काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई चुनाव प्रचार प्रचार गर्न समय दिएपछि सुरक्षा अंगका प्रमुखहरु मधेश प्रदेशमा पुगेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा अंगका प्रमुखहरुले संवेदनशील क्षेत्रहरु चयन गरेर निरीक्षण भ्रमण निस्केका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको नेतृत्वमा सुरक्षा अंगका चार जना प्रमुखले विहिबार मधेश प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
उनीहरुले मधेश प्रदेशमा संभावित झडप र सुरक्षामा अवस्थामा आउन सक्ने गम्भीर परिस्थिति र त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । त्यसक्रममा प्रधान सेनापति प्रभुराम शर्मासहितको टोलीले महोत्तरी जिल्ला, बर्दिबासस्थित श्री मध्य पूर्वी पृतना हे।क्वा। तथा बारा जिल्ला, जितपुरस्थित श्री नं. २८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेको थियो ।
रक्षा सचिव किरणराज शर्मा, गृह सचिव विनोद प्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा भ्रमणदलमा रहेका थिए । निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति शर्मासहितको टोलीले महोत्तरी र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा उक्त जिल्लाहरुका सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।
निरीक्षण भ्रमणको दौरान उनीहरुले प्रदेशहरुसँगको समन्वय लगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकिकृत सुरक्षा योजना तथा बाहिनी अड्डाको वस्तुस्थितिका बारेमा जानकारी लिएको थिए । प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाद्वारा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ को सुरक्षार्थ सर्लाही जिल्लास्थित धनकौल ईलाकामा स्थापना गरेको कम्पनी अप्रेशनको निरीक्षण गर्नुको साथै उक्त ईलाकाको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी लिएका थिए ।
निर्वाचनको क्रममा मधेश प्रदेशमा हुनसक्ने झडप तथा शान्ति सुरक्षामा आँच आउन नदिन सुरक्षा निकायलाई सचेत गराउदै सुरक्षा निकायलाई सर्कतका अपनाउन निर्दैशन दिइएको थियो । ‘दलहरुले आम सभा गर्ने चुनाव प्रचार प्रसार गर्ने भएपछि सुरक्षा निकायका प्रमुखहरु सुरक्षा अवस्था बुझन मधेश प्रदेश आएका हुन’, एक सुरक्षा अधिकारीले भने ।