काठमाडौं । प्रतिनिधिसभामाको प्रत्यक्षतर्फ ४ सीट र प्रदेशमा ७ सीट कब्जामा लिएर बसेका रेशम चौधरीलाई जेलको राजनीति खुब फापेको छ । चौधरी अहिले अति व्यस्त मात्र छैनन्, उनलाई दलका शीर्ष नेतासँग भेटघाट गर्न पनि भ्याइनभ्याई छ । प्रधानमन्त्री शेरबहादुर देउवा उनैलाई भेट गर्न भनेर डिल्लीबजार कारागार नपुगेपनि विषेश सुत्रमार्फत चौधरीसँग दिनहुँ जसो कुराकानी चलिरहेको छ ।
चौधरी कारागारभित्र रहेपनि उनको श्रीमती रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी यतिबेला सरकार गठनका लागि निर्णयक बनेको छ । समानुपातिकतर्फ पनि नागरिक उन्मुक्ति पार्टीले थ्रेसहोल्ड कटाइसकेका कारण उनी सरकार बनाउने समूहको केन्द्रविन्दुमा परेका छन् । स्रोतका अनुसार मतगणना सुरु भएदेखि नै प्रधानमन्त्री देउवा र चौधरीबीच सत्ता सहयात्राका विषय विशेष प्रतिनिधिमार्फत काुराकानी चलिरहेको छ ।
उनलाई जेलमुक्त गराउनुपर्ने विषय यस अगाडि पटकपटक आएपनि अहिले भने चौधरी र प्रधानमन्त्री सुत्रधारबीच यो विषयमा कुराकानी भएको छैन् । केवल सत्ता गठबन्धनलाई सरकार गठनका लागि सहयोग गर्ने विषयमा मात्रै कुराकानी भइरहेको छ । प्रधानमन्त्रीले विशेष प्रतिनिधिमार्फत कुरा अगाडि बढाइरहेको बेला देउवाकै सल्लाहमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ अन्य नेताहरुले डिल्लीबजार कारागारमै पुगेर रेशम चौधरीसँग छलफल गरिरहेका छन् ।
चौधरीलाई प्रत्यक्ष रुपमा गसत्ता गठबन्धनका शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल र बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर नै भटिसकेका छन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार गएका हुन् । माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो सत्ता गठबन्धनकाे सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
प्रचण्डले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले मंगलबार दिउँसो चौधरीसँग भेटेर कुरा गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै निकट सूत्रमार्फत चौधरीसँग वार्ता प्रक्रिया चलाइरहेका थिए । यद्यपि चौधरीसँगको कुराकानी नेताहरूले बाहिर भने ल्याएका छैनन् । सरकार बनाउन गठबन्धनलाई केही सीट अपुग हुने भएकाले उनीहरूले उन्मुक्ति पार्टीलाई सहभागी गराउन पहल गरिहेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइ गर्नुपर्ने पहिलो शर्त राख्दै आएपनि अहिले भने यो विषयमा कुराकानी नभइएको बताइएको छ । यसको प्रक्रियाअनुसार तयारी भइरहेको बताइएको छ । २०७२ भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र ७ सुरक्षाकर्मीको हत्यामा कैलाली अदालतबाट दोषी ठहर भएका चौधरीको सजाय उच्च अदालत दिपायलले सदर गरेपछि उनी जेलमै छन् । उनले रिहाइका लागि सर्वोच्च अदालतमा अपिल गरेका छन् । उनी ०७४ मा कैलाली–१ बाट निर्वाचित भए पनि सांसद पद निलम्बनमा रहेको थियो ।
पार्टी अध्यक्ष एवं कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रञ्जिता श्रेष्ठले चौधरीसँग कारागारमा भेटघाट भएको बताएपनि सरकारमा जाने विषयमा भने निर्णय भइनसकेको बताएकी छन् । उन्मुक्ति पार्टीबाट कैलाली–१ मा श्रेष्ठ, कैलाली–२ मा अरुनकुमार चौधरी, कैलाली–३ मा गंगाराम चौधरी निर्वाचित भएका छन भने बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन ।
लालबीर रेशमका पिता हुन भने उनले नागरिक उन्मुक्ति पार्टीलाई नै साथ दिने जनाएका छन् । चौधरीको पार्टीले प्रदेशसभामा ७ सीट जितेको छ । समानुपातिकतर्फका सीट समेत जोड्दा चौधरीसँग कम्तिमा पनि ८ सीट हुने देखिएको छ । उनले साथ दिएमा सत्ता गठबन्धनलाई सरकार गठनका लागि सहज हुनेछ । तर, उनले अन्तिम निर्णय भने सत्ता गठबन्धनलाई दिएका छैनन् ।