संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सरकारले जोशीको सम्मानका लागि एक दिन सार्वजनिक विदा दिने निर्णय गर्ने बताए । जोशीलाई श्रद्धाञ्जली दिन ललितपुर पुग्नेमध्येका एक हुन् नेपाल भाषा एकेडेमीका कुलपति यज्ञरत्न धाख्वा । केही समय सँगै काम गरेका उनले जोशीको कर्म र लगनशीलताबाट प्रभावित भएको बताए ।

‘सयौं वर्षमा एकफेर जन्मिन्छन् सत्यमोहन । सत्यमोहनको मृत्यु एक युगको अन्त्य हुनु हो’, उनी भन्छन्, ‘भावी पुस्ताले जोशीको ज्ञान, उहाँले हिँडेको बाटो, लगनशीलता, अन्वेषणप्रतिको लगाव र सादगीपन अनुशरण गर्नुपर्छ ।’ दायित्व वाङ्मय प्रतिष्ठानका ठाकुर शर्मा भण्डारीले सत्यमोहन जोशीको मृत्युलाई नेपाली कला, साहित्य र इतिहासको अध्ययन अनुसन्धान र जर्गेना गर्ने व्यक्तिको अन्त्यको रुपमा लिए ।
‘नेपालको कला, संस्कृति र इतिहासमा अतुलनीय योगदान पु¥याएका सत्यमोहन राज्यका सम्पत्ति हुन् । आज राज्यको सम्पत्ति ढलेको छ’, भण्डारी भन्छन्, ‘जोशीले गरेका कामबारे जति वर्णन गरेपनि पुग्दैन ।’ सीमाविद् बुद्धिनारायण श्रेष्ठले अब नेपाली कला, साहित्य र संस्कृतिमा कसले काम गर्छ भन्ने प्रश्न उठाए । ‘अब नेपाललाई कला संस्कृति र इतिहासबारे कसले बताउँछ ? कसैलाई केही जान्न मन लाग्यो, बुझ्न मन लाग्यो भने कसलाई सोध्न जान्छ ? कसले एक सय वर्षको इतिहास फरर बताउँला ?’ उनले प्रश्न गरे ।
जोशी जस्ता राष्ट्रका गहनाको स्वास्थ्यका बारेमा सरकारले चासो नदिएको उनले दुखेसो गरे ।
ललितपुर पाटनका वासिन्दा बलराम सापकोटा आफू जोशीको सादगीपनाबाट प्रभावित भएको बताउँछन् । ‘उहाँ त्यति ठूलो मान्छे भएर पनि ट्याम्पो, लोकल बस चढ्नुहुन्थ्यो । बालबालिका, साना–ठूला कसैलाई कुनै भेदभाव थिएन । उहाँ प्रफुल्लित तरिकाले बाँच्नुभयो’, उनी भन्छन् । साहित्यिक पत्रकार मञ्चका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ सत्यमोहन अलौकिक क्षमता र युगमा एक फेर जन्मने एक विशेष व्यक्तित्व भएको बताउँछन् । उनी भन्छन्, ‘सत्यमोहन नेपाली कला–संस्कृतिका एक नक्षत्र हुन्, रहिरहनेछन् ।’
ललितपुर महानगरपालिकाले जोशीको सम्झनामा एउटा सडकको नाम सत्यमोहन जोशी मार्ग राखेको छ । सरकारले उनको नाम र तस्वीर अंकित सिक्का र हुलाक टिकट प्रकाशन गरेको छ । महानगरपालिकाले जोशीका लागि सवारीसाधन सुरक्षा गार्ड र मोबाइल फोनको समेत व्यवस्था गरेको थियो ।

जोशीसँग आफ्नो नजिकको सम्बन्ध रहेको बताउदै ललितपुरका मेयर चिरिबाबु महर्जनले जोशीको आग्रहमा आफूहरुले धेरै काम गरेको बताए । ‘अझै उहाँको कामको सम्मान गर्छौ’ उनले भने । महर्जनका अनुसार २३ सय वर्षअघि पटनाका सम्राट अशोक आफ्नी छोरी चारुमतीलाई नेपाल ल्याएर नेपाल भ्रमणमा आएका थिए । पछि चारुमतीको विवाह चावहिल बस्ने नेपाली घरानासँग भयो । जोशी यसैबारेमा बाल नृत्य देखाउन चाहन्थे ।
जोशीले बाल नृत्य मञ्चन गर्नका लागि प्रयास गरिरहेका थिए । बाल नृत्य प्रदर्शनको तयारीमा थियो । तर त्यही बेला दरबार हत्यकाण्ड भयो र नृत्य प्रदर्शन हुन सकेन । चिरिबाबु मेयर भइसकेपछि जोशीले त्यही बाल नृत्य प्रदर्शनका लागि काम गर्न आग्रह गरे । विभिन्न समयमा रिहर्सल र तालिम पनि भए । तर कोरोना महामारीका कारण पुन नृत्य प्रदर्शन रोकियो । ‘जोशी आफैले हेर्ने चाहना गर्नु भएको बाल नृत्य कोरोना भाइरसको संक्रमणका कारण प्रदर्शन गर्न नसक्दा नरमाइलो लागेको छ । तर हामी त्यो बाल नृत्य प्रदर्शन गर्ने छौं’, चिरिबाबुले भने ।
करिब चार घण्टा महानगर परिसरमा श्रद्धाञ्जली अर्पण गरेपछि जोशीको पार्थिव शरीरलाई नेपाल प्रहरीले सलामी दियो । सलामीपछि किस्ट मेडिकल कलेज लगियो । जोशीले मृत्युअघि नै आफ्नो शरीर अध्ययनका लागि अस्पताललाई दान दिने निर्णय गरेका थिए । जोशीको शरीर नगल्ने रसायनको प्रयोग गरेर कलेजमै राखिने छ ।