Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लाइसेन्स परीक्षामा फेल हुने डाक्टरलाई स्वास्थ्यकै अन्य पेशा गर्न दिने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २१ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । ६ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि नेपाल मेडिकल काउन्सिलले लिने ‘लाइसेन्स’ परीक्षामा डाक्टरहरु धेरै पटक फेल हुने गरेका छन् ।धेरै डाक्टर पटक–पटक फेल हुन थालेपछि काउन्सिलले एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा दिन नपर्ने व्यवस्था ल्याउन लागेको छ ।

एमबीबीएस तथा र बीडीएस उत्तीर्ण भएका तर भविष्यमा चिकित्सा पेसा गर्न नचाहनेलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ ।  मेडिकल काउन्सिलकको तथ्यांक अनुसार १० औँ, २०औँ पटकसम्म ‘लाइसेन्स’ परीक्षा दिएर पनि अनुत्तीर्ण भएका विद्यार्थी १ हजार १ सयभन्दा माथि छन् । लाइसेन्स परीक्षामा उत्तीर्ण हुन नसक्नेलाई बिरामी जाँच, परीक्षणजस्ता उपचार गर्नु नपर्ने, स्वास्थ्यसँग सम्बन्धित विषयमा स्नातकोत्तर अध्ययन गर्न दिने प्रक्रिया अगाडि बढाएको रजिस्ट्रार एवं प्रवक्ता डा. कृष्ण अधिकारीले जानकारी दिए ।

‘यस्तो व्यवस्था नेपाल, भारत, पाकिस्तानबाहेक थुप्रै मुलुकमा छ । हामी पनि आउने वर्षदेखि लाइसेन्स परीक्षालाई अनिवार्य नगर्ने पक्षमा छौं’, उनले भने, ‘एमबीबीएस उत्तीर्णले चिकित्सकीय काम नगर्ने हो भने, उनीहरूको शैक्षिक प्रमाणपत्रलाई स्नातकसरह मान्यता दिएर स्नातकोत्तर अध्ययनका लागि व्यवस्था गर्न लागिएको हो ।’ हाल एमबीबीएस पास गरेका विद्यार्थीले लाइसेन्स परीक्षा पास नगरी अन्य कुनै संकायमा थप अध्ययन गर्न पाउँदैनन् । त्यसैगरी, लाइसेन्स पास नगरेका चिकित्सकले बिरामी जाँच्न पाउँदैनन् ।

लाइसेन्स परीक्षामा अनुत्तीर्णहरूका लागि यो व्यवस्था एउटा राम्रो निकास हुने काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला बताउँछन् ।‘लाइसेन्स पास गरेको भए त क्लिनिकल प्राक्टिस गर्न पाउँथे । धेरै पटक लाइसेन्स परीक्षामा फेल भएकाले उनीहरुको भविष्य मध्यनजर गर्दै यस्तो व्यवस्था गर्न लागिएको हो’, डा. कोइरालाले थपे, ‘क्लिनिकल प्राक्टिस गर्न पो मिलेन, पब्लिक हेल्थ लगायत तथा अन्य विधातर्फ जान सक्छन् नि !’ लाइसेन्स परीक्षा अनुत्तीर्ण विद्यार्थीले एमपीएच, एमपीए, हस्पिटल व्यवस्थापन लगायतका बिषय लिएर आफ्नो करिअर परिर्वतन गर्नसक्ने डा. कोइरालाको भनाइ छ ।

उनले मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा फेल भएका विद्यार्थीका लागि भविष्यको बाटो खोल्न विश्वविद्यालय, स्वास्थ्य व्यवसायी परिषद् लगायतका निकायसँग समन्वय भइरहेको उल्लेख गरे ।

  • ‘विकृति ल्याउन सक्छ’

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा.जगदिश प्रसाद अग्रवाल यस्तो प्रावधानले झन् विकृति ल्याउनसक्ने बताउँछन् । करिब ६ बर्ष एमबीबीएसमा अध्ययन गर्न लागेको समयसँगै पैसाको खर्च भइसकेको अवस्थामा लाइसेन्स परीक्षामा केन्द्रित भएर भविष्य अगाडि बढाउन उचित हुने डा. अग्रवालको सुझाव छ ।‘विश्वविद्यालयबाट एमबीबीएसका डिग्रीको मान्यता पाएकै हुन्छन् । खाली उनीहरुले लाइसेन्स परीक्षा पास गरेका हुँदैन्’, डा. अग्रवाल भन्छन्, ‘एमबीबीएस तथा बीडीएस गरेका जनशक्ति अर्को विधामा गएपछि क्लिनिकल प्राटिक्स गर्ने खतरा झन् बढ्छ । जसलाई सरकारी निकायले अनुमगन गर्ने सामथ्र्य राख्नुपर्छ ।’

मेडिकल काउन्सिलका अध्यक्ष डा. कोइराला पनि यो व्यवस्थाले ल्याउन सक्ने जटिलतालाई विचार गर्नुपर्नेमा सहमत छन् । डा. कोइराला थप्छन्, ‘ताकि, लाइसेन्स लिन नसकेका विद्यार्थीको भविष्यको बाटो पनि खुलोस्, उनीहरुले क्लििकल प्राटिक्स गर्नेजस्ता कामको सम्भावना पनि नहोस् ।’ अन्य देशमा पनि एमबीबीएस गरेका डाक्टरले बिरामी जाँच्न नसक्ने स्थितिमा अरू पेसा अपनाउन दिने व्यवस्था रहेको जानकारी दिँदै नेपालमा उक्त व्यवस्था नहुँदा समस्याले नल्याउने रजिष्ट्रार डा. अधिकारीको जिकिर छ । हाल नेपालमा बार्षिक २ हजार विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गर्छन् । उनीहरू मेडिकल कलेजमा राम्रो अंक ल्याएर उत्तीर्ण पनि हुन्छन् । तर, काउन्सिलको लाइसेन्स परीक्षामा भने अनुत्तीर्ण हुन्छन् ।

  • काउन्सिलका रजिष्ट्रार डा. अधिकारी प्रमुख रुपमा यसको दोष सम्बन्धित मेडिकल कलेजको भएको बताउँछन् ।

‘मेडिकल कलेजमा बेथिती छ । प्राइभेट कलेजको त व्यापार पनि हो । चिट चोर्नका लागि पनि प्रोत्साहन गरिरहेको देखिन्छ’, डा. अधिकारी भन्छन्, ‘पढ्नै नसक्ने विद्यार्थीले लाखौं खर्च गरेर पढेको हुन्छ, पास गरिदिऔं भन्ने कलेजको लचिलो सोचले लाइसेन्स परीक्षामा फेल हुने गरेका छन् ।’ काउन्सिलले लिने लाइसेन्स परीक्षामा सरदर ५० देखि ६० प्रतिशत पास हुने गरेका छन् । परीक्षामा १८० वटा वस्तुगत प्रश्न सोधिन्छ, यसमा ९० अंक ल्याउने पास हुन्छन् ।

मेडिकल काउन्सिलका अध्यक्ष डा. कोइराला लाइसेन्स परीक्षामा न्यूनतम कडाइ गर्दा पनि ठूलो संख्यामा विद्यार्थी फेल हुने गरेको बताउँछन् । ‘एमबीबीएस पढेर बिरामी परीक्षणका लागि योग्य भएन भने डाक्टर पढ्नुको कुनै अर्थ रहँदैन’, डा. कोइराला थप्छन्, ‘काउन्सिलको परीक्षामा कम्प्रोमाइज गर्न मिल्दैन किनकी मानिसको जीवन र मृत्युको कुरा हुन्छ ।’काउन्सिलका अनुसार अनुत्तीर्ण हुनेहरूमा धेरै विदेशमा एमबीबीएस पढेर आएकाहरू छन् । तर, यसको अर्थ नेपालमा पढेका पनि फेल नभएका भने होइनन् ।

‘नेपालभित्रका ८०–९० प्रतिशतले एकैपटक पास गर्छन् । तर, विदेशमा पढेर आएका धेरै विद्यार्थी लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने गरेका छन्’, डा. कोइराला भन्छन् ।’ विश्वविद्यालयले चिकित्सा शिक्षा अध्यापनका लागि सम्बन्धन बाँडेकाले पढाइ गुणस्तरीय नभएको विज्ञहरु बताउँछन् । बाहिरका सबै कलेज नराम्रा हुँदैनन् । तर, यताबाट जाँदा नै कमजोर विद्यार्थी गएको र कमजोर कलेजमा भर्ना भएकाले लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएको डा. अग्रवालको भनाइ छ । ‘जथाभावी डाक्टरी पढ्न बाहिर जाने व्यवस्थालाई रोक्नुपर्छ । जनताको स्वास्थ्यसँग जोडिएको बिषयलाई नियमनकारी निकाय प्रभावकारी हुनु जरुरी छ’, उनी थप्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४