काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए ।
निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए ।
०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेका थिए । दलको नेता भएकै कारण उनी ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बनेका थिए । पार्टीभित्रको समीकरणलाई सहज बनाउन सभापति कोइरालाले ०५६ मा अर्का नेता कृष्णप्रसाद भट्टराईलाई चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका थिए ।
चुनावपछि संक्षिप्त समयका लागि प्रधानमन्त्री हुने बाटो पनि दिएका थिए । तत्कालीन माओवादी द्वन्द्व व्यवस्थापनमा भट्टराई र कोइराला असफल भएपछि देउवा दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका थिए ।
०६२/६३ को परिवर्तनयता पनि देउवा चौथो र पाँचौं पटक प्रधानमन्त्री भएका छन् । उनी संसदीय दलका पछिल्ला सबै निर्वाचनमा प्रतिस्पर्धी रहँदै आएका छन् । ०६४ मा देउवालाई पराजित गरेर पौडेल दलको नेता भएका थिए । तर, प्रधानमन्त्रीका लागि संसमा १७ पटक प्रतिस्पर्धा गर्दा पनि उनी विजयी भएका थिएनन् ।
०७० मा संविधानसभाको दोस्रो निर्वाचनपछि तत्कालीन पार्टी सभापति सुशील कोइरालासँगको स्पर्धामा पनि देउवा पराजित भएका थिए । सुशीलको निधनपछि १३ औं महाधिवेशनमा देउवा सभापति चुनिए, त्योबीचमा प्रधानमन्त्री पनि भए । ०७४ को निर्वाचनपछि उनी नै संसदीय दलको नेतामा निर्वाचित भए ।
त्यतिबेला देउवासँगको प्रतिस्पर्धामा प्रकाशमान सिंह मैदानमा थिए । प्रकाशमान अघि सर्दा सबैभन्दा अग्रमोर्चामा रहेर गगनले उनलाई साथ दिएका थिए । अहिले गगन मैदानमा आउँदा भने प्रकाशमान उनको पक्षभन्दा बाहिर गएका छन् ।
यस पटक भने लामो समयदेखि नेतृत्व परिवर्तनको आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल मुद्दा विसर्जन गर्दै देउवाकै प्रस्तावक बसेका छन् । पौडेलको प्रस्तावमा पूर्णबहादुर खड्का समर्थक थिए । थापाको प्रस्तावकमा शेखर कोइराला थिए भने युवा नेताहरू धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गरेका थिए ।
नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुँदा महामन्त्री गगनकुमार थापाले २५ मत पाएका छन् । यो सस्थापन इतरसमूहको संख्याभन्दा कम मत हो । मंगलबार भएको सहमतिमा थापाका पक्ष्ँमा ३९ मत देखिएको थियो । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।