव गरिने र त्यो निर्विवाद हुने बताएका छन् । ‘पार्टीको बटमलाइन राष्ट्रपति हो प्रधानमन्त्री होइन त्यसकारण राष्ट्रपतिमा खनाललाई अघि सारिनेछ’, प्रचार विभाग प्रमुख समेत रहेको उपमहासचिव खतिवडाले भनेका छन् । उनले तत्कालै बामपन्थीहरुको सरकार नबन्ने भएकाले खनाल नै राष्ट्रपति बन्नेमा शंका नभएको पनि दावी गरेका छन् । उता खनालले पनि एमालेसँग कुनै पनि प्रकारको सहकार्य नहुने बताएका थिए ।