बीपीपछिका पार्टी नेताहरू पनि इतर समूहको चुनौती सामना गरेरै सभापति, दलको नेता र प्रधानमन्त्री भए । यो पृष्ठभूमि हेर्दा सभापति देउवा पनि निर्विरोध संसदीय दलको नेता चुनिने सम्भावना न्यून थियो । गएको वर्ष मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट दोस्रो पटक सभापति बन्दा समेत देउवाले चुनावकै सामना गर्नुपरेको थियो ।
त्यो महाधिवेशनमा देउवासँग डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको मतदानमा ५० प्रतिशत मत कसैले कटाउन नसक्दा सिंह, निधि र गुरुङले दोस्रो चरणमा देउवालाई सघाए । देउवासँग डा.शेखरको प्रतिस्पर्धा भयो । त्यो महाधिवेशनपछि कांग्रेसभित्र रहेको बलियो गुट भनेकै देउवा र कोइरालाको हो ।
त्यसो हुँदा संसदीय दलको नेतामा डा.शेखर स्वभाविक प्रतिस्पर्धी थिए । तर मंगलबार बसेको यो समूहको भेलाले डा. शेखर नभएर महामन्त्री गगनलाई अगाडि बढाउने निर्णय गर्यो । त्यही निर्णय अनुसार, संसदीय दलको नेतामा देउवाविरुद्ध थापाले मंगलबार मनोनयन दर्ता गराएका छन् ।
‘यो चुनावले संख्याको नतिजा मात्रै दिने छैन, कांग्रेसभित्र नयाँ पुस्ता अगाडि बढेको सन्देश पनि दिनेछ’, नेता घिमिरे भन्छन् । नवनिर्वाचित सांसदहरुको पृष्ठभूमि हेर्दा पनि नाटकीय परिवर्तन नभए थापाले जित्न सजिलो छैन । कांग्रेस नेताहरुका अनुसार, ८९ सांसदमध्ये गगनको पक्षमा ३२ जना छन् । दलको नेता जित्न चाहिं ४५ सांसद आवश्यक पर्छ ।
‘चुनाव जित्न नसकेपनि पार्टीभित्र र राष्ट्रिय राजनीतिमै गगन थापा एक कदम अगाडि बढ्ने पक्का भइसक्यो’, कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन् । देउवा र गगनबीचको उमेर मात्रै नभएर आन्दोलनको पृष्ठभूमिले पनि यो प्रतिस्पर्धालाई अर्थपूर्ण बनाएको ती नेता तर्क गर्छन् ।
हुन पनि डा.शेखरले देउवासँग चुनाव लडेका थिए भने उमेर र आन्दोलनका हिसाबले धेरै फरक पर्ने थिएन । ७८ वर्षका देउवा भन्दा डा. शेखर पाँच वर्षले मात्रै कान्छा छन् । यसको अर्थ देउवा र शेखरले उस्तै राष्ट्रिय राजनीतिक परिवेश खेपेर हुर्किए ।
तर महामन्त्री थापा भने ०६२/०६३ सालको दोस्रो जनआन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् । गगन थापा जन्मिनु भन्दा ६ वर्ष पहिले नै देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधिहरुले २०२७ सालमा नेविसंघ स्थापना गरेका थिए । नेविसंघ स्थापना गर्ने यही पुस्ताका नेताहरुलाई अहिले पनि कांग्रेसभित्र स्वभाविक नेतृत्वको दाबेदारका रुपमा हेरिने गरेको छ ।
०५१ सालको चुनावपछि दलको नेता चुनिएर पाँच पटक भइसकेका देउवाको प्रभावकै कारण उनका समकालीन नेता रामचन्द्र पौडेलले सरक्क हात उठाएका छन् । पौडेलको प्रस्ताव र पूर्णबहादुर खड्काको समर्थनमा देउवा दलको नेताका उम्मेदवार बनेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको साथ देउवालाई नै छ ।
महामन्त्री थापाले भने तिनै पुराना पुस्ताको समर्थन पाएका र आफू भन्दा ३१ वर्षले जेठो देउवाविरुद्ध उम्मेदवारी दिएका छन् । देउवा निकट केन्द्रीय सदस्य रामहरि खतिवडा भने यो चुनावलाई पार्टीभित्र रहेको स्वभाविक प्रतिस्पर्धाका रुपमा लिनुपर्ने बताउँछन् । ‘हामीले सधैं चुनाव गर्दै आएका छौं । यो चुनावले लोकतन्त्रलाई बलियो बनाउँछ, त्यो भन्दा बढी सोच्न आवश्यक छैन’, उनी भन्छन् ।
कांग्रेसभित्र भएको संसदीय दलको चुनाव र चुनिएका नेताहरू हेर्ने हो भने पनि गगन थापाको उम्मेदवारीले पुस्तान्तरणको प्रष्ट संकेत दिएको छ । अहिलेसम्म कांग्रेसको संसदीय दलमा पार्टी संस्थापकहरू र त्यसपछि दोस्रो पुस्ताका नेताहरुले मात्रै प्रतिस्पर्धा गरेका छन् । २०१५ सालको चुनावबाट बीपी कोइराला दलको नेता र प्रधानमन्त्री भएका थिए ।
२०४८ सालको चुनावबाट गिरिजाप्रसाद कोइराला दलको नेता बने । त्यो चुनावमा नेकपा एमालेका महासचिव मदन भण्डारीसँग काठमाडौं–१ का उम्मेदवार बनेका पार्टी सभापति कृष्णप्रसाद भट्टराई पराजित भएका थिए ।
०५१ सालको मध्यावधि चुनावपछि शेरबहादुर देउवा दलको नेता भए । त्यही कार्यकालमा देउवा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । पार्टी संस्थापकमध्येका कृष्णप्रसाद भट्टराईलाई उछिनेर युवा अवस्थाका देउवा दलको नेता भएपछि नै उनको राजनीतिक उदय भयो ।
०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको घोषणा गरेरै कांग्रेसले चुनावमा भाग लिएको थियो । त्यसैले भट्टराई निर्विरोध रुपमा दलको नेता चुनिए । तर १० महिना प्रधानमन्त्री चलाएपछि पार्टीभित्रको अन्तर्संघर्षकै कारण भट्टराईले राजीनामा दिए । दलको नेतामा गिरिजा र शेरबहादुरबीच प्रतिस्पर्धा भयो । गिरिजा दलको नेता चुनिए ।
माओवादीको सशस्त्र विद्रोहका क्रममा भएको होलेरी घटनापछि गिरिजाले पनि राजीनामा दिए । फेरि दलको नेता र प्रधानमन्त्री देउवा भए । देउवा प्रधानमन्त्री भएकै बेला कांग्रेस विभाजन भयो ।
०६४ सालमा पहिलो संविधानसभा चुनावमा कांग्रेस जुटिसकेको थियो । देउवा, रामचन्द्र पौडेल र सुप्रभा घिमिरेबीच दलको नेतामा प्रतिस्पर्धा भयो । पौडेलले दलको नेता जिते । ०७० को चुनावमा फेरि देउवा र सुशील कोइरालाबीच प्रतिस्पर्धा भयो । सुशीलले दलको नेता जित्दै प्रधानमन्त्री भए ।
०७४ को चुनावपछि देउवासँग प्रकाशमान सिंहले दलको नेतामा प्रतिस्पर्धा गरे । देउवा दलको नेता चुनिए, गएको वर्ष २९ असारमा पाँचौपटक प्रधानमन्त्री भए । अर्थात् ०१५ सालसहित आठ पटक भएको संसदीय चुनावपछि कांग्रेसका संस्थापक र दोस्रो पुस्ताका नेताहरुबीच दलको नेतामा प्रतिस्र्धा भएको छ, नेता चुनिएका छन् । तर यसपटक पञ्चायतकालको संघर्षमै सहभागी कयौं नेतालाई पन्छाउँदै कांग्रेसभित्र नाति पुस्ता भनिने गगन थापा प्रधानमन्त्रीको उम्मेदवार बन्ने दौडमा होमिएका छन् ।
- नरोकिएका गगन
दलको नेता र प्रधानमन्त्री बन्ने घोषणा भने महामन्त्री थापाले चुनाव अगाडि नै गरेका थिए । काठमाडौं–४ बाट तेस्रोपटक जितेका ४६ वर्षीय गगनले आफूलाई भावी प्रधानमन्त्री भनेरै मत मागेका थिए । नभन्दै, डा. शेखरलाई १५औं महाधिवेशनमा पार्टी सभापति बन्न सघाउने वचन दिएर गगन संसदीय दलको चुनावमा संस्थापन इतर समूहको उम्मेदवार बनेका छन् ।
थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले समेत समर्थन जनाएका छन् । १४औं महाधिवेशनमा भने शर्मा र पौडेल अलग समूहबाट उम्मेदवार थिए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट नेता पौडेलले देउवाको प्यानलबाट महामन्त्री लडेका थिए भने प्रकाशमान सिंहको प्यानलबाट शर्मा महामन्त्री पदको उम्मेदवार थिए । शर्माले जित्दा पौडेल पराजित भएका थिए ।
‘विश्वप्रकाश र प्रदीपको समेत साथ गगनले पाउनु भनेको यसपटक संसदीय दलको चुनावमा कांग्रेसभित्र पुस्तान्तरणको प्रतिस्पर्धा हुनु हो’, कांग्रेसका अर्का केन्द्रीय सदस्य भन्छन् । यसअघि पनि पुराना पुस्ताका प्रभावशाली नेताहरुसँग प्रतिस्पर्धा गरेरै गगनले पार्टीभित्र आफूलाई स्थापित गर्दै आएका छन् ।
दोस्रो जनआन्दोलनका क्रममा राजतन्त्रविरुद्ध चर्को आवाज उठाएका गगन ३१ वर्षकै उमेरमा संविधानसभाका सभासद् भएका थिए । गणतन्त्रको प्रतीक बनेर राष्ट्रिय राजनीतिमा परिचय बनाएका गगनलाई ०६४ सालको पहिलो संविधानसभामा कांग्रेसले समानुपातिक सांसद बनाएको थियो । यसको तीन वर्षभित्रै सर्वाधिक मत ल्याएर गगनले पार्टी केन्द्रीय सदस्य जिते ।
२०७२ को १३ औं महाधिवेशनमा महामन्त्री पदमा चुनाव लडे । बीपी पुत्र शशांक कोइरालाले महामन्त्री जित्दा जित्दा गगनले सम्मानजनक मत ल्याए । त्यो महाधिवेशनमा पार्टीभित्र कृष्णप्रसाद सिटौलाले बनाएको तेस्रो खेमाबाट गगन उम्मेदवार थिए । १४औं महाधिवेशनमा भने कोइराला समूहको आधिकारिक उम्मेदवार बनेर महामन्त्री जिते ।
०७० देखि लगातार काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य जित्दै आएका गगन थापा २०७३ सालमै स्वास्थ्य तथा जनसंख्यामन्त्री भए । स्वास्थ्यमन्त्री बनेको सात वर्षपछि गगन प्रधानमन्त्री बन्ने उद्घोषसहित संसदीय दलको उम्मेदवार बनेका छन् ।
‘कांग्रेसको एकल बहुमत नभएकाले प्रधानमन्त्रीबारे अहिले नै केही भन्न सकिन्न । संसदीय दलको चुनावको नतिजा पनि आउनै बाँकी छ । तर गगन थापा उम्मेदवार बनेर पुस्तान्तरणको सन्देश गइसक्यो’, कांग्रेसका ती नेता भन्छन् । यसपटकको चुनावको जनादेशले पनि युवा नेतृत्वको खोजी भएकाले गगन थापाले जित्नुपर्ने उनको तर्क छ ।
‘४७ वर्षका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जित्नुको मुख्य सन्देश भनेकै मतदाताले पुस्तान्तरण र नयाँ खोज्नु हो’, उनी भन्छन् । कांग्रेस बाहेकका प्रमुख दलमा प्रधानमन्त्री भइसकेका नेता नै संसदीय दलको नेता चुनिएकाले पनि गगनको उम्मेदवारी अर्थपूर्ण देखिन्छ ।
मंगलबार मात्रै एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चुनिएका छन् । तीन पटक प्रधानमन्त्री भइसकेका ७० वर्षे ओलीलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्बाङले समर्थन गरेका थिए ।
ओलीकै उमेरका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता चुनिएका छन् । सोमबार बसेको संसदीय दलको बैठकबाट पार्टी अध्यक्ष नेपाल दलको नेतामा निर्विरोध भएका थिए ।
साढे तीन दशकदेखि पार्टी नेतृत्वमा रहेका पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि माओवादी केन्द्रको संसदीय दलका नेतामा निर्विरोध चुनिदैछन् । प्रचण्डलाई माओवादी केन्द्रले चुनाव अगाडि नै भावी प्रधानमन्त्री भनेर प्रचार गरेको थियो ।
‘हामीले गगन थापालाई अगाडि बढाएर राष्ट्रिय राजनीतिमै सन्देश दिएका छौं । त्यसैले यसपटक कांग्रेस संसदीय दलको चुनाव अर्थपूर्ण छ’, कांग्रेस नेता गुरु घिमिरे भन्छन् ।

