माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ओलीले लोकतन्त्र र प्रतिगमनको अपव्याख्या गरेको बताएका छन् । ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन भएको भन्दै उनले भने, ‘उहाँले कताकता तुलना गरिदिनुभयो अहिले निर्वाचन गरेको पनि प्रतिगमन हो त ?
उनले अगाडि भने, ‘तुलना गर्नुको पनि एउटा हद हुन्छ नि ! यहाँ बसेका हामी सबै केही नै नबुझ्ने छन् भन्ने ठान्नुभएको हो कि प्रतिपक्ष दलको नेताले ? नेपाली जनताले केही जान्दैनन्, भेडा नै छन् भन्ने ठान्नुभएको हो कि ?
आफूले निर्वाचन घोषणा गर्नुलाई होइन, संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु र मुलुकलाई अँध्यारो सुरुङतिर लैजान खोज्नुलाई प्रतिगमन भनेको प्रचण्डले बताएका छन् । ओलीले यो सरकारलाई परमादेशको सरकार भन्दै आएका छन् । शनिबार संबोधनका क्रममा पनि त्यही भने ।
माओवादी अध्यक्ष प्रचण्डले भने महाअभियोग सिफारिस समितिमा भएको सुनुवाइले तत्कालीन सरकार र त्यसको नेतृत्वले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको रहेछ भन्ने पुष्टि भएको बताएका छन् । उनले अघि भने, ‘अनि उहाँलाई परमादेश भनेर नकारात्मक टिप्पणी गर्ने अधिकार कहाँबाट प्राप्त भयो त् ?
सम्बोधनका क्रममा ओलीले संसदले सुरुमा राम्रो काम गरेको, तर पछिल्लो समय राज्यका सबै अंग निष्प्रभावी भएको बताएका थिए । उनले भने, ‘सरकारको बारेमा केही केही भन्नुपर्दैन, मंसिर ४ गते जनताले सरकार र गठबन्धनलाई जवाफ दिनेछन् ।
माओवादी अध्यक्ष प्रचण्डले त्यसको पनि प्रतिवाद गरे । ‘हाम्रो प्रतिपक्षी दलको नेताले भन्नुभयो, ४ गते थाहा हुन्छ को के रहेछ,’ प्रचण्डले भने, ‘म विनम्रतापूर्वक स्मरण गराउन चाहन्छु, राष्ट्रियसभा निर्वाचनले सन्देश दिएको होइन र ? बारको चुनावले सन्देश दिएको होइन । स्थानीय तहको निर्वाचनले देशव्यापी सन्देश दिएको होइन र ?
प्रतिनिधिसभा विघटन गर्नु कमजोरी भयो भन्ने स्वीकार गरेको होला भन्ने लागेको भएपनि ओलीले अझै अहंकार देखाएको भन्दै प्रचण्डले भने, ठीकै छ, ४ गते हेर्ने । तपाईंले पनि हेर्नुहुन्छ, हामी पनि हेर्छौं । जनताको फैसला स्वीकार नगर्ने नै हो ।
