काठमाडौं । सत्ता गठबन्धनमा रहेका शीर्ष नेताहरुले आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आयोजना गरिएको प्रदेशस्तरीय अगुवा कार्यकता भेलालाई सम्बोधन गरेका छन् । यसक्रममा उनीहरुले पार्टीभित्र भएको असन्तुष्टिलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउनेतर्फ लाग्न आग्रह गरेका छन् । उनीहरुले असन्तुष्टका माग निर्वाचनपछि सम्बोधन गरिने आश्वासन पनि दिएका छन् ।
भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले संविधानलाई कटौरामा फालेकाले त्यसलाई बचाउन गठबन्धन गरिएको बताएका छन् । उनले गठबन्धनले जिते संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षा हुने बताएका छन् । उनले जनतालाई जसले बढी सेवा गरेको छ उसैले जित्ने सम्भावना रहने भन्दै जनताका अगाडी गठबन्धन आर्थिक विकास,संविधान र लोकतन्त्रको रक्षाका लागि मत माग्न आएको बताएका हुन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आइतबार आयोजित प्रदेशस्तरीय पाँच दलीय गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले टिकट नपाएका कार्यकर्ताले असहयोग नगर्न आग्रह गर्दै गठबन्धनले जिते अवसरका लागि धेरै स्थानहरु रहेको र त्यसमा स्थान पाउने भएकाले नआत्तिन र साहसका साथ उम्मेदवारलाई जिताउने तर्फ लाग्न निर्देशन दिएका छन् ।
नेकपा माआवादीका केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले केपी ओलीसँगको गठबन्धन र संगतले गर्दा अहिलेको गठबन्धन बनाउन धेरै मद्दत पुगेको बताएका हुन् । अहिले गठबन्धनको पक्षमा जनमत भएको उनको भनाइ छ । उनले गठबन्धनले कर्णालीमा सयमा सय प्रतिशत जित्ने दावी गरे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन पराजित भएमा देशले पाएको कुनैपनि उपलब्धी बाँकी नरहने बताएका छन् । उनले कार्यकर्ताले आत्मघाती कदम चाले त्यसको घाटा आफैलाई हुने बताएका छन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हँसिया हथौडामा लोकतन्त्रको घेरा लागेकाले ढुक्कका साथ मतदान गर्न आग्रह गरेका छन् । गठबन्धन लोकतन्त्रको रक्षा, दिगो शान्ति कायम गर्न र राष्ट्रलाई अन्धकारतर्फ धकेल्नेप्रति सजक गराउन भएको भन्दै उनले जनता चनाखो रहन पर्नेमा जोड दिएका छन् ।