Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुस्तान्तरणको पक्षमा प्रदीपको ‘बोल्ड’ निर्णय कांग्रेसमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ६ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । एकातिर कृष्णप्रसाद सिटौला, अर्कातिर गगनकुमार थापा । एकातिर पार्टीको १४औं महाधिवेशनमा आफूले कुनै पद नलिई महामन्त्रीको उम्मेदवार बनाएको, अनि हालैको प्रतिनिधिसभा निर्वाचनमा आश मारिसकेको टिकट दिलाएर लगाएको गुन, अर्कातिर राजनीतिप्रति विश्वास जगाउने मतदातासँग गरेको बाचा । दुईमध्ये एक रोज्न नेपाली कांग्रेसका सांसद प्रदीप पौडेललाई सहज थिएन ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकै दिनदेखि प्रदीपलाई एउटा छाडेर अर्कोतिर लाग्नुपर्छ भन्ने थियो । तर कता छाड्ने र कता लाग्ने भन्ने निर्णयमा पुग्न सकिरहेका थिएनन् ।

काठमाडौंका सचेत मतदातासँग गरेको बाचा भुलेर दिगो राजनीति गर्न सकिन्न भन्ने बुझेका प्रदीपले निर्णयका लागि सहज वातावरण बनाउन प्रयास पनि गरे । त्यो पनि भएन । बरु नेताहरुले अप्रत्यक्ष रुपमा शेरबहादुर देउवाको पक्षमा उभिँदा आउनसक्ने अवसरहरु देखाउन थाले ।

नेताहरुका अनुसार प्रदीपले गगनलाई साथ दिने मन बनाइसकेका थिए । तर गगनले स्वयं आफ्नो समूहका नेता शेखर कोइरालाको मन जित्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न थियो । किनकी डा. शेखर आफैं दलको नेतामा चुनाव लड्ने मुडमा थिए । शेखर र गगन नै आपसमा भिडेको बेला प्रदीप कहाँ भिड्छन् भन्ने प्रश्नमा अहिले जस्तो माने राख्ने थिएन ।

मंगलबार उम्मेदवारी दर्ताको दिन बिहान डा. शेखर संसदीय दलको नेतामा गगनलाई अघि सार्न सहमत भए । त्यसपछि निर्णय लिने पालो आयो प्रदीपको । उनी पूर्व महामन्त्री कृष्ण सिटौलालाई भेट्न गए । देश, कांग्रेसको भविश्य र आफ्नो अवस्थाका कारण गगनलाई समर्थन गर्न लागेको सुनाए । १४औं महाधिवेशन अघिसम्म त गगन र प्रदीप दुवै सिटौला समूहमा थिए । १३औं महाधिवेशनमा सिटौलाले सभापतिमा प्रतिस्पर्धा गर्दा गगन महामन्त्रीको उम्मेदवार थिए । सिटौला र गगन दुवैले हारे । प्रदीपले भने केन्द्रीय सदस्यको चुनाव जितेका थिए ।

महाधिवेशनपछि पनि तीनैजना एकै ठाउँमा थिए । तर सिटौला, जति देउवासँग नजिकिँदै गए, त्यति नै गगन उनीबाट टाढिँदै गए । १४औं महाधिवेशनमा आइपुग्दा गगन संस्थापन इतर समूहबाट निर्विकल्प महामन्त्रीको उम्मेदवार बने । सभापतिमा सहमति नजुटेपछि शेखर कोइरालाले गगनसहित युवा नेताहरुलाई लिएर प्यानल बनाउँदा कृष्ण सिटौलाले देउवासँग सहकार्य रोजे र आफ्नो समूहको तर्फबाट प्रदीपलाई महामन्त्री र उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाए ।

गगनले चुनाव जित्दा प्रदीप हारे । सभापतिको चुनाव जितेका देउवाले प्रदीपलाई केन्द्रीय सदस्यमा मनोनित गरे । उनीभन्दा सिटौंलासँग नजिक रहे । प्रतिनिधिसभा चुनाव तय भएपछि प्रदीपले तनहुँ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चाहे । क्षेत्रबाट पनि उनको नाम आयो, तर नेताहरुको व्यवस्थापन गर्ने नाममा उनले टिकट नै पाएनन् । तनुहँ १ मा रामचन्द्र पौडेल उम्मेदवार बन्दा २ मा शंकर भण्डारीले टिकट पाए । नेताहरुका अनुसार उम्मेदवारी दर्ताको दिन २३ असोजको मध्याह्न बल्ल प्रदीपले काठमाडौं ५ को टिकट पाए । सिटौलाले नै सभापति देउवासँग सम्वाद गरेर उनलाई टिकट दिलाइदिएका थिए । उनी निकट एक नेता भन्छन्, ‘प्रदीपजीले टिकट नपाउँदासम्म उहाँले काठमाडौं छाड्नु भएन, आफ्नो नोमिनेसनमा जानु भएन ।’

     नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल चन्द्र भण्डारी लगाएत् ।

महामन्त्रीको उम्मेदवार बनाएर होस् वा काठमाडौं ५ को टिकट दिएर होस्, आफूले गुन लगाएका प्रदीपले संसदीय दलको चुनावमा देउवालाई साथ देओस् भन्ने सिटौलाको चाहना थियो । सिटौला निकट एक नेताका अनुसार उनले प्रदीपसँग बरु आफ्नो मत राखे र तिमी आफ्नो निर्णय गर्न स्वतन्त्र छौं भने । तर गुन बिर्सनु हुन्न भनेर सम्झाएका थिए ।

प्रदीपले पनि सिटौलालाई तपाईंलाई म सम्मान गर्छु, तर कांग्रेसको भविश्यलाई अगाडि लैजान र आफूलाई मत दिएर जिताउने मतदाताको चित्त बुझ्ने बाटो रोज्नुपर्ने बताए । स्रोतका अनुसार प्रदीपले पार्टी सभापतिलाई पनि संसदीय दलको नेतामा समर्थन गर्न नसक्ने प्रष्ट सन्देश दिएका थिए ।

लगत्तै उनी गगन लगायतका नेताहरु भएको होटल बसेरा पुगे र गगनको उम्मेदवारीको समर्थकमा हस्ताक्षर गरे । उम्मेदवारी दर्ताका क्रममा पनि अरु समर्थक र प्रस्तावकसहित उनी सिंहदरबार पुगेका थिए ।

१४औं महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्री लडेर पनि संसदीय दलमा गगनलाई समर्थन गर्नुभयो नि भन्ने हाम्रो प्रश्नमा प्रदीपले भनेका छन्, ‘मैले चुनावका क्रममा मतदातासामू राजनीतिमा नयाँ आशा सञ्चार गर्ने छु, तमाम बेथितीहरुका विरुद्ध लड्ने छु भनेपछि मलाई विश्वास गर्नुभयो । त्यसलाई ख्याल गरेरै मैले यो निर्णय लिएको हुँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४