Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उम्मेदवारीको कसरतमा कलाकार : रेखा थापादेखि नीर शाहसम्म आकांक्षी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २७ २०७९
  • 4.4K
    SHARES

निर्देशक मनोज पण्डित, गायक सञ्जय श्रेष्ठ, अभिनेता तथा निर्देशक नीर शाह र अभिनेत्री रेखा थापा


काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति मंसिर ४ गतेलाई घोषणा गरेपछि कलाकारहरुले पनि उम्मेदवारीका लागि आन्तरिक कसरत थालेका छन् ।

स्थानीय तहको चुनावमा कलाकारको सहभागिता उत्साहजनक देखिएसँगै यस्तो दृश्य संघ र प्रदेशको चुनावमा पनि देखिने अनुमान छ । केही कलाकारले त सार्वजनिक रुपमै उम्मेदवारीको घोषणा गरेर पनि एजेन्डाको प्रचारप्रसार सुरु गरिसकेका छन् । चुनाव आउन अझै चार महिना बाँकी रहेकाले कलाकारको चुनावी समीकरण स्पष्ट त हुँदैन, तर यसले त्यसतर्फ संकेत गरेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ र कलाकारले योसँगै दलमाथि दबाब बढाएका छन् ।

वधशाला र ग्रेटर नेपाल फिल्मका निर्देशक मनोज पण्डितले ‘मंसिर ४ लाई क्रान्तिको दिन’भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । एमाले नेता गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र रहेको काभ्रे क्षेत्र नम्बर २ बाट पण्डितले पनि उम्मेदवारी दिएका छन् । आफ्नो उम्मेदवारीबारे पण्डित भन्छन्, ‘राज्यका लागि चलचित्र क्षेत्रको महत्व न्यून छ भन्ने स्पष्ट छ । जसको आडमा दलहरूले यसलाई केवल आफ्ना कार्यकर्ता भर्तीकेन्द्रको रुपमा मात्र प्रयोग गरेका छन् । चलचित्र उद्योगलाई स्वतन्त्र र सिर्जनशील राष्ट्रिय उद्योग बनाउन आगामी संसदमा मेरो उपस्थिति आवश्यक छ ।

सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी दल एमाले निकट अन्य कलाकर्मी पनि उम्मेदवारी दिने कसरतमा त छन्, तर धेरै जना खुलेर अघि आएका छैनन् । आधुनिक नेपाली चलचित्रको हितमा संसदबाट नीति पारित गरेर कार्यान्वयनमा ल्याउन लागि महत्वपूर्ण जिम्मेवारी निभाउने पण्डितको दाबी छ । वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले प्रदेश सांसदका लागि लबिङ गरेको बुझिएको छ । कांग्रेस निकट स्रोतका अनुसार उनको इच्छा पनि प्रदेशसभा नै हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले शाहलाई राष्ट्रियसभामा लैजान प्रयास गरेका थिए, तर उनको ठाउँमा नेकपा माओवादी केन्द्रका नेता नारायण दाहाल सदस्य चुनिएका थिए ।

बालुवाटार निकट मानिने शाहले आफू प्रदेशसभा सदस्य बन्न इच्छा देखाउँदै नेताहरुसँग भेट गरिरहेको स्रोत बताउँछ । तर शाहले यसबारे केही खुलाएका छैनन् । चुनाव नजिकिएसँगै अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाको चुनावी दौडधुप पनि सुरु भएको छ । एमालेले राप्रपासँग चुनावी तालमेल गर्ने चर्चाका बीच रेखा र महामन्त्री कुन्ती शाहले बुधबार एमाले अध्यक्ष केपी ओलीसँग बालकोटमा पुगेर भेट गरे । आफूहरुबीच समसामयिक राजनीति, महिलाको प्रतिनिधित्व र चुनावबारे छलफल भएको नेतृ रेखा थापाले बताइन् ।

प्रतिनिधिसभामा उम्मेदवार बन्ने रेखाको इच्छा हो । उनले यसको लागि आन्तरिक रुपमा गृहकार्य पनि गरिरहेको स्रोत बताउँछ । तर यसबारे उनले अहिल्यै केही बताइसकेकी छैनन् । अहिले नै उम्मेदवारीबारे बोल्ने रेखाको योजना छैन । स्पष्ट कुरा के हो भने रेखाको चुनावी कसरत सुरु भइसकेको छ । दुई महिनाअघिको एक फेसबुक स्टाटसबाट लोकप्रिय पपगायक सञ्जय श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । ‘राजनीतिमा लागेको मेरो यो ११ वर्षको अवधिमा बेथिति र भ्रष्टाचारविरुद्ध आगामी निर्वाचनमा तपाईं सबैको सम्मुख यही नारा लिएर काठमाडौंको क्षेत्र नम्बर ६ बाट पुनः आउँदैछु,’ श्रेष्ठ लेख्छन्, ‘आशा छ तपाईं सबैको साथ र सहयोग रहनेछ । म अहिले नै अरुले जस्तो तारा खसाल्ने गफ र योजनाको सपना देखाउन चाहन्नँ ।

सञ्जय स्वतन्त्र उम्मेदवारको रुपमा आउन लागेका हुन् या राप्रपाको उम्मेदवारको रुपमा, यो उनले स्पष्ट पारेका छैनन् । यद्यपि, निकट स्रोतले चाहिं राप्रपामाथि दबाब बढाउन उनले स्वतन्त्र रुपमै उम्मेदवारी घोषणा गरेको बताउँछ । सञ्जयले चुनावी तयारी र भेटघाट गरिसकेका छन् । गत साता उनले गोंगबुमा चुनावी भेला समेत सम्पन्न गरे । उम्मेदवारको अर्को आकांक्षी हुन् अभिनेत्री करिश्मा मानन्धर । यसै वर्ष एमाले प्रवेश गरेकी करिश्माको इच्छा पनि चुनाव लड्नु हो । पार्टीको दिएको जिम्मेवारी पूरा गर्न आफू तयार रहेको भन्दै करिश्माले बेलामौकामा चुनाव लड्न सक्ने संकेत दिएकी छन् । पछिल्लो समय एमालेका गतिविधिमा सक्रिय उनले पार्टीमा आफू नयाँ भएको बताउँदै परिआए चुनाव लड्ने समेत मनस्थिति बनाएकी छन् । पार्टीले उठ्न आग्रह गरेमा आफूलाई आपत्ति नहुने उनी बताउँछिन् ।

‘पोइ पर्‍यो काले’ र ‘दुई नम्बरी’ फिल्मका निर्माता किरण नेपाली पनि प्रदेशसभा चुनावमा उम्मेदवार बन्ने तयारीमा छन् । यही कारण चुनावअघि नै फिल्मलाई प्रदर्शन गरेर आफू सक्रिय राजनीतिमा लाग्न उनी चाहन्छन् । दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको ‘दुई नम्बरी’लाई असोज २१ गते प्रदर्शन गर्ने तयारी छ । अभिनेता सुशान्तकुमार श्रेष्ठ, निर्माता मधुकुमार श्रेष्ठ, प्रदर्शक प्रदीप उदय र गायिका एवं एमाले नेतृ कोमल वली पनि प्रदेशसभा चुनावमा उम्मेदवार आकांक्षी हुन् ।

सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी दल एमाले निकट अन्य कलाकर्मी पनि उम्मेदवारी दिने कसरतमा त छन्, तर धेरै जना खुलेर अघि आएका छैनन् । उम्मेदवारीको सूची तयार पार्ने मिति नजिकिंदै गर्दा उम्मेदवारका आंकाक्षी कलाकारको संख्यामा अझै बढ्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४