Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १४ २०७९
  • 2.7K
    SHARES

काठमाडौं। बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ मोडिएपछि यातायातका साधनमार्फत करिब २० मिनेटको यात्रापश्चात् पुगिन्छ अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने दोसल्ले गाउँ ।

शिरमा टिकोट र पुछारमा कालीगण्डकी नदी अनि बीचमा हरिया डाँडा र जङ्गलको बीचमा पश्चिम दक्षिण मोहोडा गरेर फैलिएको चिटिक्कको छ दोसल्ले गाउँ । यो गाउँमा ५२ घरधुरीको बसोबास छ । सबै घरधुरीका साना ठूला सुन्तलाका बगैँचा छन् । तिनै बगैँचामा फलेका सुन्तला बिक्री गरेर यहाँका बासिन्दाको जीवनशैलीमा निकै परिवर्तन भएको छ ।

“हाम्रा लागि सुन्तलाको बगैँचा नै युरोप, अमेरिका हो । सुन्तलाका बोट हाम्रा रोजगारदाता हुन् । छोराछोरीको जस्तै माया लाग्छ यी बोटको”, शनिवार दोसल्लेको सुन्तला बगैँचामा यस संवाददातासँग हँसिली मायादेवी पुनले भन्नुभयो, “गत वर्ष दुई लाखको सुन्तला बोटबाटै बेचेँ, यस वर्ष नयाँ बोटमा फल लागेको छ, उत्पादन राम्रो भएकाले निर्माण व्यवसायीले रु चार लाखमा बोटबाटै सुन्तला खरिद गरेका छन् ।”

दोसल्लेका मिलन गर्बुजा, डिलमाया पुन, प्रेमबहादुर पाइजा लगायतका ५० कृषकले सुन्तलाबाट गत वर्षको भन्दा दोब्बर आम्दानी लिएका छन् । सबै कृषकका बगैँचामा लटरम्मै सुन्तला छन् । सुन्तला खरिद गर्न बगैँचामा नै आएका व्यापारीसँग उनीहरु मोलमोलाइमा व्यस्त छन् ।

भर्खरै सम्पन्न चुनावको मत संख्यागन्ती हुँदै गर्दा दोसल्लेका कृषकहरुलाई भने सुन्तलाको हिसाब किताब गर्न भ्याइनभ्याइ छ । २०५८ सालदेखि दोसल्लेमा व्यवसायिक सुन्तला खेती सुरु भएको अन्नपूर्ण गाउँपालिकाकी पूर्वउपाध्यक्ष केशमाया मगरले बताइन् । “पहिला बारीमा दुई मुरी कोदो फल्थ्यो, वैदेशिक रोजगारी वा परम्परागत खेतीपातीबाट नै यहाँका बासिन्दाको जीवन चल्थ्यो”, मगरले भनिन्, “तर अहिले अवस्था फेरिएको छ । विदेश गएका पनि गाउँमा नै फर्केर सुन्तला खेतीमा लागेका छन् । गाउँको कोदोबारी अहिले सुन्तला बगैँचामा परिणत भएको छ ।”

सुन्तला खरिद गर्न काठमाडौं, चितवन र पोखरादेखि व्यापारी बगैँचामा नै आउछन् । “बिक्रीको कुनै चिन्तै छैन । बोटमा सुन्तला फलेपछि घरमै पैसा आउँछ”, दोसल्ले व्यवसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा भन्छन्, “अरू ठाउँको भन्दा यहाँको सुन्तला हेर्दा आकर्षक र खाँदा रसिलो हुने भएकाले व्यापारी पहिला यहाँका सुन्तला नै खोज्दै आउँछन् ।”

यस वर्ष कात्तिकको तेस्रो सातासम्म २० व्यापारी आएका छन् । गाउँका प्रायः सबै किसानका सुन्तला बोटबाट नै बिक्री भइसकेका छन् । व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ का दरले सुन्तला खरिद गर्छन् ।

दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष पाइजाले गत वर्ष ६२ हजार पाँच सय किलो सुन्तला निकासी हुँदा रु ७५ लाख गाउँमा भित्रिएको र यस वर्ष करिब दुई सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिब रु दुई करोडको हाराहारीमा सुन्तला निकासी हुने जानकारी दिए ।

तथ्याङ्कमा म्याग्दीका सुन्तला

म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेतीले ढाकेकामा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले दुई हजार ३० मेट्रिक टन सुन्तला उत्पादन भई रु १० करोडभन्दा धेरैको कारोबार भएको बताए ।

अघिल्लो आव २०७७/७८ मा म्याग्दीको सुन्तलामा ‘चाइनिज सिड्रस फुडफ्लाई’ नामक औंसा किराको प्रकोप देखिएर २५ प्रतिशतले उत्पादन घटेको थियो । तर गत आर्थिक वर्ष भने सुन्तलाको बोटमा खाद्य पासो थापेर औंसा किराको प्रकोप नियन्त्रण, किसानलाई तालिम, प्लास्टिकको थैला सहयोग तथा निरन्तरको अनुगमनले सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले जानकारी दिए ।

बर्सेनि सुन्तलाको क्षेत्रफल विस्तार एवम् उत्पादन बढ्दै जान थालेको छ । गत वर्ष सुन्तला खेतीको प्रवद्र्धन तथा किसानलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्र म्याग्दीले रु ११ लाखको बजेटमा विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

म्याग्दीमा बेनी नगरपालिकाभित्र भकिम्लीको मरेक, राखु, सिङ्गाको बास्कुना, मङ्गला गाउँपालिकाको कुहुँ, भर्जुला, बराङ्जा, भोर्लेनी, अर्मन, मालिकाको विम, ओखरबोट, देवीस्थान, धवलागिरिको ताकम, हिलापोखरी, मुदीको खाम्ला, रघुगङ्गाको राखु क्षेत्र, वेगखोला, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, हिस्तानको दोसल्ले, घारलगायत क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छन् । म्याग्दीमा झन्डै पाँच सयजना किसान व्यवसायिक सुन्तला खेतीमा आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४