२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तेस्रो भएका कारण पनि राष्ट्रिय जनमुक्ति पार्टी यस क्षेत्रमा जनाधार भएकै पार्टी हो । २०७४ को चुनावमा पौडेलले ४४ हजार ९ मत ल्याएर चुनाव जित्दा कांग्रेसका युवराज गिरी दोस्रो भए भने राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुनले ३६ सय मत पाएका थिए । बैंकिङ कसूर मुद्दामा दोषी ठहरिएर कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका कारण निर्वाचन अधिकृतको कार्यालयले रुपन्देही-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको थियो । उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार को हुने भन्ने अन्योल थियो । बुधबार गठबन्धनका शीर्ष नेताले उक्त अन्योल चिर्दै जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका क्षेत्रीय सचिव प्रजापाल गिरीले अब केन्द्रको निर्देशन अनुसार जनमुक्ति पार्टीका उम्मेदवारलाई सहयोग गर्ने बताए । गठबन्धनको आधिकारिक उम्मेदवार नभएपछि कोही न कोहीलाई समर्थन गर्नुपर्ने हाम्रो वाध्यता थियो, त्यही अनुसार केन्द्रले जनमुक्तिका उम्मेदवारलाई समर्थन गरेको हो’, उनले भने, ‘अब केन्द्रको निर्देशन मान्नुको विकल्प छैन ।
नेकपा एमाले रुपन्देही २ निर्वाचन परिचालन कमिटी संयोजक पूर्वसांसद नेत्र पन्थी सत्ता गठबन्धनबाट जोसुकै उम्मेदवार अघि सारेपनि एमालेको जित सुनिश्चित भएको बताउँंछन् । ‘यो क्षेत्रमा गठबन्धनको सबैभन्दा ठूलो दलको उम्मेदवार भएको भएपनि एमालेलाई फरक पर्ने थिएन’, पन्थीले भने, ‘जनमुक्तिका उम्मेदवारसंग हाम्रो पार्टीको प्रतिस्पर्धा नै हुंदैन, एमालेले यो क्षेत्रमा गरेका विकास निर्माण हेरेर जनताले निर्णय गर्छन् ।
सत्तारुढ गठबन्धनका दलमध्ये यो क्षेत्रमा आफू बलियो रहेको बताउने कांग्रेसले अरु दललाई सिट छाडेको भन्दै नेता कार्यकर्ताहरु असन्तुष्ट छन् । यसले गर्दा एमालेका पौडेलको जितलाई रोक्न गठबन्धनको साथ पाएका जनमुक्तिका उम्मेदवारलाई सजिलो चाहिँ छैन । तर राजु गुरुङको उम्मेदवारी खारेजी पछि उत्साहित एमाले पंक्तिलाई फेरि सत्ता गठबन्धनले चुनौती भने दिएको छ ।
बदलियो समीकरण
बुटवल उपमहानगरको १ देखि १३, सैनामैनाको १ देखि ४ र तिलोत्तमाको १ देखि ६ नम्बर गरी २३ वटा वडा पर्छ । वडा अध्यक्षका उम्मेदवारहरुले पाएको मत अनुसार, नेकपा एमालेको ३४ हजार ९५९, नेपाली कांग्रेसको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादी केन्द्रको ३ हजार १८८, एकीकृत समाजवादीको १ हजार ३८२ छ । यो क्षेत्रमा राप्रपाले नेकपा एमाले उम्मेदवारलाई समर्थन गरेकाले दुई पार्टीको मत जोड्दा ३८ हजार ८७९ हुन्छ ।
त्यस्तै सत्तारुढ गठबन्धनमा रहेको दलको ३७ हजार ७५७ पुग्छ । जनमुक्ति पार्टीले यो निर्वाचन क्षेत्रमा वडास्तरमा २ हजार ७० मत पाएको छ, जुन सत्तारुढ गठबन्धन तर्फ जोड्दा ३९ हजार ८२७ पुग्छ, जुन एमाले–राप्रपा गठबन्धन भन्दा करिब एक हजार बढी हो । १ लाख २८ हजार ६७७ मतदाता रहेको रुपन्देही–२ मा एमालेका पौडेल र जनमुक्तिका थापासंगै केही साना पार्टी र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
जसमा नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस बीपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् । यस्तै रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार छन् ।
गृहमन्त्री खाँणलाई फाइदा
रुपन्देही–२ मा जनमुक्तिलाई सत्ता गठबन्धनले समर्थन गर्दाको फाइदा रुपन्देही ३ मा गृहमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई हुने देखिन्छ । यो क्षेत्रमा स्थानीय तहको चुनावमा वडाअध्यक्षहरुले पाएको मतका आधारमा सत्ता गठबन्धन एमाले नेतृत्वको राप्रपा–जसपा गठबन्धन भन्दा ६ हजार मतले पछाडि छ ।
खाँणसँग एमाले र जसपाको समर्थनमा राप्रपा वरिष्ठ नेता दीपक बोहरा प्रतिस्पर्धामा छन् । यहा जनमुक्ति पार्टीको ४ हजार भन्दा बढी मत रहेको पार्टीको दावी छ । त्यही कारण खांणलाई सहज बनाउन रुपन्देही २ मा जनमुक्तिलाई साथ दिने निर्णयमा सत्ता गठबन्धन पुगेको रुपन्देहीको राजनीतिक वृत्तमा चर्चा छ ।