Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीज : समानताका लागि एउटै पहिरन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ७ २०७९
  • 2.9K
    SHARES

टीकापुर । हिन्दु महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीज पर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् । जिल्लाका महिलाले यस वर्ष केही दिनअघिबाटै दर खाने र जमघट हुनेलगायतका कार्यक्रम सुरु गरिसकेका छन् ।

केही दिनअघि टीकापुर अस्पतालमा कार्यरत महिला कर्मचारीले दर खाने कार्यक्रम राखे । सो कार्यक्रममा सहभागी अस्पतालका सबै महिलाको पहिरन एउटै खालको थियो । उनीहरूले बजारमा सुपथ मूल्यमा पाइने हेर्दा पनि सामान्य देखिने साडी र सामान्य गरगहना लगाएर तीज मनाएका थिए ।

“हामीले समानता हामीबाटै सुरु गर्नुपर्छ भन्ने ठान्यौँ, तीजमा गरिने अनावश्यक तडकभडक रोक्न अरूलाई पनि हौसला मिलोस् भनी एउटै खालको पोसाकमा तीज मनायौँ”, अस्पतालका नर्सिङ अधिकृत कलावती तिमिल्सिनाले भनिन्, ‘‘हामी अगुवा पनि हौँ, हाम्रो दायित्व सकारात्मक सन्देश दिने पनि हो । त्यसैले सस्तो सारी, गलामा तिलहरी मात्र लगाएर तीज मनायौँ । एकापसमा सबै उस्तै देखिँदा सबैलाई रमाइलो र आनन्द मिल्यो ।”

जिल्लाको लम्कीचुहाकी सन्जु भण्डारी र उनका साथीहरूले समेत दर खाने कार्यक्रममा एउटै खालको पहिरन लगाए । उनीहरूले रमाइलोसँगै एउटै खालको साडी लगाउने चलन चलेकाले आफूहरूले पनि लगाएको जानकारी दिए । “हामीले तीजमा गरिने अनावश्यक खर्च रोकौँ र रमाइलो गरौँ भनी सल्लाह ग¥यौँ र एउटै खालको पहिरन लगायौँ”, भण्डारीले भनिन्, “सबैको हैसियत एउटै देखियो । एकअर्कामा कमजोर अनुभूति कसैमा भएन ।”

विगतका तीजलाई हेर्दा महिलाले महँगा साडी, सुनका गहना प्रदर्शन गर्ने चलन छ । यस वर्ष महिलाले अनावश्यक तडकभडक नदेखिने गरी सामान्य पहिरनमा तीज मनाएमा महँगो खरिद गर्न नसक्नेलाई पनि सहज हुने उनीहरूको भनाइ छ । टीकापुरमा तिमिल्सिना समाजमा आबद्ध महिलाले समेत यस वर्ष एउटै खालको साडी किनेका छन् । उनीहरूले यस वर्षको तीजमा सबै दिदी–बहिनी एक ठाउँमा जम्मा भएर पूजा गर्ने कार्यक्रम समेत तय गरेका छन् । सबैमा समानता देखियोस् भनेर बजारमा सस्तोमा पाउन सकिने साडी किनेको समाजमा आबद्ध रेश्मा भट्टले जानकारी दिइन् । “हामी दिदी–बहिनी फरक देखिनु भएन, कोही धनी, कोही गरिब छन्, चाडपर्वले त धनी–गरिब भन्दैन । सबैका लागि उस्तै र समान हो”, उनले भनिन्, “पर्व समान भएपछि हामी किन असमान हुनु त रु हामी पनि सबै एउटै खालको वातावरणमा पर्व मनाऔँ भनेर यस वर्ष यस्तो तयारी गरिएको हो ।”

जिल्ला प्रशासन कार्यालय कैलालीले समेत तीज पर्वलाई भड्किलो नबनाउन आग्रह गरेको छ । पर्वका अवसरमा अनावश्यक भिडभाड नगर्न, पार्टी प्यालेस तथा होटेलमा अनावश्यक खर्च र भीड नगर्न आग्रह गरेको छ ।

पर्व मानिसको खुसीसँग जोडिएको हुन्छ । पर्वले खुसी र उमङ्ग ल्याउनुपर्छ तर मानिसले ध्यान नदिँदा, अनावश्यक खर्च गर्दा पर्वले दुःखी पनि बनाउन सक्छ । त्यसैले अनावश्यक खर्च नगरी सामान्य तवरले तीज मनाउन कर्णाली मावि टीकापुरकी शिक्षिका कल्पना रेग्मी बताउँछिन् । “चाडपर्वले एकता, सद्भाव र मेलमिलाप बढाउनुपर्छ । अझ तीज महिलाको पर्व भएकाले यसले महिलाबिचको असमानता तोड्नुपर्छ”, उनी भन्छिन्, “तीजलाई उत्सवका रूपमा मनाउँदा अनावश्यक फेसन र सम्पत्ति देखाउन आवश्यक छैन ।”

महिलाको स्वतन्त्रतासँग जोडिएको पर्व भएकाले पहिरन समान लगाउनु, सामान्य दर कार्यक्रम गर्नु ठिकै हो । समान पहिरनका नाममा नयाँ कपडा किन्न नसक्नेलाई दबाब भने दिन हुँदैन । लम्कीचुहा–३ की दुर्गा सोव सम्पन्न महिलाले तीजमा लगाउने कपडा र गहनाले विपन्न महिलालाई तनाव हुने गरेको बताउँछिन् ।

“पर्व सबैको हो । सबैले मनाउन पाउनुपर्छ । बजारमा हुने तीज कार्यक्रममा सहभागी हुने, नाचगान गर्ने अवसर हामीले पनि पाउनुपर्छ”, उनी भन्छिन्, “बजारका महिलाका गहना देखेर हामी मञ्चमा चढ्न पनि हिम्मत गर्दैनौँ । सबैको समान पहिरन भए, सामान्य गरगहना लगाएमा हामी पनि रहर पूरा गर्ने थियौँ ।”

तीजलाई आत्मीयता र सौहार्दको पर्व मानिन्छ । तीजलाई सबै महिलाले समानता र आत्मीयताको पर्वका रूपमा स्वीकार गरेर मनाउन आवश्यक रहेको महसुस सबैले गर्नुपर्छ । “तीजमा विवाह गरेर टाढा–टाढा पुगेका चेलीहरू जम्मा भएर साथी सङ्गीसँग गरिने व्यवहार आत्मीयताको नमुना हो”, अधिकारकर्मी निर्मला कडायत भन्छिन्, “अब महिलाका पीडा, वेदनाका कुराभन्दा अवसर र समानताका कुरामा ध्यान दिनुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४