Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्तरार्धमा देउवाले भोग्दैछन् प्रतिकूल परिस्थिति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ५ २०७९
  • 2.1K
    SHARES

सम्भवतः देउवाले इतर समूहबाट सशक्त रुपमा उदाइरहेका गगनलाई देख्दा आफ्नै युवाकाल सम्झँदा हुन् । कांग्रेसमा आफूले जे चाह्यो त्यही गराउने ल्याकत भएका देउवा तिनै नेता हुन्, जो ५० वर्ष नपुग्दै नेपाली कांग्रेसको संसदीय दलको नेता बनेका थिए ।

काठमाडौं । पहिलोपल्ट प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा त्यो उमेर समूहमा थिए, जुन समूहबाट अहिले कांग्रेस महामन्त्री गगन थापाले दाबेदारी पेश गर्दैछन् । संसदीय दलको नेतामा देउवाको उपस्थिति अहिले गगनकै चाहनाजस्तो थियो । आम चासो उनीप्रति बढ्दो थियो । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पार्श्व भागमा धकेलिंदै गरेको, अनि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमाथि प्रश्नैप्रश्न बर्सिएको ।

सम्भवतः देउवाले इतर समूहबाट सशक्त रुपमा उदाइरहेका गगनलाई देख्दा आफ्नै युवाकाल सम्झँदा हुन् । कांग्रेसमा आफूले जे चाह्यो त्यही गराउने ल्याकत भएका देउवा तिनै नेता हुन्, जो ५० वर्ष नपुग्दै नेपाली कांग्रेसको संसदीय दलको नेता बनेका थिए ।

अग्रज गिरिजाप्रसाद कोइरालाले आफ्ना लागि मैदान छाडिदिएपछि २७ वर्षअघि संसदीय दलको नेता हुँदै प्रधानमन्त्री भएका देउवा अहिले दोस्रो कार्यकालका लागि पार्टी सभापति छन् । उनले छैटौंं पटक प्रधानमन्त्री बन्ने आकांक्षासहित संसदीय दलको नेताका लागि मनोनयन दर्ता गरेका छन् ।

बुधबार हुने संसदीय दलको चुनावमा यो पटक देउवाका प्रतिस्पर्धी छन्– गगन कुमार थापा । थापा उनै हुन्, जो देउवा पहिलो पटक प्रधानमन्त्री भएको बेला क्याम्पसमा विद्यार्थीको राजनीति सुरु गर्दै थिए ।

कांग्रेसको तेस्रो पुस्ताका नेता थापा संसदीय दलको नेताका लागि मनोनयन दर्ता गर्ने दिन आफ्नो समूहमा सर्वसम्मत मात्र भएनन्, महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्रीमै लडेका युवा नेता प्रदीप पौडेललाई समेत आफूतिर तान्न सफल भए । झापा १ बाट चुनाव जितेलगत्तै गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गर्दै विश्वप्रकाश खुलिसकेका थिए ।

मनोनयन दर्ता लागि संसदीय दलको कार्यालय सिंहदरबारमा जाँदा गगनले जसरी विश्वप्रकाश र प्रदीपको साथ पाए, त्यसले शेखर–गगन समूहमाथि युवाको आशा बढेको छ । शेखर कोइरालाले नै ‘रुपान्तरणका लागि युवा पुस्ताको भरोसा’ भनेपछि यसले पार्टीको नेतृत्वमा युवा पुस्ताले हस्तक्षेप गरे भन्ने सन्देश गएको छ ।

यो सन्देश शेरबहादुर देउवालाई मात्र होइन, देउवाको विकल्प नदेख्ने उपसभापति पूर्णबहादुर खड्कामाथि पनि चुनौतीका रुपमा आएको छ । जुन चुनौती पहिला देउवाको विकल्प खोज्ने र पछि उनको विकल्प नदेख्ने रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइरालालाई पनि छ ।

थापाले आफ्नो समूहमा सर्वसम्मत हुँदै गर्दा अबको महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने वचन दिएका छन् । जुन वचन संस्थापन पक्षबाट सभापतिमा पालो पर्खनेहरुका लागि आजकै दिनबाट चुनौती बनेको छ ।

नतिजा जे आए पनि संसदीय दलको चुनावमा शेखर–गगन समूहले एकता प्रदर्शन गर्दै सभापति शेरबहादुर देउवालाई चुनौती दिएको दृश्यले पार्टी पंक्तिभित्र उत्साह पैदा गरेको छ । यसले देउवा र उनका सहयोगीका लागि आउँदा दिन सहज छैनन् भन्ने पनि उत्तिकै संकेत गरेको छ ।

पोहोर भएको महाधिवेशनमा शेखर कोइरालाको प्यानलबाट महामन्त्री चुनिएका थापा र प्रकाशमान सिंहको प्यानलबाट चुनिएका शर्माले एक भएर पार्टीमा हस्तक्षेप नगरेका होइनन् । तर उनीहरुको हस्तक्षेपको देउवा पदाधिकारी र केन्द्रीय सदस्यले प्रतिवाद गर्थे र देउवाको चाहना विपरीत कांग्रेसमा केही हुँदैन भन्ने कहावतलाई सत्य सावित गर्थे ।

आफू निकटले समर्थन गर्ने भएकै कारण देउवाले आफू खुसी निर्णय गर्थे र आँखा चिम्लेर निर्णयमा हस्ताक्षर गर्थे । त्यही बलमा देउवाको मनोमानी बढ्दो थियो । र उनी काम चलाउ भइसकेको स्थितिमा पनि आफ्नै दलका महामन्त्री र नेताहरुले विरोध गर्ने र पार्टीमै नरुचाइने निर्णय गराउन लागि परेका थिए । जसको पछिल्लो उदाहरण रेशम चौधरीसहितलाई माफी दिने गरी ल्याउन लागेको अध्यादेश नै हो ।

तर अब संसदीय दलको चुनावमा थापाले पाएको साथ र पाउने मतले यस्ता निर्णय गर्नुअघि देउवालाई र देउवालाई साथ दिनेहरुले सोच्नुपर्ने हुन सक्छ ।

एमालेका सांसदहरु, तपाईंलाई देउवा र गगनजस्तै हाँसीहाँसी भिड्न मन लागेन ?

आज एमालेका सदस्यहरुले आफूलाई अनि कांग्रेसलाई हेरेर प्रश्न गर्नुपर्छ – कांग्रेस के थियो, के हुँदैछ ? हामी के थियौं, के हुँदैछौं ?

सोमबार सिंहदरबार छिर्दा सुवास नेम्बाङ एमाले संसदीय दलको उपनेता कार्यालयमै थिए । एमालेको निर्वाचित सांसद संसदीय दल कार्यालय परिसरमा भेटिनु अनौठो होइन । तर उनी उपनेताकै च्याम्बरमा, उपनेताकै कुर्सीमा बधाई थापिरहेका थिए ।

अघिल्लो प्रतिनिधिसभा कालमा नेम्बाङ दलका उपनेता थिए । नयाँ प्रतिनिधिसभामा एमालेबाट संसदीय दल नेता–उपनेता चुनिएकै थिएनन् । नेम्बाङ कसरी उपनेताको कुर्सीमा बस्न पुगे ?

यो प्रश्नलाई सामान्य जिज्ञासा मात्रै मान्न पनि सकिन्छ । हाम्रो देशमा थुप्रै प्रश्नलाई सामान्य मान्ने प्रचलन छ । हामीले सोध्यौं, ‘तपाईं संविधानसभा अध्यक्ष भइसकेको नेता, उपनेताकै कुर्सीमा बसिराख्ने ?’

‘मैले आफ्नोबारेमा त्यसरी सोच्ने गरेको छैन’, नेम्बाङले संक्षिप्त जवाफ दिए ।

यी पंक्ति लेख्दैगर्दा कमलादीमा एमालेले नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजना गरेको बधाई भेलाले अध्यक्ष केपी ओलीलाई संसदीय दलको नेता सर्वसम्मतिले चयन गरेको सूचना आएको छ । माओवादी केन्द्रले पनि यस्तै तरिकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलकाे नेता बनाउला ।

नेम्बाङ पोहोरको पार्टी महाधिवेशनमा एमालेको वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न चाहन्थे । शंकर पोखरेललाई महासचिवमा ल्याउन अनि त्यसअघिका महासचिव ईश्वर पोखरेल ‘किक् अप्सटेयर’ अर्थात् धकेलेर माथि पुर्‍याउन सिर्जना गरिएको पद थियो त्यो । तर नेम्बाङ त्यसरी पदहरुलाई निर्विकल्प छाड्न चाहँदैनथे । उनको त्यो सोचाइ स्वाभाविक पनि थियो ।

एमालेको चितवन महाधिवेशनमा चाहना र प्राप्तिबीचको दूरी खिचिएको थियो । विष्णु पौडेलले महासचिव चाहे, शंकर पोखरेलले पाए । नेम्बाङले वरिष्ठ उपाध्यक्ष चाहे, पोखरेलले पाए । भीम रावलले अध्यक्षमा लड्ने मनसुवा देखाए । नतिजा भन्नै पर्दैन । त्यसपछि उनले एमालेमा बस्ने कुर्सी त के मुढा पनि पाएनन् ।

अस्ति चुनाव प्रचारका बेला समर्थकले भीम रावल खोई भनी सोध्दा ओलीले ठाडो जवाफ दिए, ‘किन चाहियो भीम रावल ? म अरु रावलहरु ल्याउँछु ।’

नतिजा जगजाहेर छ । भीम रावलले टिकट पाएनन् । टिकट पाएका अरु रावलहरुले पनि हारे ।

एमाले आज जस्तो छ, पहिले कांग्रेस त्यस्तै थियो । आज कांग्रेस जस्तो बन्न खोज्दैछ, पहिले एमाले त्यस्तै थियो ।

कतिपय वैचारिक अलमलहरु हुँदाका दिनहरुमा पनि, चुनाव हार–जितका तिता–मीठाहरुका बीचमा पनि एमाले दुईवटा कुरा गर्थ्याे । एक, यसले समयमा अधिवेशनहरु गर्थ्यो । दुई, यसले संगठनभित्र प्रणाली बसाउँथ्यो ।

एमाले त्यो समयमा यी काम गर्दैथ्यो, जुन बेला कांग्रेसमा ‘गिरिजाबाबु’ को प्रभुसत्ता थियो । गणेशमान र किसुनजीहरु आँशु बगाउँदै पार्टी छाडेको घोषणा गर्न विवश थिए । कांग्रेस लोकतन्त्रको कथनी गर्थ्याे, करनी गर्दैनथ्यो ।

आज कांग्रेस बदलिंदैछ । संगठन त आज पनि उसको भद्रगोलै छ । तर अब पार्टीभित्र प्रणाली बस्नुपर्छ भन्ने मत निर्णायक बन्दैछ । भोलि बुधबार हुने संसदीय दल चुनाव त्यसैको एउटा परिचायक बन्ने प्रष्ट भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई महामन्त्री गगन कुमार थापाले चुनौती दिने भएका छन् । आज उनीहरु दुवैजना एउटै लाइनमा बसेर हाँसीहाँसी मनोनयन दर्ता गरेको तस्वीर के अरु दलका लागि सिक्न लायक छैन र ?

हारजित जसको भए पनि त्यो चुनौतीले पार्टी प्रणालीभित्र संस्थागत मान्यता पाउनेवाला छ । प्रणाली भनेको खेलको नियम न हो, तर यसले गगनलाई देउवाको दुश्मन होइन, प्रतिस्पर्धीको हैसियत दिन्छ । कम्युनिस्ट पार्टीहरुले प्रतिस्पर्धीलाई कहिलेसम्म दुश्मनजस्तो व्यवहार गर्ने ? खासगरी एमालेलाई सोध्नुपर्छ यो प्रश्न । माओवादीले त महाधिवेशन र आन्तरिक प्रतिस्पर्धाका नाममा अहिलेसम्म केवल विधि मात्रै पुर्‍याउँदै आएको छ । हेटौंडादेखि विराटनगरसम्मका घटनाहरु बिर्सनलायक छन् । प्रश्न एमालेमाथि नै हो । एमाले आफैंले हिजो कुनै बेला बसाएको प्रणाली आज किन बिर्सने ?

आज एमालेका सदस्यहरुले आफूलाई अनि कांग्रेसलाई हेरेर प्रश्न गर्नुपर्छ – कांग्रेस के थियो, के हुँदैछ ? हामी के थियौं, के हुँदैछौं ?

तत्कालीन महासचिव माधवकुमार नेपाललाई जनकपुरको सातौं महाधिवेशनमा चुनौती दिन खोज्दा केपी ओली पराजित भए, तर त्यसले पार्टीमा थिति छ भन्ने पुष्टि गर्‍यो । आठौं महाधिवेशनमा ओलीले झलनाथ खनालसँग पराजित हुनुपर्‍यो । त्यसपछि पनि उनी पार्टीभित्र सम्मानित नेता रहिरहे । नवौंमा माधवकुमार नेपाललाई अध्यक्षमा हराउँदा ओलीको कद नै चुलियो । तर दशौं महाधिवेशनमा आइपुग्दा ओली प्रश्न र प्रतिस्पर्धारहित बने ।

कसै–कसैले यस परिदृश्यलाई ओलीको सामर्थ्य र कदसँग जोडेर हेर्लान् । तर सामुन्नेमा ‘बा’ भन्नेहरुले ढाडपछाडि अनेक शब्दले असन्तुष्टि व्यक्त गरिरहेका छन्, एमालेमा । सांसदको टिकट नपाएको झोंकमा, टिकट पाए पनि पाँच सय भन्दा कम भोटले हार्नुपरेको झोंकमा ती उम्मेदवारहरु आज तथानाम भन्दैछन् ।

कांग्रेसमा यसअघि निर्वाचित महामन्त्रीसामू सभापतिको टीका लगाएको महामन्त्री हाबी हुन्थ्यो । पछिल्लो महाधिवेशनबाट दुवैजना महामन्त्री चुनिने प्रथा सुरु भयो । त्यसैले त विश्वप्रकाश शर्मा र गगन थापा चुनिन सके । उता एमालेमा घनश्याम भूसालले भारी मतले उपमहासचिव जित्दा हारेका शंकर पोखरेल फुत्त ‘महासचिव’ मा उकालिए । अनि स्वयं भूसालचाहिं अप्रासंगिक बनाइए ।

राजनीति शक्तिको खेल हो । यसमा धेरथोर धोकाधडी, छलछाम नहुने होइन । भर्खरै सकिएको विश्वकप फुटबलमा पनि त हामीले धक्कामुक्की देख्यौं । कारबाहीस्वरुप कार्डहरु इस्यू गरिए । पेनाल्टीका सजाय तोकिए ।

राजनीतिको खेलमा पनि नियमहरु हुन्छन् । ती नियम शीर्ष नेतादेखि गाउँ कमिटीको सदस्यसम्म समान रुपले लागू हुनुपर्छ ।

आन्तरिक लोकतन्त्रीकरणले जहिले पनि पार्टीभित्र उर्जा नै संचार गर्छ भन्ने दृष्टान्त स्वयं ओली हुन् । कुनै बेला उनी आफैं यो मुद्दाका पैरवीकार थिए । अनि बहालवाला पार्टी अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेता पदमा हराएर २०७० सालमा उनले आफ्नो प्रभाव बढाएका थिए । दलको नेतामा जितेपछि नै ओली उदयको ढोका खुलेको थियो ।

हिजोआज एमालेलाई के भएको हो कुन्नि ! उनै ओलीलाई विकल्परहित देखाउन खोजिंदैछ । शक्तिको अति केन्द्रीकरण गरिएको छ । कतिसम्म भने केही साताअघि समानुपातिक मत गन्ने क्रममा आशंका भएको भन्दै ओली स्वयंले फेसबुकमा एउटा स्टाटस लेखे, जहाँ भनिएको थियो – मत गन्दा धाँधली भएको आशंका भएकाले गनिसकेका मतहरुको संख्याको फोटो खिचेर मेरो फेसबुक म्यासेन्जरमा हालिदिनु ।

के यो काम निर्वाचन परिचालन कमिटीले गर्न सक्दैन र ? सम्बन्धित प्रदेश या जिल्ला कमिटीलाई किन अविश्वास गर्ने ? अनि सबै चिजको जिम्मा किन व्यक्ति एक्लैले लिने ? के यसले बाँकी नेतृत्वलाई फल्न–फुल्न दिन्छ र ?

अब एउटा प्रश्न सोध्नु छ । आज तपार्ईंहरुको प्रतिस्पर्धी पार्टी देउवा र गगन थापा सँगै उभिएर हाँसी–हाँसी संसदीय दलकाे नेतामा उम्मेदवार बनेको दृश्य देख्दा तपाईंहरुलाई कस्तो लाग्यो कमरेडहरु ? फेसबुकले भन्छ नि, ‘ह्वाट्स अन् योर माइन्ड ?’ के यसले राजनीतिमा बदलाव आउँदैछ भन्ने संकेत गर्दैन र ? के हामीले समयमै मार्ग सुधारेनौं भने क्षति हुनेछ भन्ने दर्शाउँदैन र ?

अनि एमाले सांसदज्यूहरु– के तपाईंहरुलाई पनि आफ्ना शक्तिशाली अध्यक्षहरुकै लहरमा उभिएर हाँसीहाँसी उम्मेदवार बन्न मन लागेन ? योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ र अरु प्रभावशालीहरु– तपाईंहरुलाई रहर लागेन ? वा उनै सुवास नेम्बाङलाई भनाैं, तपाईंलाई संसदीय दलकै नेतामा भिड्दिउँ कि जस्तो जङ चलेन ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४