काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ । असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमतिनजिक पुगेका हुन् ।
कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयको चापका कारण सहमति गर्ने गृहकार्य भइरहेको बताए । ‘अब समय धेरै छैन, पार्टीभित्र उम्मेदवार चयनका लागि समेत समय चाहिने भएकाले गठबन्धनबीच आज भोलिसम्मै सहमति जुटाउने गरी पहल भइरहेको छ,’ उनले भने, ‘अहिले प्रदेशसभाका ३ सय ३० क्षेत्रमा सहमतिनजिक पुगिरहेका छौं ।’
प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका लागि ८० देखि ८५ क्षेत्रसम्म छुट्याउने समझदारी भएको छ । बैठकमा भने कांग्रेसले ९० सिटको अडान राखेको थियो । कांग्रेसलाई ९० सिट दिन गठबन्धनका अन्य दल तयार नभएपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ८४/८५ सिटमा झर्ने संकेत दिएका छन् ।
माओवादी र एकीकृत समाजवादीबीच धेरै निर्वाचन क्षेत्रमा दाबी देखिएका छन् । माओवादीले करिब ४५ देखि ४७ सिटसम्म पाउने निश्चित छ । नेकपा (एस) र जसपाले १५ देखि १७ सिटसम्म पाउने भएका छन् । गोरखामा सुरेन्द्र पाण्डेका लागि क्षेत्र १ कांग्रेसले मागेको छ । गोरखा-१ बाट बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने माओवादीको अडान छ । त्यस्तै नुवाकोट-१ देउवाले प्रवक्ता प्रकाशशरण महतका लागि खोजेका छन् । यसअघि जितेकाले माओवादी उक्त क्षेत्र छाड्न तयार भएको छैन ।
राष्ट्रिय जनमोर्चालाई बागलुङ-१ र प्यूठानमा दुई सिट दिने तय भएको छ । २०७४ मा प्यूठानबाट जनमोर्चाकी नेत्री दुर्गा पौडेल निर्वाचित भएकी थिइन् । यस पटक अध्यक्ष चित्रबहादुर केसीले समेत निर्वाचन लड्ने इच्छा प्रकट गरेकाले प्रधानमन्त्री देउवाले बागलुङ-१ उनका लागि छाड्ने निर्णय लिएका हुन् ।
