नेपाली काँग्रेस संसदीय दलकाे नया बानेश्वरमा बसेकाे बैठक । बैठकमा बाेल्दै प्रम शेरबहादुर देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको उम्मेदवारी खारेज भएको छ । प्रतिनिधिसभाको समानुपातिकमा दलिततर्फ चार नम्बरमा रहेका परियारको उम्मेदवारी निर्वाचन आयोगले मंगलबार खारेज गरिदिएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको थियो । जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जनासमेत परेका छन् ।
उनीहरुसँगै निर्वाचन आयोगले प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको हो । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेको परियारविरुद्ध आयोगमा उजुरी परेको थियो । परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कायम रहेको र उक्त पदबाट राजीनामा नदिएको भन्दै नाम हटाइएको हो । उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनीविरुद्ध उजुरी गरेकी थिइन् । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।
दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकालाई सूचीबाट हटाएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन कानून र आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारीमा परेकाहरु, कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरुको नाम हटाएको हो ।
उमेर नपुगेकाहरुमध्ये प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ । दोहोरो उम्मेद्वारी परेकाले ६६ जनाको नाम हटेको छ । ६ हजार ४ सय ५७ जना उम्मेदवार मध्ये जरिवाना नबुझाउने ३६९ जनासहित दाबी विरोधमा जाँचबुझ गरी ५४८ जना, लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जना गरी ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।