Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोक सेवाको परीक्षा : सुरक्षा निकायका विज्ञापनमा नक्कली परीक्षार्थी धेरै”नेपाल प्रहरीको परीक्षामा सबैभन्दा बढी अनियमितता”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । लोक सेवा आयोगको परीक्षामा अनियमितता गर्नेमध्ये अधिकांश सुरक्षा निकायतर्फका विज्ञापनका परीक्षार्थीहरु रहेको पाइएको छ । सुरक्षा निकायतर्फ पनि नेपाल प्रहरीको परीक्षामा सबैभन्दा बढी अनियमितता हुने गरेको छ ।

आयोगका अनुसार अनियमितताको प्रकार हेर्दा ८६.४८ प्रतिशत नक्कली परीक्षार्थी रहेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ को अवधिमा आयोगबाट सञ्चालित परीक्षाहरूमा ७ जना महिला र ५३ जना पुरुष गरी ६० जना परीक्षामा अनियमितता गरेका कारण कारवाहीमा परेका छन् । चिट चोरेको, नक्कली परीक्षार्थी खटाएको, इलेक्ट्रोनिक्स डिभाइस (साइन्टिफिक क्याल्कुलेटर, स्मार्ट वाच, मोबाइल आदि) प्रयोग गरेको, उत्तरपुस्तिकामा गलत रोल नम्बर लेखेको, रोल नम्बर लेख्न नहुने ठाउँमा पनि लेखेको, उत्तर पुस्तिका आफैंसँग लिएर गएको र नियमविपरीत सहयोगी लेखक राखेको लगायतलाई आयोगले अनियमितताको प्रकारको रुपमा सूचीकृत गरेको छ ।

नेपाल प्रहरीको परीक्षामा सबैभन्दा बढी अनियमितता

लोक सेवा आयोगका अनुसार परीक्षामा सबैभन्दा बढी अनियमितता नेपाल प्रहरी तर्फ हुने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा नेपाल प्रहरीको परीक्षामा २७ पुरुष र ३ महिला गरी जम्मा ३० जनाले अनियमितता गरेका छन् । यसमा सबैभन्दा बढी १९ जना नक्कली परीक्षार्थी परीक्षामा सहभागी भएको पाइएको लोक सेवा आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी चिट चोरेका र इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेका ५/५ जना छन् । एक जनाले उत्तर पुस्तिका नबुझाई आफैंसँग लिएर गएका थिए । यसमध्ये ३ जनालाई पाँच वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरिएको छ । यसैगरी ४ जनालाई ३ वर्षसम्म, २ जनालाई २ वर्षसम्म र १९ जनालाई १ वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरिएको छ । २ जनाको भने परीक्षा नै रद्द गरिएको लोक सेवा आयोगले जनाएको छ । यसैगरी सशस्त्र प्रहरी बलतर्फ चिट चोरेका ९ जना र इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेको १ जना गरी १० जना कारबाहीमा परेका छन् । २०७८/७९ मा लोक सेवाले सन्चालन गरेको नेपाली सेनातर्फको परीक्षामा भने एक जना पनि नक्कली परीक्षार्थी फेला नपरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अनियमितता गर्ने/गराउनेप्रति शून्य सहनशीलता अपनाउँछौं : अध्यक्ष रेग्मी

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी अनियमितता गर्नेहरुप्रति लोक सेवाले शून्य सहनशीलता अपनाउने गरेको बताउँछन् । लोक सेवा आयोगको निष्पक्षताको गरिमा कायम हुनुको कारण पनि यही नै रहेको उनको भनाइ छ । लोक सेवामा सितिमिती अनियमितता हुँदैन, यदि कसैले गरेको वा गराएको रहेछ भने पनि अन्तिम नतिजा प्रकाशन हुनुभन्दा अगाडि र पछाडि पनि त्यो पत्ता लाग्छ र कारबाहीमा परिहाल्छ,’ आयोगका अध्यक्ष रेग्मी भन्छन्, ‘हाम्रो सिस्टम नै त्यस किसिमको छ । अनियमितता गर्नेहरुलाई हामीले सख्त कारबाही पनि गर्यौं ।’ निष्पक्ष प्रतिस्पर्धा गर्ने/गराउने आधारभूत सिद्धान्तलाई अपनाएकाले नै लोक सेवा आयोगले सबै नेपालीको अटुट विश्वास आर्जन गरेको उनको भनाइ छ ।

अनियमितता गर्नेलाई कस्तो कारबाही हुन्छ ?

यस्ता परीक्षार्थीहरुलाई अनियमितताको प्रकृति अनुसार परीक्षा रद्द गर्नेदेखि लोक सेवाले लिने परीक्षामा पाँच वर्षसम्म सहभागी हुन नपाउनेसम्मको कारबाही गर्ने गरेको छ । लोक सेवा आयोगका अनुसार गलत रोल नम्बर लेखेका २ जना महिला छन् । उनीहरुलाई लोक सेवाले लिने परीक्षामा एक वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ । यसैगरी आवेदन नदिई परीक्षामा सामेल भएका २ महिला र १ पुरुष गरी ३ जना छन् । लेखन सहयोगी र निरीक्षक दुबैलाई पालैपालो उत्तर लेख्न लगाएकी १ महिला पनि कारबाहीमा परेकी छिन् । उनको परीक्षा रद्द गरिएको छ भने लेखन सहयोगी र निरीक्षक दुबै जनालाई परीक्षामा खटाउन रोक लगाइएको छ ।

नियम विपरीत लेखन सहयोगी राखेका एक जना पुरुष पनि कारबाहीमा परेका छन् । उनको परीक्षा रद्द गरिएको लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । लोक सेवा आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीका अनुसार अपाङ्गता भएका परीक्षार्थी (खासगरी दृष्टिविहीन) ले लेखन सहयोगी राख्ने गरेका छन् । सहयोगीले प्रश्न पढेर परीक्षार्थीलाई सुनाउने र परीक्षार्थीले भनेको उत्तर सहयोगीले उत्तरपुस्तिकामा उतार्ने गर्दछन् । सहयोगी लेखक चाहिने परीक्षार्थीलाई एक घण्टाको १० मिनेटको दरले अतिरिक्त समय उपलब्ध गराइन्छ । जस्तै– परीक्षा समय तीन घण्टाको छ भने एक घण्टाको १० मिनेटको दरले जम्मा ३० मिनेट बढी समय उपलब्ध गराइन्छ ।

सहयोगी लेखक सम्बन्धित पदको परीक्षामा सहभागी हुन पाउने न्यूनतम शैक्षिक योग्यताभन्दा एक तह कम शैक्षिक योग्यता हासिल गरेको व्यक्ति हुनुपर्दछ ।

जस्तै अधिकृत तहको परीक्षा स्नातक तह पास गरेको व्यक्तिले दिन पाउँछ भने उसको सहयोगी लेखक बढीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण भएको हुनुपर्छ । यसैगरी सुब्बाको परीक्षा कम्तिमा प्रविणता प्रमाणपत्र तह पास भएको व्यक्तिले दिन पाउँछ भने उसको सहयोगी लेखक बढीमा एसएलसी वा एसईई पास भएको हुनुपर्छ । तर खरिदारको परीक्षामा एसएलसी वा एसईई पास भएको व्यक्ति सहभागी हुन पाउँछ भने उसको लेखन सहयोगी पनि एसएलसी वा एसईई नै पास भएको भए पनि मान्यता दिइएको छ । लोक सेवा आयोगले निजामती सेवाका साथै आर्थिक वर्ष २०७३/७४ देखि सुरक्षा निकाय तथा संगठित संस्थाहरूको पदपूर्तिका लागि पनि लिखित परीक्षा सञ्चालन गर्दै आएको छ । हाल सुरक्षा निकायसहित ९५ वटा संस्था/निकायको पदपूर्तिका लागि लोक सेवाले परीक्षा लिन्छ ।

निजामती सेवा प्रवेशमा स्याङ्जा पहिलो, काठमाडौं दोस्रो

आर्थिक वर्ष २०७८/७९ मा लोक सेवाको परीक्षा पास गरेर निजामती सेवातर्फ सबैभन्दा धेरै स्याङ्जा जिल्लाका उम्मेदवार सिफारिस भएका छन् । स्याङ्जाका १२२ जना निजामती सेवामा प्रवेश गरेका छन् । काठमाडौंका ११४ जना, गुल्मीका १०५ जना, मोरङका ६९ जना र अर्घाखाँचीका ६८ जना निजामती सेवामा प्रवेश गरेका छन् । मनाङबाट भने वर्षभरिमा एक जना पनि निजामती सेवामा प्रवेश नगरेको लोक सेवा आयोगका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४