Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावी मैदानबाट हटाउन खोजिएकी तोसिमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ९ २०७९
  • 4.4K
    SHARES

काठमाडौं । ‘ध्वनि प्रदुषण’ को हवाला दिँदै निर्वाचन आयोगले ललितपुर–३ कि उम्मेदवार डा. तोसिमा कार्कीलाई चुनाव प्रचारप्रसारमा घण्टी नबजाउन निर्देशन दियो ।त्यही घण्टी बजाउँदै बिहीबार कार्की समर्थकले विजय र्‍याली निकाले । ४ मंसिरको प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी कार्की पछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नबाट लड्न तयार भएकी थिइन् ।यस पटकको चुनावमा धेरै चर्चा भएकी उम्मेदवारमध्ये एक हुन् डा. तोसिमा । कार्कीको नेपाल मेडिकल काउन्सिलको सदस्य पदलाई संसद यात्राको बाधक बनाउन खोजियो । यो विवाद सर्वोच्च अदालतसम्म पुगेपछि सबैको नजर तोसिमासम्म पुग्यो ।

सर्वोच्चले काउन्सिलबाट उनले लिएको भत्ता सरकारी लाभ र सुविधाभित्र नपर्ने भनी प्रारम्भिक व्याख्या भएपछि तोसिमा चुनावी मैदानमा फर्किईन् । त्यसपछि उनले भनेकी थिइन्, ‘मलाई मैदानबाटै हटाउन खोजियो । मलाई परास्त गर्न सबै हत्कण्डा अपनाइयो साम, दाम, दण्ड, भेद लगाएर मलाई हटाउन खोजियो । तर, म यत्तिकै हार मान्नेवाला छैन ।निर्वाचन आयोगसँगको द्वन्द्वले नै उनलाई धेरै चर्चा दिएको उनको निर्वाचन क्षेत्रका मतदाता पनि बताउँछन् । एमालेका एक स्थानीय नेता भन्छन्, ‘निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज नगरेको भए एमालेले जित्थ्यो । उनको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयले माहौल उनकै पक्षमा गयो ।’

निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजीको निर्णयमा सर्वोच्चले ब्रेक लगाएपछि आयोग पुनः सर्वोच्च गयो । यो मुद्दा अझै विचाराधीन अवस्थामै छ ।ठूला दलका बलिया भनिएका उम्मेदवारसंग चुनावी प्रतिस्पर्धामा उत्रिएकी कार्कीको प्रचारपसारमा बुबा पदमबहादुर कार्की र आमा दिपा कार्की सँगसँगै थिए ।आयोगले घण्टी नबजाउन भनेर निर्देशन दिएकै दिन जन प्रहारलाई भेट्दा कार्कीकी आमा दिपाले आँसु झार्दै भनेकी थिइन्, ‘छोरीलाई प्रचारप्रसार गर्न पनि नदिने भए ।’ आमालाई सम्झाउँदै कार्कीले भनेकी थिइन्, ‘चिन्ता नगर्नुहोस्, आयोगले नै हाम्रो प्रचार गर्‍या छ ।’

परिवारका सदस्य र शुभचिन्तकको भरमा कार्कीको चुनावी प्रचारप्रसार चलेको थियो । अरुले लावालस्कर सहित चुनाव प्रचारप्रसार गर्दा तोसिमाको र्‍यालीमा भने स्वेच्छाले आउनेहरु थिए । ललितपुरको मतदाता नभएपनि बैतडी डिलासैनीका श्रीकान्त राना क्षेत्री करिब डेढ महिना कार्कीको चुनावी अभियानमा खटिए ।क्षेत्री भन्छन्, ‘दिदीलाई सहयोग गर्ने टिम कोही नदेखेपछि म आएँ । यो डेढ महिना म दिदीकै घरमा बसेर चुनावमा खटिएँ ।’ अरु उम्मेदवारले चुनाव प्रचारप्रसार गरिरहँदा कार्की भने सर्वोच्च धाइरहनु परेको थियो । कार्की अनेक कानुनी झमेलामा परिरहँदा ललितपुर–३ मा उनको पक्षमा भने जर्बजस्त माहोल बनिसकेको थियो ।

युवा, महिला र वृद्धवृद्धामाझ तोसिमाको बलियो छाप परिसकेको थियो । मतदानको दिन जन प्रहारले गरेको मत सर्वेक्षणका क्रममा अधिकांश महिला, युवा र बृद्धबृद्धाले तोसिमालाई भोट हालेको बताएका थिए ।

०६४ र ०७४ मा ललितपुर–३ ले माओवादीकी भुसाललाई आफ्नो प्रतिनिधि छानेर पठाएको थियो । ०७० मा कांग्रेसका मदनबहादुर अमात्यलाई आफ्नो प्रतिनिधि छानेर पठाएको थियो । तर, यसपटक भने लतिलपुरले पुराना दललाई विश्वास गरेन । ललिपुरले परविर्तन खोज्यो । मतदाताले परिवर्तन खोजेको आभास कार्कीले पहिल्यै महसुस गरिसकेकी थिइन् । कार्कीले जन प्रहारलाई चुनाव अगाडि आफ्नो जितको आधार नै मतदाताले खोजेको परिवर्तन भएको दाबी गरेकी थिइन् । र, यतिखेर उनको दाबी सत्य भएको छ ।

उनले भनेकी थिइन्, ‘मेरो जितको आधार र आत्मविश्वास हामी सबैले खोजेको परिवर्तन हो । हरेक वर्ग, क्षेत्र, दल र दलभित्रकै मान्छेले पनि परिवर्तन खोजिरहेका छन् । त्यही परिवर्तनको खोज हो मेरो उम्मेदवारी र मेरो जितको आधार पनि त्यही हो ।’ ललितपुरको नख्खुमा हुर्के–बढेकी डा.तोसिमा किष्ट मेडिकल कलेजको एमबीबीएस र काठमाडौं विश्वविद्यालयको एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) हुन् । सत्याग्रही डा. गोविन्द केसीको प्रतिबद्ध समर्थक र सहयोगी कार्कीले केसीको चिकित्सा शिक्षा सुधार अभियानमा सुरुबाटै सक्रिय भएर साथ दिएकी थिइन् ।

उनकै अगुवाइमा दायर मुद्दामा सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका विषयमा केही निर्देशनात्मक आदेश दिएपछि उत्साही डा. तोसिमा यस पटक संसदमै शिक्षा र स्वास्थ्यको विषय उठाउने र यस सम्बन्धी विधि निर्माणमा पहल गर्ने सोच छिन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवार दिनु भन्दा अगाडि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापक थिइन् । पेशामा आफूले ‘गुड मेडिकल प्राक्टिस’को वकालत गरेको उनको दाबी छ ।

मतदाताको पनि उस्तै अपेक्षा छ । स्थानीय ५५ वर्षीय केदारप्रसाद बजगाईं डा. तोसिमाले ललितपुर ३ सामुदायिक अस्पताल बनाइदिने अपेक्षा राख्छन् । उनी भन्छन् ‘हाम्रो क्षेत्रमा सामुदायिक अस्पताल छैन । डा. तोसिमाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएँ भने बनाउँछु भन्नुभएको छ । उहाँबाट वाचा पूरा हुनेमा हामी विश्वस्त छौं ।’ राजनीतिप्रति आक्रोश व्यक्त गर्ने पुस्ताको एक सदस्य हुन् तोसिमा । राजनीतिलाई ‘डर्टी गेम’ ठान्ने पुस्ताभित्र पर्ने तोसिमा भने राजनीतिमा देखिएको बेथिति र फोहोर सफा गर्न राजनीतिमा होमिएको बताउँछिन् । यो जितसंगै उनी राजनीतिको कथित ‘डर्टी गेम’लाई फेयर बनाउने ठाउँमा पुगेकी छिन् ।

राजनीतिक दलमा आवद्ध भएर लामो समय बिताएपछि मात्र सांसद हुने परम्परागत अभ्यास चिर्दै सांसद भएर राजनीति सुरु गर्ने मौका तोसिमाले पाएकी छिन् । यो मौकामा आफूलाई संसदमा कुर्सी केन्द्रित नभई जनकेन्द्रित बनाउन वाचा गर्दै उनले भनिन्, ‘गर्व गर्न लायक सांसद भएर देखाउँछु ।’ चुनाव अगाडि मैदान छाड्दिन भनेर उनले पूरा गरेको वाचाजस्तै यो वाचा पूरा हुन्छ कि हुँदैन हेर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४