काठमाडौं । निर्वाचनको परिणाम अन्त्यतिर आएपछि सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आगामी सरकार गठनसहित राष्ट्रपति, उपराष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको निर्वाचनसम्मका सबै विषय एकै प्याकेजमा सहमतिका लागि छलफल सुरु गरेका छन्। आम निर्वाचन २०७९ मा कुनै पनि राजनीतिक दल वा गठबन्धनलाई स्पष्ट बहुमत नआउने भइसकेको छ । सरकार बनाउन गठबन्धनलाई सहज हुने अवस्था देखिएपछि सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सहयात्री दलहरुसँग छलफल अगाडी बढाएको हो ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिममा रहेको अवस्थामा पाँचदलीय गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री देउवाले आज सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । दुई नेताहरुसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको टुंगो लगाएर मात्रै प्रधानमन्त्रीका विषयमा छलफल गर्ने सहमति भएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छुट्टाछुट्टै छलफल गर्दै चुनावमा स्पष्ट बहुमतको अवस्था नदिए पनि सरकार गठनका लागि आवस्यक संख्या सत्ता गठबन्धनसँग पुग्ने भएकाले प्रधानमन्त्रीसहित राष्ट्रपति र सभामुखको विषयमा पहिले सहमति गर्दा सरकार गठनमा सहज हुने कुरा प्रधानमन्त्री देउवाले राखेका छन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जन प्रहारलाई दिएको जानकारी अनुसार नेताहरूबीच सुरुमा पाँचदलीय गठबन्धनले निर्वाचनमा प्राप्त गरेको परिणामबारे मतगणनाको परिणाम आइसकेपछि समीक्षा गर्ने कुराकानी भएको थियो । सोमबार बिहान मात्रै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पनि भेट भएको थियो ।
प्राप्त प्रत्यक्ष सीट र समानुपातिक रूझानबीच १४० सीट पुग्ने सत्ता गठबन्धनको निष्कर्ष छ । यसका लागि चाँडै पाँच दलका नेताहरुसहितको बैठक बोलाउने र छलफल गर्ने निचोड तीन नेताबीच निस्किएको छ । यसअघि पनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ सरकार गठनबारे छलफल भएको थियो । सरकार गठनका विषयमा दुई नेताबीच छलफल सुरु भएपछि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए ।
आजको छलफलमा पनि सम्भावित समीकरणका विभिन्न अनुमानबीच छलफल चलेको थियो । नेताहरुले गठबन्धनकै सरकार बनाउनुपर्ने र गठबन्धनले सरकार नबनाए देशमा थप अराजकता हुने औल्याएका थिए । प्रत्यक्ष सीट तथा समानुपातिक रुझानबीच सत्ता गठबन्धनकै बहुमत पुग्ने निष्कर्षसहित उनीहरूले पाँच दलको बैठक बोलाउने समझदारी पनि गरेका छन् । सोचे जति सीट गठबन्धनले नपाएपछि अहिले अर्को सम्भावित समीकरणका विषयमा पनि आम चासो बढिरहेको छ ।
यसैलाई ध्यानमा राखेर नेताहरुले विद्यमान गठबन्धनलाई निरन्तरता दिने र सरकार निर्माणको गृहकार्यमा लाग्न तयारी थालेका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शुक्रबार टेलिफोन संवादसमेत गरेका थिए । उनले आफु काठमाडौं आएपछि बैठक राख्न देउवालाई भनेका थिए । आजको भेट पछि दाहाल र नेपालले गठबन्धनलाई अगाडी बढाउने र सभामुखदेखि राष्ट्रपतिसम्म एकै प्याकेजमा सहमति गरेर टुंग्याउने विषयमा पार्टिभित्र पनि छलफल गर्ने भएका छन् ।
सोमबार बालुवाटार छलफलले निकालेको हिसाबमा सत्ता गठबन्धनको मात्रै एक सय ४० मत पुग्छ । गणना भइरहेको, रोकिएको र समानुपातिकतर्फको समेत परिणाम आउँदा सत्ता गठबन्धन १ सय ४० सीट आसपासमा पुग्छ । गठबन्धनलाई सरकार निर्माणकै लागि अन्य दल जोडजाड गर्नुपर्ने अवस्था नपर्ने उनीहरुको बुझाइ छ । यसअघि प्रधानमन्त्री र प्रचण्डजीबीचको छलफलमा पनि गठबन्धन सँगै जाने कुरा भएको थियो ।
यस्तै गठबन्धनको सहयोगीका रूपमा उठेका प्रभु साह समूहको दुई सीट छ भने चार सीट स्वतन्त्र निर्वाचित रेशम चौधरीका पितासहित भएको नागरिक उन्मुक्ति पार्टी पनि यही गठबन्धनसँग संवाद गरिरहेको बताइएको छ । उपेन्द्र यादवको पराजयपछि जसपाका ६ जनालाई पनि गठबन्धनमा मिसाउने कसरत सुरु भएको छ ।
गठबन्धनको बहुमत हुनेमा ढुक्क कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालको मुख्य चासो भने पहिलो चरणमा को प्रधानमन्त्री बन्ने र राज्यशक्तिका मुख्य पदहरूको बाँडफाँट कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ । उनीहरु सरकार गठनभन्दा पहिले मुख्य पदहरुको हिसाब मिलााउन पक्षमा देखिएका छन् । देउवा र दाहाल दुवै प्रधानमन्त्रीका दाबेदार हुन् । यता, सरकार निर्माणमा पहलकदमी लिन खोजेका एमाले अध्यक्ष ओली भने पर्ख र हेरको स्थितिमा बसेका छन् ।
एमाले अध्यक्ष ओली कांग्रेस बाहेक बाम शक्तिको सरकार बनाउने पक्षमा सुरु देखिनै लागेका छन् । निर्वाचन आयोगले २२ मंसिरसम्म समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक गर्ने बताइसकेको छ । समानुपातिकतर्फ कस्को कति सीट आउला ? यो अझै प्रष्ट छैन ।अहिलेसम्मको स्थितिमा ६ दलले थ्रेसहोल्ड भेटिरहेका छन् । क्रमशः एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा र जसपा । तर अरु तीन दल क्रमशः एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि नजिक देखिन्छन् ।
अहिलेदेखि घनिभूत रुपमा छलफल भए अबको दुई साताभित्र नयाँ सरकारको विषय टुंगिन सक्छ । सत्ता गठबन्धनले सहज बहुमत प्राप्त गरेकाले अहिलेकै सरकारले निरन्तरता पाउने सम्भावनालाई ओलीले पनि हेरीरहेका छन् । खासगरी सत्ता बाँडफाँडमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति जुटेमा अहिलेकै सरकारले निरन्तरता पाउने आंकलन गरिएको छ । त्यसका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख पद बाँडफाँड नै नेताहरूका लागि टाउको दुःखाईको विषय बन्नसक्छ ।
कांग्रेस र माओवादीले प्रधानमन्त्री पदमा दाबी गरेका छन् । निर्वाचनले कांग्रेसलाई ठूलो दलका रूपमा स्थापित गरेकाले प्रधानमन्त्रीमा पहिलो दाबी कांग्रेसकै रहन्छ । यदि कांग्रेसले ठूलो दलको हैसियतमा सरकार बनाउन नसके, अर्को विकल्प खुला पनि हुनसक्छ । अहिलेकै सरकारलाई निरन्तरता दिने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास थालेका छन् । तर, कांग्रेस संसदीय दलको नेता पुनः निर्वाचित हुनुपर्ने भएकाले समानुपातिक नतिजा कुर्नैपर्ने अवस्थामा दलहरू छन् । कांग्रेसमा महामन्त्री गगन कुमार थापाले पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले कसरी गठबन्धन बन्छ भन्ने चासो पनि छ ।
उता एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेका छन् । त्यसका लागि उनले वाम एकताको नारा र प्रलोभन दिएका छन् । अर्कोतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई अलग राखेर सरकार बनाउने प्रयासमा पनि उनी लागेका छन् । स्रोतका अनुसार ओलीले राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टीसँग यसबारे अनौपचारिक ढंगले कुराकानी थालेका छन् । तर, अहिलेसम्मको प्रत्यक्षको नतिजा हेर्दा ओली नेतृत्वमा सरकार बन्ने सम्भावना धेरै नै कम छ । माओवादी र एकीकृत समाजवादीमध्ये एउटा दललाई साथमा नलिई ओलीले सरकार बनाउन सक्दैनन् ।
प्रत्यक्षतर्फ एमालेले अहिलेसम्म ४२ सीट जितेको छ । दुईमा अग्रता छ । राप्रपा, रास्वपा, जसपा र उन्मुक्ति पार्टीको गरी २५ सीट छ । एमालेले थप दुई जितेमा ४४ र चार पार्टीको २५ गरी ६९ सीट हुन्छ । अझै ओलीलाई ६९ सीट आवश्यक पर्छ । एमालेले समानुपातिकमा ३५, रास्वपाले १५, राप्रपाले सात र जसपाले चार पाए पनि ओलीलाई सरकार बनाउन बहुमत पुग्दैन । त्यसैले अहिलेसम्म कांग्रेस नेतृत्वमै सरकार बन्नेमा ओली पनि ढुक्क देखिएका छन् ।