काठमाडौं । प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिन शनिबारको बैठकमा दलका शीर्ष नेताले आपसमा हार्दिकता साटासाट गर्ने धेरैको अपेक्षा थियो । छुट्टिनुअघि धन्यवाद आदान प्रदान र पाँच वर्षे कामको समीक्षा गर्नुको साटो शीर्ष नेताहरु घोचपेच र एक अर्काविरुद्ध तीतो टिप्पणीमा उत्रिएका थिए ।
यसको सुरुवात प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए । त्यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरे भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झन् फैलाएका थिए ।
प्रधानमन्त्री देउवाले अहिलेको सरकारले संविधान अनुसार मुलुक चल्ने वातावरण बनाएको बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै देउवाले परमादेश नभएको भए सँगै काम गर्ने अवसर नै नपाउने टिप्पणी गरेका छन् ।
‘हुनत हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं’ प्रधानमन्त्री देउवाले भने, ‘परमादेश नभएको भए उहाँ र हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरु पास गर्न नै पाउँदैनथ्यौं ।
दुई पटक प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आइरहेका छन् ।
देउवापछि बोलेका पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अहिलेको सरकारले निर्वाचनमा जानुलाई प्रतिगमन भनेको भन्दै आलोचना गरेका थिए ।
जनादेश अनुसार संसद नचलेपछि आफूले ताजा जनादेशमा जान खोजेको भन्दै उनले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नहुने भन्दै आफ्नो कदमको बचाउ गरेका थिए । उनले अहिलेको सरकारले निर्वाचन घोषणा गर्नु प्रतिगमन हो त भनी प्रश्नसमेत गरेका छन् ।
‘निर्वाचनतर्फ जाने कुरालाई प्रतिगमन भनिँदैन । आवश्यकता अनुसार निर्वाचन भएन र समयमभित्र निर्वाचन भएन भने प्रतिगमन हुन्छ, जे होस् मुलुक निर्वाचनतर्फ गइसक्यो, म यसलाई प्रतिगमन भन्दिन’ ओलीले भनेका थिए ।
उनले परमादेशबाट सरकार गठन गर्नु प्रतिगमन भएको टिप्पणी गरे । ओलीले भने,असंवैधानिक ढंगले परमादेशबाट नक्कली सरकार गठन गर्नु प्रतिगमन हो । निर्वाचनमा जाने कुरा प्रतिगमन होइन, पहिले पनि होइन, अहिले पनि होइन ।
ओलीपछि बोलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको कडा आलोचना गरेका थिए । पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा भंग गरेको र निर्वाचनमा जानुलाई विरोध गरेको भन्दै भ्रम फैलाउन खोजेको भन्दै ओलीको आलोचना गरेका छन् ।
‘तुलना गर्नुको पनि एउटा हद हुन्छ नि ! यहाँ बसेका हामी सबै केही नै नबुझ्ने छन् भन्ने ठान्नुभएको हो कि प्रतिपक्ष दलको नेताले ? नेपाली जनताले केही जान्दैनन्, भेडा नै छन् भन्ने ठान्नु भएको हो कि ?’ उनले प्रति प्रश्न गरेका थिए, ‘निर्वाचन मिति घोषणा गर्नुलाई कहिले प्रतिगमन भन्यौं ? हामीले प्रतिगमन भनेको संविधान मिचेर हुँदै नभएको अधिकार किन प्रयोग गरियो ?
ओलीले निर्वाचन गर्न नभई देशलाई अँध्यारो सुरुङतिर लैजान प्रतिनिधिसभाको विघटन गरेको प्रचण्डले टिप्पणी गरेका छन् ।