काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता भएकोमा असन्तुष्टि जनाएका छन् ।
बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री खाणले संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता भएकोमा असन्तुष्ट व्यक्त गरेका हुन् । ‘अध्यादेश राष्ट्रपतिले पढ्नु पर्ने थिएन ? अध्यादेश ल्याउँदा किन फिजीकरण भएन ?’ राष्ट्रपतिलाई गृहमन्त्री खाणको प्रश्न छ ।
कानुनमन्त्री र आफूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकहाँ पुगेर ‘तपाईंले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याउँछौ भनेको र सोही अनुसार विधेयक ल्याएको उल्लेख गर्दै उनले भने, ‘उहाँले एमालेका केही व्यक्तिलाई कुरा गर्नुस् भन्नु भएको हो । हामीले प्रतिपक्ष भूमिका निर्वाह गर्छौ। तर पारित गराउन सहयोग गर्दैनौ भन्नु भएको थियो ।’
एमाले अध्यक्ष ओलीसँगको कुराकानी अनुसार नै अध्यादेशको आधारमा विधेयक आएको र संघीय संसदबाट पारित भएको उल्लेख गर्दै प्रश्न गरे, ‘१४-१५ दिन राष्ट्रपतिले रोकिदिनु भयो किन ?’ १४/१५ दिन रोकेर संदेशसहित फिर्ता पठाएको तर, राष्ट्रपतिले संदेशमा विधेयक संशोधन गर्ने विषय मात्रै नभएर संविधान नै संशोधन गर्ने विषय समावेश भएको उनले बताए ।
‘पारित विधेयकमा यो कुरा मिलेन भनि राष्ट्रपतिको कहीं उल्लेख छैन । तर, संविधान संशोधनसँग जोडिने प्रश्न छन्,’ उनले थपे, ‘संविधानको व्यवस्था परिवर्तन गर्नुपर्ने स्ट्यान्डले नागरिकताविहीनको उत्पीडन भएन ?’
संविधान संशोधनतिर जाने हो भने अनगरिकले नागरिकता प्राप्त गर्न झनै समय लाग्न सक्ने उनको भनाइ छ ।
आफूहरुले ल्याएको विधेयकमा गैरआवासीय नेपालीको व्यवस्था बाहेक कुनै पनि प्रावधान नथपिएको उनले पटक-पटक दोहोर्याए । साथै बाबुको स्वघोषणा आफूहरुले नभइ पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शब्द भएको उनले दाबी गरे । ‘स्व घोषणा तत्कालीन समयमा ओली सरकारले ल्याएको अध्यादेश मै उल्लेख थियो त’ गृहमन्त्री खाँणले भने ।
मन्त्री खाँण थप्छन्, ‘स्व घोषणा आमाले भर्ने फर्ममा राखिएको हुन्छ । आमालाई आँच ल्याउने गरी विधेयक ल्याएकै छन् । फर्म भर्दा बाबु नभएको घोषणा त गर्नु पर्यो ।’
समाजले बच्चालाई पहिचान दिएको छ भने त्यसकै आधारमा सर्जीमन हुने र नागरिकता प्राप्तीको प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था विधेयकमा रहेको उन्दै उनले थपे, ‘सामाजिक संस्थाले पनि सर्जमिन गरिदिँदा पनि बच्चाले नागरिक पाउँछ ।’
नागरिकता विधेयक रोकिँदा पाउनुपर्नेले नागरिकता नपाउने र रोक्न खोजिएको भनिएकाको हकमा निरन्तर रहने भएकाले विरोध गर्नुको औचित्य पुष्टि नहुने उनको जिकिर छ ।
उनले भने, ‘जो नागरिक आउँछन् भनी विधेयक रोक्न खोजिएको छ । जो पाइरहने हुन्,तिनीहरूले त विद्यमान व्यवस्था अनुसार पाइरहेकै छन् । तर, एमालेको कारणले विधेयक रोकिए नागरिकता जसले पाउनै पर्ने हो, ती वञ्चित हुन्छन्।
- ’राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिको सन्देशमा नागरिकता विधेयकको विषय मात्र नभएको बताएका छन् । राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको उनले बताए ।
बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खाँणले नागरिकता विधेयमा गैरआवासीय नेपालीको व्यवस्था बाहेक कुनै पनि प्रावधान थप नगरेको बताए । राष्ट्रपतिले फिर्ता गर्दा त्यो विधेयक कहाँ मिलेन भनेर उल्लेख नगरेको भन्दै उनले भने, ‘संविधान संशोधनसँग जोडिएका प्रश्न छन् ।’
उनले अघि भने, सविधानको व्यवस्था परिवर्तन गर्नुपर्ने स्ट्याउण्डले नागरिकताविहीनको उत्पीडन भएन ?’
- एमालेको कारण नागरिकता पाउनुपर्नेहरु फेरि बञ्चित हुन सक्छन् : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयकमा गरेको विरोधप्रति आपत्ति जनाएका छन् ।
बिहीबार सञ्चारकर्मीहरुसँगको कुरा गर्दै उनले भने, ‘जो नागरिक आउँछन् भनि विधेयक रोक्न खोजिएको छ । जो पाइरहने हुन्,तिनीहरूले त विद्यमान व्यवस्था अनुसार पाइरहेकै छन् । तर, एमालेको कारणले विधेयक रोकिए नागरिकता जसले पाउनै पर्ने हो, ती वञ्चित हुन्छन ।’
नागरिकता विधेयकमा सरकारको प्रष्टीकरण (पूर्णपाठसहित)
सरकारले नागरिकता विधेयकबारे भ्रम फैलाइएको भन्दै प्रष्टीकरण दिएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकबारे विधेयक ल्याउनुको कारण, विगतमा पूर्ववती सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश, संवैधानिक व्यवस्था, विगतको व्यवस्थाबारे उल्लेख गरिएको छ ।
‘नागरिकता विधेयक सम्बन्धी भ्रम र वास्तविकता’ शीर्षक दिइएको प्रष्टीकरणमा नागरिकता विधेयक किन ल्याइएको, नागरिका विधेयक कानुन नबने के हुन्छ, बने के हुन्छ जस्ता शीर्षक राखेर प्रष्टीकरण दिइएको छ ।
यस्तो छ पूर्णपाठ :
नागरिकता विधेयक सम्बन्धी भ्रम र वास्तविकता
- ‘नागरिकता’नागरिक र राज्यवीचकोसम्बन्धको आधार हो । राज्यले प्रत्याभुत गर्नुपर्ने मौलिक हक, आर्थिक, सामाजिक र राजनीतिक अधिकार एवं राज्यप्रति नागरिकहरुको कर्तव्य सुनिश्चित गर्न राज्यले आफ्ना नागरिकहरुलाई नागरिकको दर्जा दिएर बैधानिकता प्रदान गरेको हुन्छ ।
- नेपालको संविधान २०७२ को धारा १० ले‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन’ भन्ने व्यवस्था गरेको छ ।
- अन्तर्राष्ट्रिय मानव अधिकारको मान्यता अनुरुप पनि“कुनै पनि व्यक्तिलाई राज्यविहिनताको अवस्थामा राख्न पाइदैन् ।”
नागरिकता विधेयक अहिले ल्याउन किन आवश्यक ?
- नेपाल नागरिकता ऐन, २०६३ र नेपालको अन्तरिम संविधान, २०६३ ले जन्मको आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था गरेकोथियो । (२०४६ चैत्र मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रुपले बसोबास गर्दै आएको व्यक्तिलाई)
- जन्मको आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरकिता दिने प्रावधान नेपालको संविधान (२०७२) को धारा ११ ले गरेको छ ।
- यसरी २०७२ सालमा संविधानले गरेको व्यवस्थालाई७ वर्ष वित्न लागिसक्दा पनि संसदले ऐन बनाएर कार्यान्वयन गर्न सकेको छैन ।
- फलस्वरुप बाबु आमा दुवै नेपाली नागरिक भएतापनि उनीहरुकालाखौं सन्तानहरुले नेपाली नागरिकता नपाएकै कारण उच्च शिक्षा लिन, सिमकार्ड लिन, सवारी चालक अनुमतिपत्र लिन, बैङ्क खाता खोल्न, व्यवसायका लागि प्यान कार्ड बनाउन, राहदानी बनाउन, लोकसेवा आयोगको परीक्षा दिन, राष्ट्रिय परिचयपत्र प्राप्त गर्न जन्मदर्ताबाहेकको अन्य घटनादर्ता गर्न, उद्योग व्यवसाय दर्ता गर्न, संघसंस्था दर्ता लगायतका गतिविधि गर्न नपाएर मानवीय जीवन यापन गर्न कठिनाई रहेको छ ।
- संवैधानिक प्रावधान अनुरुप नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गराई राज्यविहिनताको अवस्थामा राख्न मिल्दैन । यसो गर्नु भनेको राज्य आफ्नो नागरिकप्रतिको दायित्वबाट विमुख हुनु हो । यही अवस्थालाईहृदयङ्गम गरी राज्यले आफ्नो दायित्व बोध गर्दै नेपाली बाबु आमाका सन्तानलाई नागरिकता उपलब्ध गराउन यो विधेयक ल्याउन जरुरी भएको हो ।
वैवाहिक अंगिकृत नागरिकताका सम्बन्धमा फैलाइएको भ्रम
- नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई एक हातले सिन्दुर र अर्को हातले नागरिकता दिने व्यवस्था अहिलेको विधेयकले गर्न लागेको र यसले राष्ट्रियता नै खतरामा पर्ने भनी दुष्प्रचार गरेर निहित राजनितिक स्वार्थ पुरा गर्न नेपाली जनतामा भ्रम सृजना र दुष्प्रचार भएको जस्तो विधेयकमा कुनै पनि व्यवस्था राखिएको छैन ।
बैबाहिक अंगिकृत नागरिकता सम्बन्धी वास्तविकता
- नेपाल सरकारको बैधानिक कानून, २००४ – पद्दम शम्शेरको पालामा जारी भएको । यसमा नागरिकता सम्बन्धी प्रावधानको बारेमा उल्लेख नगरिएको ।
- नेपाल नागरिकता ऐन, २००९ – दफा (३) मा’नेपाल राज्यको कानून र रीति बमोजिम नेपाली नागरिकको साथ कुनै किसिमको बैबाहिक सम्बन्ध भएको स्वास्नी मानिस नेपाल नागरिक ठहर्नेछ ‘
- नेपालको संविधान, २०१९ – धारा ८-‘ नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी नारीको हकमा निजले सो विदेशको नागरिकता त्यागेपछि नेपालको नागरिकता प्राप्त गर्ने सक्नेछ । ‘
- नेपाल नागरिकता ऐन, २०२० –’नेपाली नागरिकसँग भएको बैबाहिक सम्बन्धको र आफुले विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा पेश गर्नुपर्ने’
- नेपाल अधिराज्यको संविधान, २०४७ – धारा ९ (५)’नेपाली नागरिकसँग बैबाहिक सम्बन्ध भएकी विदेशी महिलाले विदेशको नागरिकता त्याग्ने कारवाही चलाएपछि नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ’
- नेपाल नागरिकता ऐन, २०६३ – दफा ५ (१)’नेपाली नागरिकसँग बैबाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपाली नागरिकता प्राप्त गर्न चाहेमा नेपाली नागरिकसँग भएको बैबाहिक सम्बन्धको र आफुले विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा पेश गरी निवेदन दिनुपर्ने’
- नेपालको अन्तरिम संविधान, २०६३ – धारा ६’नेपाली नागरिकसँग बैबाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा प्रचलित कानून बमोजिम अंगिकृत नेपाली नागरिकता लिन सक्ने’
- नेपालको संविधान, २०७२ – धारा ६’नेपाली नागरिकसँग बैबाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगिकृत नागरिकता लिन सक्नेछ ‘
- २०७५।०४।२२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा दुई तिहाईको सरकारले संसदमा नागरिकता विधेयक पेश गरेपनि त्यो पारित नभई अनिर्णित अवस्थामै रह्यो ।
- मिति २०७८ साल जेठ ९ गते राष्ट्रपतिबाट जारी भएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ मा वैवाहिक अंगिकृत बारे कुनै उल्लेख गरिएको छैन । यसको अर्थ हाल पेश गरिएको विधेयकको जस्तै नेपालको संविधान २०७२ र नेपाल नागरिकता ऐन २०६३ मा भएको व्यवस्थालाई नै अध्यादेशमा निरन्तरता दिइएको थियो ।
- २०७८ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पेश गरिएको अध्यादेश र हाल पेश भएको विधेयकमा वैवाहिक अंगिकृत नागरिकता सम्बन्धी व्यवस्थामा कुनै फरक छैन । नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले बैबाहिक अंगिकृत नागरिकता प्राप्त गर्न अहिले नयाँ व्यवस्था गरिएको जस्तो वा जनमानसमा हल्ला चलेको जस्तो ५ वर्ष वा ७ वर्ष जस्ता कुनै पनि समयावधि तोकिएको थिएन ।
- वैवाहिक अंगिकृत नागरिकता सम्बन्धी व्यवस्था नेपाल नागरिकता ऐन २००९ देखि नै क्रियाशील रहेकोले विगत ७० वर्ष अगाडि देखि नै प्रचलनमा छ र यसैको आधारमा नागरिकता पाइरहेका छन ।
नेपालको संविधान र विशिष्ट पदका लागि नागरिक अधिकारमा संकुचन
- नेपालको संविधानको धारा २८९ ले राज्यको विशेष महत्व र मर्यादाको पदका लागि नागरिकका वीचमा अधिकारको सामान्य विभेद र संकुचन गरेको छ ।
- राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुख पदमा निर्वाचित, मनोनित वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्नेछ ।
- माथिका पद बाहेक अन्य संवैधानिक निकायको पदमा संविधान बमोजिम नियुक्तिका लागि नेपालको अंगिकृत नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा कम्तिमा दश वर्ष, जन्मको आधारमा र वैवाहिक अंगिकृत नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा कम्तिमा पाँच वर्ष नेपालमा बसोबास गरेको हुनुपर्नेछ ।
नागरिकता विधेयक आउदा के हुन्छ ?
- नेपाली नागरिक बाबु आमाका करिव लाखौं सन्ततिहरु नागरिकता नपाएकै कारणबाट चरम निराशा र राज्यविहिनताको अवस्थामा रहेका छन् । त्यस्ता व्यक्तिहरुले नागरिकता प्राप्त गरि राज्यबाट प्राप्त हुने सुविधाहरु प्राप्त गर्छन् र राज्यप्रति अपनत्व वढदछ् र दायित्व वोध हुन्छ ।
- गैर आवासिय नेपाली नागरिकहरुलाई राजनैतिक र प्रशासनिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र दिने गरी नागरिकता प्रदान गर्ने व्यवस्थाले उनीहरुले संवैधानिक व्यवस्था बमोजिमको अधिकार प्राप्त गर्नेछन् ।
- नेपालभित्र फेला परेका पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नावालक बाबु वा आमाको पत्ता नलागेसम्म १६ बर्ष पूराभएपछि वंशजको नागरिकता पाउन सक्ने, संस्था वा कानूनी संरक्षकद्धारा हुर्काइएको अवस्थामा त्यस्तो संस्थाको सिफारिस वा संरक्षकको नागरिकता तथा स्थानीय तहको सिफारिसको आधारमा वंशजको नागरिकता प्राप्त गर्ने ।
- नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको स्वघोषणाका आधारमा वंशजको नागरिकता प्राप्त गर्न सक्ने ।
नागरिकता विधेयक नआउदा के हुन्छ ?
- नागरिकता विधेयक नआएको खण्डमा संविधानले प्रत्याभुत गरेको नागरिकता पाउने अधिकारबाट लाखौं व्यक्ति बञ्चित हुन्छन् ।
- वैवाहिक अंगिकृतको हकमा विद्यमान नेपाल नागरिकता ऐन, २०६३ अनुरुप नेपाली नागरिकसँग विदेशी महिलाले वैवाहिक सम्बन्ध र आफुले विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा पेश गरी नागरकिता प्राप्त गर्ने व्यवस्थाले निरन्तरता पाउँछ ।
- गैरआवासीय नागरिकहरुले संवैधानिक व्यवस्था बमोजिमको अधिकार प्राप्त गर्न बञ्चित हुन्छन ।
नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ र अहिले पेश भएको विधेयकमा के फरक छ ?
- २०७८ साल जेठ ९ गते जारी भएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ (केपी शर्मा ओली प्रधानमन्त्री भएको मन्त्रिपरिषदले सिफारिस गरेर सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा जारी भएको जसमा ईश्वर पोखरेल, प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, सुवास नेवाङ्ग, लालबाबु पण्डित, वसन्तकुमार नेवाङ लगायत ८३ जनामध्ये मन्त्री र सांसद हुनुहुन्थ्यो) र हाल पेश भएको विधेयकमा वैवाहिक अंगिकृत नागरिकता सम्बन्धी व्यवस्थामा कुनै भिन्नता छैन ।
- अंगिकृत नागरिकताको विषयमा नेपाल नागरिकता ऐन, २०६३ को व्यवस्थालाई नै निरन्तरता दिइएको छ । यो ऐन सात दल र तत्कालिन नेकपा माओवादी विच सहमति भएर जारी भएको थियो ।
- ऐन जारी हुँदा केपी शर्मा ओली उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुहुन्थ्यो भने सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी सांसद हुनुहुन्थ्यो । साथै सो ऐन जारी हुँदा व्यवस्थापिका संसदमा प्रतिनिधि रहेका दल र सदस्यहरुमध्ये सबैजसो दल र केही सदस्यहरु वर्तमान संघीय संसदमा पनि रहनु भएको छ । तत्कालिन अवस्थामा उक्त ऐनमा राखिएको वैवाहिक अंगिकृत सम्बन्धी प्रावधानमा सबैको सहमति थियो ।
- २०७८ सालमा पेश भएको अध्यादेश र हाल पेश भएको विधेयकमा नयाँ व्यवस्था राखिएको भनेको गैर आवासिय नेपाली नागरिकहरुलाई राजनैतिक र प्रशासनिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था हो ।
निष्कर्ष
- नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई वैवाहिक अंगिकृत नागरिकता दिने प्रावधान २००९ सालदेखि (नेपालको संविधान २०१९ को दोस्रो संशोधन २०३२ सालदेखि तेस्रो संशोधन २०३७ हुनु अघिसम्म बाहेक) हाल सम्म निरन्तरता पाएको छ ।
- अहिले समायावधि नराखी नागरिकता दिदा राष्ट्रको अस्मितामा आँच पुग्ने भनी दुस्प्रचार गरेर भ्रम सिर्जना गर्ने काम भएको छ । केपी शर्मा ओली प्रधानमन्त्रीकालमा ३ वर्ष ५ महिना सम्म दुई तिहाईको सरकारले संविधानको प्रावधान अनुरुप नागरिकता ऐन ल्याउन पनि सकेन र वैवाहिक अंगिकृतको हकमा समायवधि पनि राखेन ।
- अध्यादेश ल्याउदा पनि वैवाहिक अंगिकृतको हकमा नेपाल नागरिकत ऐन २०६३ को व्यवस्थालाई निरन्तरता दिई समयावधिको व्यवस्था गरिएन ।
- अहिले बैवाहिक अंगिकृतलाई नागरिकता दिदा निश्चित समायावधि तोक्नुपर्ने । नतोक्दा राष्ट्रियता नै खतरामा पर्छ भन्नु दुष्प्रचार भन्दा बढी केही होइन । यो भ्रमबाट सबै नेपाली जनता मुक्त हुनु पर्दछ ।
