Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज हरितालिका तीज व्रत, महिलालाई बिदा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १४ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् ।

आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।

अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको संस्कृतविद्हरू बताउँछन् ।

आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।

अटल सौभाग्यको कामनाका लागि व्रत बस्ने गर्छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।

  • भड्किलो बन्दै तीज

हरेक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हिन्दु नारीहरूको अत्यन्त महत्वपूर्ण र पवित्र एवं धार्मिक पर्व हो, हरितालिका तीज। एक किंवदन्ती अनुसार भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न हिमालयकी छोरी पार्वतीले कठोर तपस्या गरी बरदान पाएको दिन हो, हरितालिका तीज।

विवाहित महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामनासहित व्रत बस्ने र अविवाहित महिलाले सुयोग्य पति प्राप्त होस् भन्ने कामनासहित व्रत बसी पूजाआजा गरी मनाइने पवित्र पर्व हो, हरितालिका तीज।

तर आजभोलि यतिमै मात्र सीमित रहेन, हरितालिका तीज। हिजोआज तीजको परिभाषा लगभग बदलिएको छ। माइतीको आँगनमा बाबुआमा, दाजुभाइ र दिदीबहिनी जम्मा भएर मनाइने हरितालिका तीज अहिले होटल र पार्टी प्यालेसमा पुगेको छ। व्रत र पूजाआजा गरी भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज आजभोलि दरका नाममा महिनैभरी मनाउन थालिएको छ।

व्रत र पूजाको स्थान भोजभतेरले लिएको छ। शृंगारको नाममा गरगहना र वस्त्रको प्रदर्शन, गीतको नाममा उच्छृङ्खलता र नाचको नाममा अंग प्रदर्शन एवं अश्लीलताको प्रदर्शन बढिरहेको छ। त्यसैगरी आजभोलिका कतिपय तीज गीत र नाचगान त घरपरिवारमा बसेर हेर्न र सुन्न सकिने खालका पनि छैनन्।

के हामीले खोजेको संस्कृति यस्तै हो त ? अनि हरितालिका तीजको संस्कृति यही हो त ? अझ अचम्म र दुखद पक्ष त के छ भने कतिपय संघसंस्थाले नै तीज आउनु कहिले हो कहिले हो, पहिल्यै नै तीज कार्यक्रमहरूको आयोजना र भोजभतेर एवं नाचगान गर्ने गरेको देखिन्छ। यो झनै विकृतिको रूपमा मौलाएको छ। संस्कृतिको संरक्षण गर्नु हरेक व्यक्ति, समूह, संघ–संगठन, सरकार सबैको दायित्व हो। तर, संस्कृतिको नाममा विकृति भित्र्याउने छुट भने कसैलाई छैन।

महिना दिन पहिल्यैदेखि तीजका नाममा भोजभतेर र नाचगान न त सांस्कृतिक/धार्मिक रूपमा सही देखिन्छ न त साधन, स्रोत, समय र औचित्यका हिसाबमा सही। ‘धेरै खायो भने चिनी पनि तीतो हुन्छ’ भन्ने त आहानै छ नि। पर्वको मर्म बुझेर त्यसको उपभोग र प्रचलन गर्नु राम्रो हो। तर पर्वलाई नै गिज्याउने गरी, त्यसको मर्म विपरित कार्य गर्नु/गराउनुलाई भने शोभनीय मान्न सकिंदैन। तीजमा आएको यस प्रकारको विकृतिले हरितालिका तीज पर्वको मर्म माथि गम्भीर आघात पुर्‍याएको छ भने नयाँ पुस्तामाझ तीज पर्वको गलत सन्देश प्रवाह भइरहेको छ।

माइतीको आँगनमा जम्मा भएर मनाइने हरितालिका तीज अहिले होटल र पार्टी प्यालेसमा पुगेको छ। व्रत र पूजाको स्थान भोजभतेरले लिएको छ। शृंगारको नाममा गरगहना र वस्त्रको प्रदर्शन, गीतको नाममा उच्छृङ्खलता र नाचको नाममा अंग प्रदर्शन एवं अश्लीलताको प्रदर्शन बढिरहेको छ।
केही वर्षदेखि संस्थागत रूपमा तीज कार्यक्रमको आयोजना गर्ने प्रचलन पनि बढिरहेको छ। पछिल्लो समयमा त लगभग प्रतिस्पर्धा जसरी कार्यक्रमहरूको आयोजना भैरहेको देखिन्छ। महिलासँग सम्बन्धित संघसंस्था मात्र होइन, राजनीतिक पार्टी, सरकारी/गैरसरकारी संघसंस्था, उद्योगी, व्यापारी, कर्मचारी, वकिल, पत्रकारहरूका संघसंगठन, क्लब, समूह आदि सबैले तीजको कार्यक्रम आयोजना र भोजभतेर एवं नाचगान गर्ने गरेको देखिन्छ।

तीज वा कुनै पनि चाडपर्व मनाउने विषयमा कसैको दुईमत हुन सक्दैन। यो सुखद पक्ष हो। चाडपर्व, रीतिरिवाज, धर्मसंस्कृति त हाम्रा अमूल्य निधि हुन्। सम्पत्ति हुन्। यसको संरक्षण र संवर्धन गरिनुपर्दछ। तर यिनको मूल्य, मान्यता र पहिचानलाई भने कायम गर्नुपर्ने हुन्छ।

कुनै पनि चाडपर्वको आफ्नै विशेषता, मूल्यमान्यता र पहिचान हुन्छ। चाडपर्वको आफ्नो विशेषता, मूल्य र मान्यता अनुसार त्यसको संरक्षण गर्नु, जगेर्ना गर्नु र त्यसलाई निरन्तरता दिनु संस्कृति हो भने त्यसको मूल्य, मान्यात, आदर्श, पहिचान र विशेषताको प्रतिकूल हुने कार्यहरू गर्नु विकृति हो। अहिले यो पवित्र पर्व हरितालिका तीज विकृतिको शिकार बनेको छ।

यस्ता विकृतिले हाम्रो संस्कार र संस्कृतिका मूल्य एवं मान्यतालाई दिग्भ्रमित गर्ने र समग्र समाजलाई नै दूषित बनाउने हुनाले यस खालका विकृति र विसंगतिलाई हटाई हाम्रो संस्कार, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई मौलिक एवं स्वच्छ र स्वस्थ राख्न जरुरी छ।

हामीले हाम्रा सन्ततिलाई दिने भनेकै हामीसँग भएको संस्कार, संस्कृति, रीतिरिवाज र चालचलन हो। अरु कुरा त मानिससँगै मेटिएर जाने हो। धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व, अर्थ र विशेषता भएका यस्ता पर्वहरूको मर्म, भावना र उद्देश्य अनुरूप सभ्य तथा सुसंस्कृत ढंगले चाडपर्वहरू मनाउनु र धर्म एवं संस्कृतिको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४