काठमाडौं । राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाउन रामेछापमा अब वडा तहबाटै काम हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण विभागले शुक्रवार सदरमुकाम मन्थलीमा राष्ट्रिय परिचयपत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी अब परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिएको हो । अबको एक हप्तापछि जिल्लाको १२ देखि १५ वटा वडा मार्फत परिचयपत्रको काम सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण विभागका महानिर्देशक तीर्थराज भट्टराईले बताउनु भएको छ ।
पहिलो चरणमा रामेछापमा रहेका ६४ मध्ये १२ देखि १५ वटा वडाबाट काम सुरु हुन्छ, अहिले एउटा वडामा दुई वटा स्टेसन मार्फत नागरिकको विवरण प्रविष्ट गर्ने तयारी छ’, उहाँले भन्नुभयो । विभागले तीन महिनाभित्र सबै वडामा काम सक्ने लक्ष्य राखेकाले आवश्यकताका आधार फेरी १० वटा सम्म स्टेसन थपेर काम गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार एउटा स्टेसनबाट दैनिक कम्तीमा ४० जनाको विवरण प्रविष्ट हुन्छ, एउटा वडामा १० देखि १५ दिनमा विवरण प्रविष्ट गरिसक्नेगरी तयारी गरिएको छ ।
जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले अहिले स्मार्ट परिचयपत्र अत्यावश्यक रहेकाले यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन सबै जिल्ला बासीलाई आग्रह गर्नुभएको छ । नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने उद्देश्यले सम्बन्धित स्थानीय तहसँगको समन्वय र सहयोगमा वडा तहबाटै परिचयपत्रको काम गर्न लागिएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभएको छ । ‘यो अभियानलाई प्रभावकारी रूपमा सफल बनाउनुपर्ने अहिलेको आवश्यकता हो, आवश्यक सहयोग तथा समन्वयका लागि सबै पालिका प्रमुख÷उपप्रमुख, वडा अध्यक्ष, वडा सचिव र सबै नागरिकहरूलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि वडा तहबाटै काम सुरु हुनु निकै राम्रो भएको भन्दै यो अभियानलाई सफल बनाउन आवश्यक सहयोग गर्ने जिल्लाका सबै पालिका प्रमुखहरूले प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म रामेछापका २० हजार भन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण प्रविष्ट गराएका छन् । तर अहिलेसम्म एक जनाले पनि राष्ट्रिय परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्रका लागि आफ्नो विवरण प्रविष्ट गराउनकै लागि नागरिकहरूले ठुलो सास्ती भाग्दै आएका छन् । रामेछापमा २०७७ साउन १ गते बिहीबारबाट राष्ट्रिय परिचयपत्रका लागि स्थायी विवरण दर्ता कार्यको सुरु भएको थियो ।